+
+
Shares
अन्तर्वार्ता :

‘महामारीमा विज्ञ र अनुसन्धान संस्थाको भूमिका पनि दयनीय देखियो’

सागर बुढाथोकी सागर बुढाथोकी
२०७८ असार १३ गते २०:३८

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का नेपालमा फैलिएको दोस्रो लहर महामारीको मृत्युदर भारतको भन्दा बढी भएको बताउँछन् । भाइरस म्युटेट हुने सम्भावना भएकाले तेस्रो लहर अपेक्षित नै रहेको खड्काको भनाइ छ ।

हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत खड्का इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे अनुसन्धान गरिरहेका छन् । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्माकोलोजीमा विद्यावारिधि खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालमा दोस्रो लहरमा भएको मृत्यु र संक्रमण स्वाभाविक हो, अन्य देशको तथ्यांकसँग तुलना गर्दा कस्तो अवस्था देखिन्छ ?

अहिलेसम्मको तथ्याङ्क अनुसार नेपालमा जम्मा मृत्युदर १.४ प्रतिशतको हाराहारीमा छ । साढे ६ लाख जति जम्मा संक्रमित हुँदा करीब–करीब ९ हजारको मृत्यु भएको छ ।

अप्रिल १ को मितिलाई यो पछिल्लो लहरको शुरुआत मान्ने हो भने पछिल्लो समयमा देखिएको संक्रमितको संख्या र मृत्युदर दुवै पहिलेको भन्दा निकै उच्च देखिएको छ ।

यो पछिल्लो चरणमा मात्रै साढे ३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने करीब ६ हजारको मृत्यु भएको छ । पछिल्लो चरणको मात्र मृत्युदर केलाउँदा यो १.७ प्रतिशत देखिन्छ । विगतमा जस्तै अहिले पनि रेकर्ड गर्न छुटेका मृतकको संख्या पछि जोडिएमा अझै उल्लेख्य वृद्धि हुने सम्भावना छ ।

तर यो पछिल्लो चरणको संक्रमण अझै सकिएको छैन । अझै दैनिक हजारौंको संख्यामा संक्रमित फेला पर्दैछन् भने संक्रमणदर पनि दुई महीनाको लकडाउन बावजूद अझै २० प्रतिशतको हाराहारीमा छ । त्यसैले अझै मृतक संख्या र मृत्युदर बढ्ने देखिन्छ । यो चरण नियन्त्रणमा आउँदासम्म पछिल्लो मृत्युदर करीब २ प्रतिशतको हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

यो सबै अन्यत्र देखिएको भन्दा फरक छ । अन्य मुलुकमा पछिल्ला लहरमा संक्रमितको संख्या बढ्दै गर्दा पनि संक्रमितको मृत्युदर भने घटेको थियो । प्रशस्त तयारी, स्वास्थ्य संस्थाको सबलीकरण, उपचार पद्धतिको विकासले गर्दा मृत्युदर कम हुन पुग्यो । तर, हाम्रो अवस्था हेर्दा ठ्याक्कै उल्टो छ ।

सम्भावित संक्रमितको पहिचान, परीक्षणको दायरा वृद्धि, गतिलो कन्ट्याक ट्रेसिङ लगायत कुरा गर्न सकिएन भने फेरि यो सुषुप्त भुंग्रोबाट ज्वालाको रूप धारण गर्न बेर लाग्दैन ।

धेरै देशमा लकडाउन जस्ता नियमनले संक्रमण दर घट्दै गए पनि खुकुलो बनाउँदा साथ संक्रमितको संख्या पुनः बढेको थियो । अहिले झन् नेपालमा नयाँ भेरियन्टको प्रकोप बढ्दै गर्दा संक्रमितको संख्या फेरि उकालो लाग्ने त हैन भन्ने डर छ ।

