+
+
Shares
अभिव्यक्ति–विश्लेषण :

राजेन्द्र महतो : काम एउटा भनाइ अर्कै

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ जेठ २३ गते १९:३९

२३ जेठ काठमाडौं । उपप्रधानमन्त्रीको शपथ लिएर मन्त्रालय पुग्नेवित्तिकै राजेन्द्र महतोले एउटा अभिव्यक्ति दिए । जसले अहिले उनलाई विवादको केन्द्र बनाएको छ ।
महतोको शुक्रबारे भनाइको मुख्य सार यस्तो थियो–

‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो । हाम्रो आन्दोलनका केही माग–मुद्दा सम्बोधन भएको छ । केही पूरा हुन बाँकी छ । त्यसका लागि लड्छौं ।’

नेपाल राज्यले कहिल्यै बहुलता स्वीकार नगरेको कारण महतो त्यसविरुद्ध लड्ने उनको भनाइको आशय थियो । यो भनाइमा आफू अडिग रहेको कुरा उनले शनिबार जसपाको एक कार्यक्रममा पुनः दोहोर्‍याए ।

तर शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्नो अघिल्लो भनाइबाट फिर्ता भए । विज्ञप्तिमा उनले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै बहुलताको विषयलाई जबरजस्ती ओझेलमा पार्न चाहे ।

‘शब्द त ठीक ठाउँमा पर्‍यो तर त्यो शब्दको अर्थ केका लागि बोले भन्ने कुरा बुझ्न जरूरी छ’ प्राध्यापक बालकृष्ण माबुहाङ भन्छन्, ‘केपी ओलीजस्तो बहुल राष्ट्र विरोधी व्यक्तिको सरकारको उपप्रधानमन्त्रीले बहुलताको कुरा गर्नु आफैंमा विरोधाभास हो ।’

आखिर महतोले किन बहुल राष्ट्रको कुरा उठाए र फेरि आफ्नो भनाइ फिर्ता लिए भन्नेबारे सार्वजनिक वृत्तमा चर्चा शुरू भएको छ । नेताहरूले पनि यसबारे आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ ।

अधिकांश राजनीतिक विश्लेषक तथा राजनीतिशास्त्रका अध्यापकहरू भने राजेन्द्र महतोको शुरूको अभिव्यक्तिलाई ‘सही अर्थ’ मा हेरिनुपर्ने बताउँछन् । उनीहरूका अनुसार आज राजेन्द्र गलत ठाउँमा उभिएकाले उनले बोलेको सही कुराको अर्थ उल्टो बन्न पुगेको हो ।

नागरिक अभियन्ता एवं प्राध्यापक बालकृष्ण माबुहाङ महतोको अभिव्यक्ति प्याराडक्स (विरोधाभास) बन्न पुगेको टिप्पणी गर्छन् । उनका अनुसार केपी ओलीको काखमा बसेको बेला महतोले बहुल राष्ट्रको मुद्दा उठाउँदा उनको कुरा गलत देखिएको हो ।

‘शब्द त ठीक ठाउँमा पर्‍यो तर त्यो शब्दको अर्थ केका लागि बोले भन्ने कुरा बुझ्न जरूरी छ’ माबुहाङ भन्छन्, ‘केपी ओलीजस्तो बहुल राष्ट्र विरोधी व्यक्तिको सरकारको उपप्रधानमन्त्रीले बहुलताको कुरा गर्नु आफैंमा विरोधाभास हो ।’

विश्लेषक राजेन्द्र महर्जन भने महतोको कुरा सैद्धान्तिक र व्यावहारिक रूपमा सही भए पनि ‘नियत’ शंकास्पद भएको बताउँछन् ।

महर्जन भन्छन्, ‘एकल राष्ट्रियताका मतियार केपी ओलीसँग सत्ताको गठबन्धन बनाउँदै बहुल राष्ट्रियताको कुरा गर्नु पाखण्ड हो । यसैले महतोको कुरा अर्थको अनर्थ देखिएको हो ।’

