+
+
Shares

हुलाकका चिठ्ठीपत्र नेपाल एयरलाइन्सले ओसार्ने

थाई एयर बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १५:१५

१५ असार, काठमाडौं । अब हुलाक सेवा विभागका चिठ्ठीपत्र तथा कार्गो अब नेपाल एयरलाइन्सबाट ओसार-पसार हुने भएको छ । लामो समयदेखि थाई एयरले गरिरहेको यो काम अब नेपाल एयरलाइन्सबाट हुने गरी मंगलबार नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ ।

नेवानिका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

नयाँ सम्झौता अनुसार सन् २०२१ जुलाई १ देखि लागू हुनेछ । हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुने भएका हुन् ।

विभागले भारतमा भने एयर इण्डियाबाट सामानहरु पठाउने गर्छ । नयाँ सम्झौताले विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिम प्रकाश पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरे ।

कोरोना महामारीका कारण लामो समय विमानस्थलमा थन्किएका जहाज उड्न नसकेपछि थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजले साविकका कतिपय गन्तव्यमा उडान सुरु गर्न सकेको छैन ।

सोहीकारण थाई एयरले नेपालमा समेत उडान विस्तार गर्न सकेको छैन । नेपालमा ११ चैत २०७६ पछि बन्द भएको थाइ एयरवेजको उडान अहिले पनि सुरु हुन सकेको छैन । विगतमा विभागले संसारमा सबैभन्दा फराकिलो उडान नेटवर्क भएको कम्पनी छानेरै थाइ एयरसँग सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?