+
+
Shares

संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १२:५९

१४ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको आरोप लगाएका छन् । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ ।

प्रदेशको दिगो विकासका लागि उर्जा विषयक जुम अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देशमै पहिलो पटक दुई वर्षअघि दुई सय मेगावाट उर्जा उत्पादन गर्ने सहमति आफूले गरे पनि संघीय सरकारकै कारण काम हुन नसकेको बताए ।

‘दुई वर्षअघि काठमाडौंमा भएको लगानीकर्ताहरुको बैठकमा प्रदेशमा दुई सय मेगावाट उर्जा उत्पादन गर्ने किसिमले क्यानेडियन कम्पनीसँग सम्झौता गर्‍यौं,’ उनले भने, ‘तर संघीय सरकारले यो काम हुन दिएन ।’

उर्जा उत्पादनका लागि जग्गाको खोजी गर्दा समेत संघीय सरकारले जग्गा संघीय सरकारअन्तर्गतको भएको देखाएर काम हुन नदिएको उनले बताए । ‘कुनै पनि प्रदेशको जग्गा प्रदेश सरकारअन्तर्गत हुन्छ । तर, संघीय सरकारले जग्गाकै समस्या देखायो,’ मुख्यमन्त्री राउतले अगाडि भने, ‘ऐन, नियमबाट पनि सहयोग पाइएन ।’

प्रदेशमा थोरै लगानी गरेर धेरै उद्योग सञ्चालन गर्न सकिने अवस्था भए पनि संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहना राखेकै कारण कुनै काम हुन नसकेको उनले जिकिर गरे ।

संघीय सरकारको विभेदकारी नीतिसँगै कर्मचारीतन्त्र पनि बिना पैसाको काम गर्न नचाहेको उनले बताए । ‘कर्मचारीलाई टेबुलमा नदिए फाइल नै अगाडि बढ्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?