+
+
Shares

‘एस्ट्राजेनेकाको खोप १० महिनाको अन्तरमा लगाउँदा झन् प्रभावकारी’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १५:१६

१५ असार, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो र दोस्रो डोजको अन्तर ४५ साता (१० महिना) राख्दा प्रभावकारी हुने अध्ययनले देखाएको छ ।

सोमबार प्रकाशित भएको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनको नतिजा अनुसार यो खोपको तेस्रो डोजले प्रतिरोधी क्षमता अझै बढाउँछ ।

अध्ययनमा दुई डोज लगाउने समयको अन्तर जति धेरै बढाइयो प्रतिरोधी क्षमता त्यति धेरै बढेको पाइएको थियो । दोस्रो डोज लगाएको ६ महिनापछि बुस्टरको रुपमा तेस्रो डोज दिँदा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता थप वृद्धि हुने अध्ययनमा पाइएको छ । बुस्टरको रुपमा दिइएको तेस्रो डोज खोपले कोरोनाका नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि पनि सहयोग पुग्ने पाइएको छ ।

अध्ययनमा पहिलो डोज खोप लिएका मानिसमा विकास भएको कोरोनाविरुद्धको प्रतिरोधी क्षमता कम्तीमा एक वर्षसम्म रहने उल्लेख छ । पहिलो डोजको तुलनामा दोस्रो वा तेस्रो डोज खोप कम प्रतिक्रियाजनक हुने पनि अध्ययनको नतिजामा उल्लेख छ ।

अक्सफोर्ड युनिभर्सिटीको अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशक एन्ड्र्यु जे पोलार्डले भने, ‘यो कोरोना खोपको आपूर्ति कम भइरहेका आफ्ना नागरिकलाई समयमा नै दोस्रो डोज खोप दिन नसकेका मुलुकको लागि राहत पुग्ने समाचार हो । पहिलो डोज लगाएको १० महिनापछि दोस्रो डोज लगाउँदा पनि निकै राम्रो प्रतिरोधी क्षमता विकास भएको पाइएको छ ।’

अक्सफोर्ड युनिभर्सिटीले गरेको दुई अध्ययनमा १८ देखि ५५ वर्ष उमेर समूहका कोरोनाविरुद्धको पहिलो वा दोस्रो डोज खोप लिइसकेका मानिसहरु सहभागी थिए ।

अध्ययनको क्रममा सहभागी ३० जना स्वयंसेवकले एस्ट्राजेनेकाले पहिलो डोज खोपमात्र लिएका थिए । उनीहरुलाई १० महिनापछि दोस्रो डोज खोप दिइएको थियो । अहिले विश्वका अधिकांश मुलुकले कोरोना खोपको दुई डोज लगाउन चारदेखि १२ साताको समय सिफारिस गरेका छन् ।

पहिलो डोज कोरोना खोप लगाएको २८ दिनमा कोरोना प्रतिरोधी क्षमता उच्च रहने र १८० दिनमा उक्त क्षमता आधामा झर्ने अध्ययनमा पाइएको थियो । दोस्रो डोज खोप लगाएको एक महिनापछि भने प्रतिरोधी क्षमता चारदेखि १८ गुणासम्म बढेको पाइएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?