महर्जनका अनुसार विश्वका आधुनिक सिद्धान्तअनुसार ‘जाति’ लाई राष्ट्र पनि भन्ने गरिएको छ । जसअनुसार ‘राष्ट्र’ भन्ने कुरा देश मात्र नभई देशभित्र भएका भिन्नभिन्न पहिचानलाई पनि राष्ट्र भन्न सक्नुपर्छ । उपप्रधानमन्त्री महतोले सही अर्थमा बहुल राष्ट्रको कुरा गरेको भए त्योचाहिं सार्थक बहसको एजेण्डा भएको महर्जन बताउँछन् ।

यता पहिचानवादी कवि स्वप्निल स्मृति भने बहुल राज्य, बहुल राष्ट्र उच्चारण गर्दा एकल नश्लवादी राज्यसत्ताका तप्काले कोकोहोलो मच्चाउने गरेको बताउँछन् । महतोको अभिव्यक्तिलाई एकल नश्लवादीहरूले गलत अर्थ लगाएको बताउँदै उनी लेख्छन्, ‘बहुलताको कुरा गर्‍यो कि गोर्खे राष्ट्रवाद ह्वात्तै उम्लिहाल्छ ।’

के हो ‘राष्ट्र’को सही परिभाषा ?

झट्ट सुन्दा ‘राष्ट्र’, ‘राज्य’ र ‘राष्ट्रियता’ उस्तै सुनिए पनि यसको अर्थ भिन्नभिन्न हुने कुरा प्राध्यापक महेन्द्र लावतीले आफ्नो लेखमा उल्लेख गरेका छन् । ‘रूपान्तरण’ जर्नलमा लेखेको ‘राज्य, राष्ट्र र राष्ट्रियतामा रूपान्तरण’ शीर्षकको लेखमा उनले एउटै राष्ट्रभित्र पनि बहुल राष्ट्र र तिनको राष्ट्रियता रहने तथ्य उल्लेख गरेका छन् ।

लावती लेख्छन्– नेपालमा धेरै ‘राष्ट्र’ भयो भनेर डराउनुपर्ने कुनै कारण छैन । किनभने, नेपाल एउटा राज्य हो, एउटा राज्यमा धेरै ‘राष्ट्र’ अटाएर बस्न सक्छन् र बस्छन् पनि । तर, सबै ‘राष्ट्र’ मिलेरै बस्छन्, सद्भाव र समन्वय कायम राखेरै बस्छन् भन्नेचाहिं होइन ।

नेपालको सन्दर्भमा बहुराष्ट्र बन्ने सुनौलो अवसर भएको भन्दै लावतीले आफ्नो लेखको निष्कर्षमा भनेका छन्, ‘बहुराष्ट्र भएको नेपाली राज्य भनेर परिभाषित गर्‍यो भने नेपालभित्र सबै राष्ट्र अटाएर बस्न सक्नेछन् ।’

यता विश्लेषक सीके लालले पनि राजनीतिशास्त्रीद्वय ड्यारेन एचिमग्लु र जेम्स ए. रोबिन्सनको परिभाषा अनुसार समावेशिता नभएका राज्य असफल हुने कुरा बताएका छन् । उनले लेखेका छन्, ‘सफल राज्यका संस्थाहरू समावेशी हुन्छन् । नेपाल राज्य भने सामथ्र्यका नाउँमा एकलजातीय संरचना निर्माण गरिएको छ ।’

अर्थात् समावेशिता र बहुलता स्वीकार गर्न नसक्दा नेपाल राज्यका सबै समस्या कायम रहेको उनको आशय छ ।

के छ राजेन्द्र महतोको वैचारिक धरातल ?

