+
+
Shares

अभावका बीच आशाको किरण : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

दर्शन पाण्डे दर्शन पाण्डे
२०७८ असार १ गते १०:५५

वर्षौंदेखि अभाव, गरीबी, राज्यले गरेको उपेक्षा, पिछडिएको क्षेत्र कर्णालीमा अहिले पनि अभाव छ, गरीबी छ । भोक छ, रोग छ । तर पनि न राज्यले प्राथमिकतामा राखेको देखिन्छ, न केही विशेष अधिकार दिएको छ ।

आज प्रदेश-२ बाट १४ जना मन्त्री पाउँदा मेरो कर्णालीले एक जना मन्त्री पाएको छ । यस्ता धेरै कुरा मनमा छन्, धेरै आक्रोश मनमै छन् । कुनै दिन सुनाउँला, मनका वेदना पोखौंला ।

अभावै अभावका बीच एक ठूलो आशाको किरण बनेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) उदाएको छ । कर्णालीको स्वास्थ्य क्षेत्रमा मात्र नभई कर्णालीको आर्थिक, सामाजिक र पर्यटन क्षत्रमा यसले ठूलो अर्थ राख्ने विश्वास मैले लिएको छु ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘कास’ शिक्षण अस्पताल जुम्लामा यसै वर्षदेखि एमबीबीएस अध्ययनको लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दियो । यो एक खबर मात्र नभई जित हो, हामी सबै कर्णालीवासीको ।

स्थापनाको ९-१० वर्षपछि मिलेको यो खुशीका पछाडि कैयौं परिश्रम छन्, राज्यसँग निरन्तर अधिकार प्राप्तिका लागि लडिरहनुभएका आदरणीय अग्रजहरूको यसमा ठूलो मिहिनेत छ ।

डाक्टर गोविन्द केसीले एक वर्षअघि जुम्लामा गरेको अनशनको एउटा माग राज्यले सम्बोधन गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरमा आफूलाई एक अब्बल संस्था प्रमाणित गरेको ‘कास’ले स्थापनाकालदेखि हालसम्म कर्णालीका जनताको स्वास्थ्यमा उल्लेखनीय भूमिका खेलेको छ ।

केही वर्ष पहिले कर्णालीमा डाक्टरको अभावले भएको स्रोतसाधनको पनि उपयोग नभएको, चिकित्सककै अभावले धेरैले अकालमा ज्यान गुमाउनु परेको, जिल्ला अस्पतालहरू डाक्टरविहीन भएको, विशिष्ट सेवा लिन नेपालगञ्ज, काठमाडौं धाउनुपरेको जस्ता धेरै समाचार बारम्बार सुनिन्थ्यो ।

तर हिजोआज अभावको पर्यायवाची कर्णालीले आफ्नै माटोमा डाक्टर उत्पादन गर्ने खबरले हामीलाई धेरै खुशी बनाएको छ । कोभिडको पहिलो लहरको बेला जिल्ला अस्पताल कालिकोटमा १५ दिन बसेर मैले केही सिक्ने पौका पाएको थिएँ । अझ भनौं एमबीबीएस अध्ययनरत मैले आफ्नो गाउँ-ठाउँका जनताको स्वास्थ्य स्थिति बुझ्ने केही अवसर पाएको थिएँ ।

एक जना मात्र एमडीजीपी डाक्टर भएको जिल्ला अस्पतालमा चार जना एमबीबीएस डाक्टर हुनुहुन्थ्यो, जसमध्ये दुई जना डाक्टर स्थानीय । तर स्रोत र साधनको अभावमा चिकित्सकको सीप र क्षमताको भरपुर उपयोग नभएको मैले देखें ।

