+
+
Shares

मन्त्रीले भने : छोटो समयमा बजेट बनाउँदा महत्वपूर्ण योजना छुटे

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १८:२९

१३ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले समय अभावका कारण अगामी आर्थिक वर्षको बजेटमा महत्वपूर्ण कार्यक्रम समावेश गर्न नसकिएको बताएका छन् ।

आइतबार प्रदेशसभामा बजेटमाथि उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदै मन्त्री खड्काले पदभार सम्हालेको छोटो समयमै बजेट निर्माण गर्नुपर्ने अवस्थाका कारण महत्वपूर्ण योजना छुटेको बताए ।

‘प्रदेश सरकार गठन भएको छोटो समयमै हामीले बजेट निर्माण गर्नुपर्ने भयो,’ खड्काले भने, ‘विविध प्राविधिक कारणले गर्दा महिला, बालबालिका, खेलकुद, सञ्चारलगायतका क्षेत्रमा महत्वपूर्ण योजना छुटेका छन् ।’

खड्काले सरकारले छोटो समयमा पनि महत्वपूर्ण योजना बजेटमा समावेश गरेको दावी गर्दै धेरै विषयवस्तु समेट्नुपर्ने हुँदा मसिनो रुपमा बजेट ल्याउन नसकिएको जनाए ।

विशेषगरी आफ्नो मन्त्रालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणसँगै अस्पतालहरुको स्वास्थ्य क्षेत्र सुदृढका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् । ‘हामीले कोरोना भाइरसको रोकथामका लागि प्रदेशका सबै अस्पतालहरुका लागि छुट्टै बजेट ल्याएका छौँ,’ उनले भने ।

उनले खोप खरिदका लागि समेत बजेट छुट्याइएको तर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार संघीय सरकार बाहेकले खरिद गर्न नपाउने कुरा थाहा पाएकाले उक्त बजेटलाई सोहीअनुसार व्यवस्थापन गर्ने बताएका छन् ।

अध्यादेश पारित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश प्रदेशसभाबाट पारित गरिएको छ । शुक्रबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले सभामा पेश गरेको अध्यादेश आइतबार सर्वसम्मतिले पारित भएको हो ।

प्रदेश सरकारले जेठ १५ गतेभित्र अर्को आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने कानूनी व्यवस्थाअनुसार काम गर्न नसकेपछि गत जेठमा अध्यादेशमार्फत उक्त व्यवस्था संशोधन गरेको थियो । प्रतिपक्षी दलको विरोधपछि मात्रै उक्त अध्यादेश प्रदेशसभामा पेश गरिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अध्यादेशमार्फत ल्याइएको नीति तथा कार्यक्रम र बजेट नै असंवैधानिक भएको भन्दै विरोध गरेपछि सरकारले शुक्रबार मात्र अध्यादेश प्रदेशसभामा पेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?