यो चरण शुरू हुनुभन्दा पहिला मृत्युदर १ प्रतिशतको हाराहारीमा थियो । सरसर्ती हेर्दा १ प्रतिशतबाट २ प्रतिशत पुग्नु धेरै जस्तो नदेखिए पनि, मृत्युदर मात्रै हेर्दा यो शतप्रतिशत वृद्धि हो । यो निकै भयावह स्थिति हो । अधिकांश मृत्यु उपचार अभावले भएको थियो । अहिले पनि उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको अवस्था छैन, केवल लकडाउन सृजित अवस्थाले संक्रमितको संख्या घटेको छ र स्वास्थ्य सेवा सहज बन्न पुगेको छ । तर फेरि संक्रमितको संख्या उकालो लाग्नासाथ पहिले जस्तै अभाव र जथाभावी उपचारले थुप्रै व्यक्तिले ज्यान गुमाउने अवस्था सृजना हुने सम्भावना उस्तै छ ।

निषेधाज्ञा खुकुलो भइसकेको अवस्थामा समुदायमा सक्रिय संक्रमित धेरै छन्, दोस्रो लहर उत्कर्षमा पुगेपछि महामारीमा अब आउन सक्ने सम्भावित जोखिम के के हुन् ?

दुई महीनाको निषेधाज्ञापश्चात् पनि अझै हाम्रो संक्रमितको संख्या र संक्रमणदर उच्च नै छ तर दुवै संख्यामा ओरालो भने लाग्दैछ । गम्भीर बिरामी र मृतकको संख्या क्रमशः ओरालो लाग्दै गरे पनि स्थिति पूरै नियन्त्रणमा अझै छैन । दिनानुदिन विभिन्न क्षेत्रमा अप्रत्यासित चाप र सो अनुरूपको व्यवस्थापन गर्न नसकेको पाइएको छ । यी सबै कुराले के इंगित गर्छन् भने हामीले अझै पनि महामारीको वास्तविक संख्यात्मक विस्तारको अनुगमन गर्न सकेका छैनौं ।

अब क्रमिक रूपमा निषेधाज्ञाको अन्त्य गर्दै गर्दा पनि हामीले सही अनुगमन गर्न सकेनौं भने फेरि यो संक्रमण नजानिंदो पाराले विस्फोट हुने डर हुन्छ । सम्भावित संक्रमितको पहिचान, परीक्षणको दायरा वृद्धि, गतिलो कन्ट्याक ट्रेसिङ लगायत कुरा गर्न सकिएन भने फेरि यो सुषुप्त भुंग्रोबाट ज्वालाको रूप धारण गर्न बेर लाग्दैन ।

थुप्रै राष्ट्रमा अकस्मात् संक्रमण वृद्धिपश्चात निषेधाज्ञा, त्यसको कारण संक्रमणको विस्तारमा कमी, अनि फेरि केही खुकुलो हुनासाथ लापरबाही र झन् ठूलो संक्रमण विस्तार भइरहेको छ । हामीले यो सबैबाट पाठ सिक्न जरूरी छ । अति उच्च संख्यामा संक्रमण हुँदा समेत परीक्षण २०–२५ हजारभन्दा धेरै भएन, तर अब निषेधाज्ञा खुला गर्न थालेसँगै तह तहमा परीक्षण गर्न जनशक्ति परिचालन गरेर संक्रमण विस्तार रोक्न जरूरी छ  ।

अहिले संक्रमणको अवस्था हेर्दा के भन्न सकिन्छ ?

संख्यात्मक रूपमा घट्दो छ, तर पनि परीक्षणको पोजेटिभिटी हेर्दा सन्तुष्ट हुने अवस्था भने छैन । अर्को कुरा हाम्रो खोप उपलब्धता र वितरण वा निकट भविष्यमा हुनसक्ने सुधार पनि सन्तोषजनक छैन । त्यसैले नयाँ संक्रमण वृद्धिको डर कायम नै छ  ।

अहिलेको संक्रमणदर हेर्दा पहिलेको भन्दा मृत्युदर केही धेरै देखिएको छ । संख्यात्मक रूपमा धेरैको मृत्यु मात्र हैन प्रतिशतको हिसाबले पनि पहिलेको संक्रमणभन्दा धेरैको मृत्यु भएको छ । अर्थात् गत वर्ष संक्रमित १०० मा १ को हाराहारीमा मृत्यु भएकोमा अहिलेको लहरमा १०० मा लगभग २ को मृत्यु भएको छ ।

