+
+

सार्वजनिक यातायात खुलेको पहिलो दिन यात्रुको भिड

शंकर गिरी शंकर गिरी
२०७८ असार १५ गते १९:३७

१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा झण्डै दुई महिनापछि मंगलबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएको छ । यसरी सवारी साधन चलाउँदा स्वीकृत सिट संख्याभरि मात्र यात्रु बस्न पाउँछन् ।

तर सार्वजनिक बस सञ्चालनको पहिलो दिन  चालक, सहचालक र यात्रुसमेत धेरै सचेत भएको देखिएन । धेरै बसमा सेनिटाइजर राखिएको छैन भने कतिपय यात्रुले मास्क लगाएका छैनन् । थोरै बस चलेका कारण यात्रुको संख्या बढी छ । बसमा सिट संख्या भन्दा बढी यात्रु राख्न दिएको छैन । बस संख्या कम हुँदा सर्वसाधारणले सहज ढंगले यात्रा गर्न पाएका छैनन् ।

सरकारको अवैज्ञानिक निर्णयको परिणाम : व्यवसायी

यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा देखिएकोे यो अव्यवस्था अवैज्ञानिक निर्णयको परिणाम भएको आरोप लगाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायातमा जोरबिजोर लगाएर सरकारले अवैज्ञानिक निर्णय गरेको आरोप लगाए ।

दुई महिनापछि खुलेको सार्वजनिक सवारीमा यात्रुको चाप बढी हुन्छ भन्ने जान्दाजान्दै जोरबिजोर प्रणाली लगाएर आफैँले अव्यवस्था निम्त्याएको आरोप उनको छ । ‘सबै यात्रु गन्तव्यमा पुग्न आतुर हुन्छन्, गाडी चलाएपछि म बोक्दिन भनेर यात्रुले पनि मान्दैनन्’ सिटौलाले भने ‘बरु निजी गाडी कम गरेर सार्वजनिक सवारी सबै चलाउनुपर्नेमा सरकारले कहीँ नभएको निर्णय गर्‍यो ।’

जोरबिजोरको नीति संशोधन र लामो दुरीको सवारी सञ्चालन गर्न माग गर्दै आएको यातायात व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार छलफलको लागि बोलाएको थियो ।

छलफलमा आफूहरुले आफ्नो माग स्पष्ट राखेको भन्दै सिटौलाले प्रशासनले १७ गते सबै पक्षबीच छलफल गरेर यसको समाधान खोज्ने बताएको जानकारी दिए ।

प्रशासन भन्छ : आफैं जिम्मेवार नबने कारबाही

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सर्वसाधारणले स्वास्थ्यप्रति गरेको हेलचेक्याइँ दुःखद् भएको बताउँछन् । यस्तो हेलचेक्याइँ नरोकिने हो भने प्रशासनले बल प्रयोग गरेर निर्णय कार्यान्वयन गर्न बाध्य हुने उनको भनाइ छ ।

‘कसैको हेलचेक्रयाइँ नै रोग फैलिने आधार बन्न सक्छ’ उनले भने ‘सार्वजनिक सवारीमा हेलचेक्रयाइँ भयो भने कानुनी व्यवस्था अनुसार दण्डित गर्छाैं ।’ निरौलाले यो व्यक्तिको सोचको कुरा रहेको भन्दै जोरबिजोर लागू नगरेको भए यस्तो हुँदैन’थ्यो भन्ने आधार नरहेको बताए ।

यात्रुको भिड, सवारी साधन आधामात्रै

मंगलबार विभिन्न बस स्टेसनमा पुग्दा सार्वजनिक सवारी कुर्नेको भिड देखिन्थ्यो, तर प्रशासनले भने भिड कम गर्न भन्दै जोरबिजोर प्रणाली लगायो ।

यात्रुहरु प्रशासनको यो निर्णय अचम्मित पार्ने खालको बताउँछन् । काठमाडौंको रत्नपार्कबाट वानेश्वर जाने तयारीमा रहेको दिनेश केसी भन्छन् ‘उपत्यकामा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाको बिक्रीका लागि तोकिने समय होस् या सवारी साधन सञ्चालनको लागि दिने अनुमति नै किन नहोस् । स्थानीय प्रशासनले लिएको नीति अचम्मलाग्दो छ ।’

सवारी धेरै चले भौतिक दुरी कायम गर्न सकिने भन्दै उनले सवारी कम गरेर भिड नियन्त्रण गर्न कागजमा मात्रै सम्भव रहेको बताए ।

हेर्नुहोस् थप तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?