रिफरका केसहरू पहिला-पहिला सुर्खेत नेपालगन्ज काठमाडौं हुने गर्थे अहिले ‘कास’ जुम्लामा हुने रहेछन् । कता जान सजिलो हुन्छ भन्दा बिरामीका आफन्त जुम्ला भन्न छुटाउँदैनथे । हरेक महीना ‘कास’ जुम्लाले विशेषज्ञ डाक्टर सहितको उपचार सेवा शुरू गरेको थियो ।

अस्ति भर्खर मात्र मेरी आमा जुम्लाबाट दुई जना विशेषज्ञ डाक्टर जिल्ला अस्पताल कालिकोट आउनुभएको खबर सुनाउँदै हुनुहुन्थ्यो । कोभिडको दोस्रो लहरमा चिकित्सकको अभाव झेलेको नेपालगन्जको भेरी अस्पतालमा ‘कास’ ले डाक्टरको टोली पठाएको थियो, कणर्ाली प्रदेश अस्पताल सुर्खेतमा हिजोआज जुम्लाबाट डाक्टर आउँछन् ।

कर्णालीका अरू जिल्लामा पनि डाक्टर अभाव हुन नदिन ‘कास’ ले महत्वपूर्ण भूमिका खेलिरहेको छ । गर्वको कुरा के पनि छ भने अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्णालीको माटो बुझेको, कर्णालीका जनताको स्वास्थ्य नजिकबाट नियालिरहेको, कोभिडको पहिलो लहरमा अस्पताल पूर्ण सक्षम छ भनेर देखाएका एक जुझारु युवा शिक्षण अस्पताल जुम्लाका पूर्व निर्देशक डा. मंगल रावल उपकुलपति हुनुहुन्छ ।

युवा जोश, कर्णालीलाई मेडिकल हब बनाउने सपनामा उहाँले उल्लेखनीय भूमिका खेल्दै हुनुहुन्छ, उहाँको निरन्तर सक्रियताले पनि ‘कास’ ले आज यो अवसर पाएको हो ।

जुम्लाबाट निर्वाचित प्रदेश सांसद नरेश भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनादेखि हालसम्म निरन्तर लाग्नुभएको छ ।

केही समयअघि ‘कास’ मा एमबीबीएस अध्यापनका लागि उहाँ सहितको टोलीले काठमाडौंमा सरकारका मन्त्री र प्रधानमन्त्रीसँग गरेको कसरत पछिको कथा सहितको अन्तरवार्ता हेरेको थिएँ । मैले उहाँको चर्चित कृति ‘चाँदीको घेरा’ मा आधारित नाटक मंचनका बेला भेटेको थिएँ ।

उहाँ जस्तो जुझारु व्यक्ति भेटदा मलाई गर्व लागेको थियो । उहाँलाई मैले सोधेको- आदरणीय दाइ, जुम्लामा कहिलेबाट एमबीबीएस अध्यापन शुरु हुन्छ ? भन्ने प्रश्नको उत्तर आज ५-६ वर्षपछि पाएको छु । ढिलो भयो, यो निर्णय अलि पहिल्यै हुनुपर्थ्यो । तर, जे भयो राम्रो भयो, कर्णालीका जनताको हितमा भयो । अब कर्णालीको स्वास्थ्यमा दूरगामी सकारात्मक असर देखिने निर्णय भयो ।

अब अझै मिहिनेत गर्नुपर्नेछ, क्षमता वृद्धि गर्नुपर्नेछ, नर्सिङ, एमबीबीएस, एमडी र अन्य विधामा अहिले पाएको सिट बढाउन ‘कास’ ले राज्यलाई आफू बलियो भएको प्रमाणित गरिसकेको छ, अझै गर्नुपर्छ । मलाई विश्वास छ आधारभूत स्वास्थ्य अधिकारबाट बञ्चित कर्णालीवासीलाई कर्णालीको अभावमा हुर्किएका ‘कास’ का उपकुलपति डा. मंगल रावलले उल्लेखनीय भूमिका खेल्नुहुनेछ ।

(कर्णालीवासी पाण्डे हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा एमबीबीएस अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?