यो बडो विडम्बनापूर्ण अवस्था हो । किनकि संसारभर जहाँ पनि हेर्ने हो भने पहिलो लहर आउँदा ज्ञान, तयारी अनि उपचार पद्धतिको अभावले मृत्युदर धेरै भए पनि पछिल्लो लहरहरूमा मृत्युदर निकै कम भएको छ । संख्यात्मक रूपमा उल्लेख्य वृद्धि भए पनि मृत्युदरमा भने ठूलो कटौती भएको छ । तर नेपालमा ठ्याक्कै उल्टो अर्थात् पछिल्लो लहरमा संख्यात्मक वृद्धिसँगै मृत्युदर समेत बढेको छ ।

उमेर समूहमा हेर्ने हो भने प्रायः संक्रमण अझै पनि पहिले जस्तै युवा (१८–५०) वर्षको उमेर समूहमा भएको छ भने आधाभन्दा धेरै मृत्यु ६० वर्ष नाघेका समूहमा भएको छ ।

सरल भाषामा भन्नु पर्दा सारा संसारको तथ्यांक हाम्रै अगाडि हुँदा, के गर्नुपर्छ भन्ने ज्ञान हुँदा, जोखिम समूह कुन हो भन्ने जानकारी हुँदाहुँदै पनि हामीले पूर्वतयारी गरेनौं । पूर्वतयारी गरेकै भए अहिले जस्तो मृत्युदर बढ्ने थिएन ।

धेरैले भाइरस ‘म्युटेट’ भयो, यो खतरनाक भयो भनेर औंला उचाल्ने गर्छन् । तर सत्य त्यो हैन । नेपाल र भारतमा उही भाइरस फैलिएको छ । भारत समेत निकै आक्रान्त बन्यो पछिल्लो समयमा, तर मृत्युदर भने पहिलेको चरणमा भन्दा कम रह्यो । अझ भनौं नेपालको भन्दा धेरै कम मृत्युदर भारतमा देखियो । भाइरसको कारण हुन्थ्यो भने यही प्रकारको मृत्युदर त्यहाँ पनि देखिनुपर्ने । अर्को उदाहरण, अहिले विश्वका थुप्रै ठाउँमा यो भेरियन्ट फैलिइसकेको छ तर पनि त्यहाँ नेपालमा जस्तो मृत्युदर देखिएको छैन । अर्थात् भाइरस मात्र मृत्युदर कारक होइन । हाम्रो अकर्मण्यता नै प्रमुख कारक हो ।

समुदायमा संक्रमण यथावत् रहिरहेको बेलामा मानिसको चहलपहल पनि उत्कर्षमा छ, यो बेला सरकारले महामारी नियन्त्रण गर्न चाल्नुपर्ने कदम के के हुन् ?

पहिले जस्तै अझै पनि प्रमुख कार्य प–प–प–प नै हो अर्थात्, परीक्षण, पहिचान, पर राख्ने अनि पूर्व तयारी । संक्रमण चक्र तोड्न अहिलेको अवस्थामा यसको अर्को विकल्प छैन ।

कोरोनाको जोखिम समूह भनेको वृद्ध र दीर्घरोगी हुन् भनेर पहिलेदेखि नै भन्दै आएका छौं । यो समूहलाई सकेसम्म संक्रमण हुनबाट जोगाउने र पर्याप्त सचेतना गराउने अभियानमा सरकार र नागरिक सबै चनाखो हुन जरुरी छ । बा–आमा, हजुरबा–हजुरआमालाई हामीले नै सुरक्षितसँग राख्नुपर्छ ।

पूर्व तयारीको निम्ति यो लहर निकै गतिलो झापड बनेर आयो । हामीले प्रशस्त परीक्षण प्रयोगशाला, आईसीयू बेड, सर्जरी बेड (अकस्मात् विरामीको चाप व्यवस्थापन) अक्सिजन, औषधि, तालिमप्राप्त स्वास्थ्यकर्मी, पीपीई, खोप वितरण एवं भण्डारण प्रणाली, सबैको व्यवस्थापन गर्न जरूरी छ । एक वा अर्को कुराको समुचित व्यवस्था नहुँदा आज धेरैले अकालमा ज्यान गुमाउनुपर्‍यो ।

महामारीमा सरकारको कामको त हामीले धेरै समीक्षा गर्‍यौं तर महामारीमा विभिन्न प्राज्ञिक र अनुसन्धानमा काम गर्ने संस्था र विज्ञहरूको भूमिका कस्तो रह्यो त ?

