
१४ असार, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप भएको छ । दरबन्दी थपिएको पत्र गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको छ ।
थपिएको एउटा पदमा बढुवा प्रक्रिया थालिएको छ । एआईजीको दरबन्दी थप भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि दुई जना प्रतिस्पर्धी हुने भएका छन् ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । त्यसपछि हुने आईजीपीका लागि एआईजी विश्वराज पोखरेल एक्ला दाबेदार थिए ।
तर दरबन्दी थप भएसँगै उनका ब्याचका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापा र धिरजप्रताप सिंहमध्ये एक एआईजी बन्नेछन् । र, बढुवा हुने डीआईजी पनि पोखरेलसँगै आईजीपीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पोखरेललाई आईजीपीको एक्लो दाबेदार बनाउने गरी तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलको दबाबमा सरकारले २७ कात्तिकमा एउटा एआईजीको दरबन्दी थप्दै बढुवा गरेको थियो । महानिरीक्षकमा प्रतिस्पर्धा अन्त्य गर्ने गरी बढुवा गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।
संसदको राज्य व्यवस्था समितिले पनि निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
हाल विगतमा गरिएको गल्तीलाई सच्याउने गरी पुनः एआईजीको दरबन्दी थप गरिएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । पोखरेलका लागि थप भएको एउटासहित नेपाल प्रहरीमा चार वटा एआईजीको दरबन्दी थियो । अब नेपाल प्रहरीमा एआईजीको संख्या ५ पुगेको छ ।
प्रतिक्रिया 4