२०६२/६३ को जनआन्दोलन तथा त्यसपछिको मधेश आन्दोलनदेखि हेर्दा राजेन्द्र महतोको राजनीति ‘अवसरवाद’ मा केन्द्रित रहेको विश्लेषकहरू बताउँछन् । सत्ताबाहिर हुँदा विभेद, बहुलता र पहिचानको कुरा उठाउने महतो सत्तामा पुग्नासाथ त्यस विपरीतका काम गरेर विवादमा तानिने गरेका छन् ।

महतो २०७२ सालमा नागरिकता सम्बन्धी विवादमा तानिएका थिए । उनको नागरिकता छानबिनको मुद्दा अख्तियारसम्म पुगेको थियो । तर अख्तियारले उक्त मुद्दा अगाडि नबढाउँदा उनी फेरि राष्ट्रवादी कित्तामा देखिन सफल भए ।

नाकाबन्दीको बेला पनि महतो नै चर्चाको केन्द्रमा थिए भने २०७७ असारमा कालापानी लिपुलेकसहितको नयाँ नक्शा सार्वजनिक गर्दा संसदमा चर्किएर आफूलाई राष्ट्रवादी साबित गर्न उनी नै लागिपरेका थिए ।

गत असारमा राष्ट्रियताको सवालमा बोल्दै उनले भनेका थिए– ‘नेपालको नक्शामा मिचिएको भूमि राख्ने प्रस्ताव नेपाली जनताको लागि गौरवमय कुरा हो । हिमाल, पहाड, तराई, मधेशका जनता आफ्नो भूमिप्रति समर्पित छ भन्ने कुरा हामीले आफ्नो कामबाट देखाउनुपर्छ ।’

उनले आफू मधेशी भएकाले राष्ट्रियताको कुरा गर्दा खिल्ली उडाइने भन्दै त्यसो नगर्न संसद मार्फत चेतावनी दिँदै भनेका थिए– ‘एउटा वर्गको, एउटा क्षेत्रको राष्ट्रियता भयो भने त्यो पङ्गु राष्ट्रियता हो । यसोभन्दा मलाई राष्ट्रियता विरोधी भन्ने को हो ?’

प्राध्यापक बालकृष्ण माबुहाङकै भनाइ अनुसार क्षणिक सेन्टिमेन्ट बटुल्न मात्रै महतोले बहुल राष्ट्रियताको कुरा गरेका हुन् । माबुहाङ भन्छन्, ‘केपी ओली र भारतीय नेता डा. सुव्रमन्यम् जस्ता बहुल राष्ट्रवादका विरोधीहरूको पक्षबाट राजेन्द्र महतो उभिएका छन् । यस्तो अवस्थामा उनले बोलेको कुराको कुनै तुक छैन ।’

विश्लेषक डा. तारालाल श्रेष्ठ पनि कमजोर धरातलबाट उपप्रधानमन्त्री भएकाले महतो आफ्नो भनाइबाट हात झिक्न बाध्य भएको टिप्पणी गर्छन् । डा. श्रेष्ठका अनुसार ‘लकिरका फकिर’ भन्दै राजेन्द्र महतोले आफ्नो विवेकलाई ख्याल नगरी स्वार्थका लागि बोल्ने गर्छन् । त्यही सिलसिलामा उनले बहुल राष्ट्रवादको कुरा गरेका हुन् ।

डा. श्रेष्ठ थप्छन्, ‘यो सरकारमा गएर उनले केही परिवर्तन गर्न सक्ने त होइन । तर महतोले मनमा गडिएको कुरा बोलेसँगै नेपाल राज्यमाथि अर्को बहस शुरू भएको छ ।’

तर महतो भने कहिले आफ्नो भनाइ फिर्ता लिएको त कहिले त्यही भनाइमा अडिग छु भन्ने जस्ता दोधारे अभिव्यक्ति दिइरहेका छन् । जुन कुरा उनको पछिल्लो ४८ घन्टाभित्र बोलेका कुराले सिद्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?