हामी सरकारलाई मात्र दोष दिन्छौं तर नेपाल मेडिकल काउन्सिल (एनएमसी), नेपाल रिसर्च काउन्सिल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), विभिन्न विश्वविद्यालय, मेडिकल कलेज जस्ता नियामक संस्थान र विज्ञको वर्चस्व रहेका संस्थानको समेत साह्रै बिर्सनयोग्य भूमिका रह्यो ।

अहिले विश्वका थुप्रै ठाउँमा यो भेरियन्ट फैलिइसकेको छ तर पनि त्यहाँ नेपालमा जस्तो मृत्युदर देखिएको छैन । अर्थात् भाइरस मात्र मृत्युदरको कारक होइन । हाम्रो अकर्मण्यता नै प्रमुख कारक हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय खोप विकासको अग्रपंक्तिमा रह्यो, अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय विश्वलाई नै सुसूचित गर्ने दियोको रूपमा खडा भयो, संसारभर आ—आफ्नो स्थानमा थुप्रै नियामक संस्थानको गर्व गर्न लायक भूमिका रह्यो ।

तर, यो अवधिमा विज्ञले भरिएका नेपालका यस्ता संस्थान कुन दुला पसे पत्तै भएन । प्लाज्माथेरापी, एन्टिबायोटिक, भिटामिन, स्टेरोइड लगायत उपचार पद्धतिको व्यापक दुरुपयोग हुँदा समेत यी सबै संस्थान अचम्मैसँग गुमनाम भए ।

सरकार त विज्ञले बनेको छैन तर कमसेकम विज्ञले पूर्ण यी स्वायत्त वा गैरसरकारी संस्थाको भूमिका त अग्रपंक्तिमा हुनुपर्ने हो । यी संस्थान आफैं गुमनाम हुने वा यिनको भूमिका नै फितलो हुने हो भने सबैलाई सुसूचित गर्ने, सरकारलाई सही विश्लेषण अनि सुझाव दिने, सही सूचना सम्प्रेषण गर्ने, उपचार पद्धतिमा एकरुपता ल्याउन कसले पहलकदमी गर्ने ?

निजी विश्वविद्यालय जसका सम्बन्धनमा दर्जनौं मेडिकल कलेज छन्, जसका मातहत सयौं चिकित्सक र हजारौं स्वास्थ्यकर्मी छन्, जसले लाखौं बिरामीको उपचार गर्छन्, यस्ता संस्थानको यस्तो महामारीमा के उपादेयता रह्यो त ? सर्वसाधारण सुसूचित गर्न, आफू मातहतका स्वास्थ्यकर्मी र संस्थान तयार राख्न वा उपचारमा एकरूपता ल्याउन यिनले के भूमिका खेले !

आफ्नै मातहत रहेका, आफैंले लाइसेन्स दिएका चिकित्सकले जथाभावी एन्टिबायोटिक वा जुकाको औषधि, वा प्लाज्मा थेरापीको दुरुपयोग गर्दा एनएमसी कता हरायो ? सरकारको वा भनौं कोरोना व्यवस्थापन समितिमा विज्ञ समूह कता हराए ? हामीले यी माथि प्रश्न मात्र हैन सरकारले सुझाव लिनुपर्ने को र कस्ता व्यक्तिबाट भन्नेमा समेत प्रश्न गर्न जरूरी बनेको छ ।

सारमा भन्नुपर्दा सरकारको अकर्मण्यता सबैले औंल्याउँदै गर्दा राष्ट्रमा रहेका अन्य चिकित्सक, अनुसन्धान एवं वैज्ञानिक आबद्ध संस्थानको कार्यकुशलता, क्षमता र प्रभावकारिता पनि सारै दयनीय देखियो ।

गाउँ–गाउँमा संक्रमण पुगेका कारण जोखिम बढ्दो छ, किनकि स्थानीय तहमा स्वास्थ्य संस्था गतिला छैनन्, महामारी नियन्त्रणमा स्थानीय तहको भूमिका के हुन्छ ?

स्थानीय नागरिकसँग घुलमिल भएको र पहुँचको आधारमा पनि सबैभन्दा नजिकको भएको हुनाले स्थानीय निकाय नै सही सूचना संवाहक, संक्रमितको पहिचान अनि संक्रमण फैलिन रोक्ने सबैभन्दा प्रभावकारी माध्यम हो ।

तर स्रोत र साधनको अभावले चुनौती निकै ठूलो छ । आगामी दिनमा प्रत्येक स्थानीय निकायमा परीक्षण वा नमूना संकलन, कमसेकम अक्सिजन उपलब्ध केही बेड, केही तालिमप्राप्त स्वास्थ्यकर्मी इत्यादिको न्यूनतम व्यवस्थापन हुन जरूरी छ । अझ प्रत्येक स्थानीय तहमा जनस्वास्थ्य विज्ञको दरबन्दी हुनु अपरिहार्य छ । यसले यो मात्रै हैन भविष्यमा हुने अन्य कुनै पनि महामारी रोक्न वा त्यसको सही व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

परीक्षण बढाउन के गर्न सकिन्छ ? हाम्रोमा परीक्षण शुल्क किन महँगो छ ?

औसतमा परीक्षण गरिएका ३–५ प्रतिशतको नतिजा संक्रमित देखिएको खण्डमा बल्ल महामारीको सही अनुमान गर्न सकिन्छ । नेपालमा यो अवस्था अझै आएको छैन् । तर, अहिले हामीले अनुगमनको लागि परीक्षण गरेका छैनौं, केवल पहिचानको लागि मात्रै परीक्षण गरेका छौं । अब स्थिति सहज हुँदै गर्दा अनुगमनको लागि टेस्ट गर्न जरूरी छ ।

अनुगमनका निम्ति परीक्षण बढाउने र संभावित संक्रमितको ‘क्लस्टर’ पहिचान गर्न पुल टेस्टिङ गर्न सकिन्छ । उदाहरणको लागि टोल–टोलबाट स्वाब हप्ता वा दुई हप्तामा संकलन गर्ने, अनि स्वाबको समग्रमा परीक्षण गर्ने, कतै पोजेटिभ देखिएमा त्यो नमुना एक–एक गरी जाँच्ने गर्नुपर्छ । यस्तो गर्दा केही खर्चिलो हुन्छ तर सम्पूर्ण राष्ट्र नै बन्द गरेको वा नागरिकको जीवन गुमाएको भन्दा कैयौं गुणा किफायती हुन्छ ।

खोप खरीद केवल हाम्रो चाहनाले हुने कुरा हैन, तर पहलकदमी हुँदैछ, केही संख्यामा मिल्ला पनि । तर यो हामीले गत सालदेखि नै औंल्याएको पाटो हो जसमा नजरअन्दाज गरियो । ढिलो–चाँडो खोप आउला तर त्यसको भण्डारण र वितरण प्रणाली चुस्त बनाउन जरूरी छ ।

परीक्षण शुल्कका बारेमा मैले गत वर्षदेखि नै आवाज उठाएको हो । नमूना परीक्षणको खर्च केही सयको हाराहारीमा पर्ने भए पनि प्रयोगशाला स्थापनाको लागत, तलबमान, भैपरी आउने खर्च इत्यादि हेर्दा १–२ हजारको हाराहारीमा ढुक्कसँग परीक्षण हुनुपर्ने हो । तर मैले यो कुरा गत वर्ष उठान गर्दा १५–१८ हजार घटीमा गर्न सकिन्न भन्ने केही विज्ञहरू नै अहिले २–४ हजारमा परीक्षण गर्दै हुनुहुन्छ । मुख्य कुरा सरकारले नै लागत अनुसार मूल्य यति हुन आयो भनेर मूल्य रोक्ने र सोही मूल्यमा आफू मातहतका प्रयोगशालामा परीक्षण गर्ने हो भने स्वतः मूल्यमा एकरूपता आउँछ ।

लकडाउन गरेर सरकारले गर्नुपर्ने के के थियो, गरेको छ त ?

लकडाउनमा सरकारले गर्नु पर्ने र गर्न सक्ने थुप्रै काम थिए, केही गरिंदै पनि छन्, केही गर्न खोज्दा खोज्दै पनि अप्ठ्याराहरू छन् भने केही पूर्णरूपमा चुकेका छन् ।

अक्सिजनको उपलब्धता र बेड संख्या बढाउने लगायत कार्य हुँदैछन् र गर्न अति आवश्यक हुन् ।

खोप खरीद केवल हाम्रो चाहनाले हुने कुरा हैन, तर पहलकदमी हुँदैछ, केही संख्यामा मिल्ला पनि । तर यो हामीले गत सालदेखि नै औंल्याएको पाटो हो जसमा नजरअन्दाज गरियो । ढिलो–चाँडो खोप आउला तर त्यसको भण्डारण र वितरण प्रणाली चुस्त बनाउन जरूरी छ ।

चुकेको कुरामा भने हामीले प्रयोगशालाको संख्या वा क्षमता वृद्धिमा ध्यान दिन सकेका छैनौं । अहिले समेत परीक्षण पर्याप्त नभएको अवस्थामा भोलि संक्रमण फेरि बढेको खण्डमा पुनः परीक्षणको सीमितताको कारण हामी अल्झिन नपरोस् ।

केही राष्ट्रहरूमा लकडाउनको बेला व्यापक खोप लगाउने अभियान चलाइएको थियो ताकि लकडाउन सकिनासाथ अर्थतन्त्र सुचारु होस् । पूर्वतयारी विना त्यो सम्भव छैन ।

जोर–विजोर प्रणालीमा यातायात चलाउने र दुई घण्टा पसल खोल्ने कुरा वैज्ञानिक छैन । अनावश्यक भीड हुने परिस्थिति निर्माण हुँदैछ । बरु संख्यामा अनुगमन तर विस्तारित सेवा अवधि उचित हुन्छ ।

अझै पनि विज्ञसँग बसेर ठोस उपचार विधिको नियम बन्न सकेको छैन । आवधिक रूपमा परिमार्जित हुने गरी यस्तो निर्देशिका जारी हुनु जरूरी छ ।

पहिलो चरणको महामारी उत्कर्षमा पुगेर ओरालो लाग्दै गर्दा नेपालमा कोरोना महामारी सकिएको मानसिकता विकास भएर जनस्वास्थ्यका मापदण्ड विपरीत काम भए, अहिले पनि पहिलेका दृश्यहरू दोहोरिने खतरा उत्तिकै छ, आगामी दिन कस्तो होला ?

महामारी झट्टै सकिनेवाला छैन । अब हामीले दीर्घकालीन रूपमा सोच्नु जरूरी छ । अहिले सकिए पनि भविष्यमा आउने नयाँ भेरियन्टले पुनः संक्रमण फैलिने डर छ ।

खोपको वितरणमा धेरै कुरा भर पर्दछ । खोप सर्वसुलभ भएको खण्डमा संक्रमणको विस्तार नियन्त्रण हुनेथियो । तर अहिले खोपको उपलब्धता अनुरूप त्यस्तो समय आउन अझै केही समय लाग्नेछ ।

नयाँ–नयाँ भेरियन्ट ठूलो चुनौती बनेर आइपरेका छन् । नयाँ भेरियन्ट देखा पर्नबाट रोक्ने भरपर्दो उपाय भनेको अहिलेको संक्रमण रोक्नु हो । जति लामो समय यो संक्रमण विस्तार हुन्छ, त्यति नै समय नयाँ भेरियन्ट आउने डर हुन्छ ।

मुख्य कुरो पूर्वतयारी नै हो । भोलि अर्को लहर आउला नआउला तर हामीले आउँछ भन्ठानेर अस्पतालका शय्या, उपचार पद्धति, खोप, चिकित्सक, स्वास्थ्यकर्मी अनि सम्भाव्य सामाजिक परहेजको तयारी गर्नु बाहेक अर्को उपाय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?