+
+
Shares

नाम र योगदान पहिचान नभएका पनि विभूति !

भक्ति थापालाई विभूति घोषणाको प्रस्ताव सिंहदरबारमै ३ चक्कर लगायो

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ असार २१ गते २०:१८

२१ असार, काठमाडौं । सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणाको प्रस्ताव लामो समयसम्म मन्त्रालयमै घुमिरहृयो । सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिदिने मन्त्रालय नभेटिँदा पछिल्लो समय झण्डै २ महिना सिंहदरबारमा नै घुमिरह्यो ।पछिल्लोपटक भने गृह मन्त्रालयमार्फत् सो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको हो । तर उनलाई विभूति घोषणा गर्न दशक अघिदेखि प्रस्ताव गरिएको थियो ।

१४ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गर्‍यो ।

नेपालमा विभूति घोषणा गर्ने चलन पञ्चायकालदेखि  चलेको हो । २०५६ सालदेखि हालसम्म ४ जना राष्ट्रिय विभूति थपिएका छन् । तर अहिलेसम्म विभूति घोषणाको स्पष्ट मापदण्ड छैन ।

मापदण्ड नभएकै कारण सीमित विभूतिबाहेक कतिपय विभूति राष्ट्रलाई योगदान दिएको आधारमा भन्दा पनि दबाब र प्रभावमा घोषणा हुने गरेको आरोप समेत लाग्ने गरेको छ । तर थापालाई विभूति घोषणा गर्ने सरकारको निर्णयको भने कतिपय इतिहासकार र यसक्षेत्रका जानकारले प्रशंसा गरेका छन् ।

मन्त्रालयमै रुमलिएको प्रस्ताव

मापदण्ड र कार्यक्षेत्र स्पष्ट नहुँदा सरदार भक्ति थापालाई विभूति घोषणा गर्ने प्रक्रियाले पछिल्लो दुई महिनामा मात्रै ३ वटा मन्त्रालयमा चक्कर लगायो । अहिलेसम्म विभूति घोषणाको प्रस्ताव कुन मन्त्रालयले गर्ने भन्ने स्पष्ट व्यवस्था छैन ।

वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा थापालाई विभूति घोषणा गर्न माग गर्दै प्रस्ताव पेश गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार प्रस्तावलाई मन्त्रालयले कार्यक्षेत्रभित्र नपर्ने भन्दै रक्षा मन्त्रालयमा पठायो । सेनासँग सम्बन्धित व्यक्तित्व भएकोले रक्षा मन्त्रालय पठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । रक्षा मन्त्रालयले पनि सो विषय कार्य क्षेत्रभित्र नपर्ने भनेर गृह मन्त्रालयमा पठाएपछि गृहको प्रस्तावमा मन्त्रिपरिषद्ले थापालाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल भन्छन्, ‘विभूति घोषणाका लागि प्रस्ताव गर्ने काम कुन मन्त्रालय अन्तर्गत पर्छ भन्ने स्पष्ट भएन, त्यसैले अरू मन्त्रालयको क्षेत्रमा नपर्ने काम गृहले गर्ने नीति अनुसार हामीले प्रस्ताव पठाएका हौं, यसको क्षेत्र स्पष्ट भएन ।’

कुनै स्पष्ट नीतिविना विभूति घोषणा गर्ने परम्पराले कतिपय योग्य व्यक्तिले यो उपाधि पाए पनि कतिपय इतिहासमा पहिचान नै नभएका व्यक्ति समेत विभूति घोषणा गरिएको भन्दै विद्वत् वर्गबाट आलोचना समेत हुने गरेको छ ।

भक्ति थापा १७ औं विभूति

भक्ति थापा नेपालको १७ औं राष्ट्रिय विभूति बनेका छन् । २०६६ साल मंसिर १६ गते सरकारले महागुरु फाल्गुनानन्दलाई १६ औं राष्ट्रिय विभूति घोषणा गरेको थियो । त्यसभन्दा अघि घोषणा गरिएका १५ राष्ट्रिय विभूतिहरू राजाको समयमा पञ्चायती शासनकालदेखि २०६० सालभित्र घोषणा भएका हुन् ।

संस्कृतिविद् सत्यमोहन जोशी राष्ट्रिय विभूति घोषणा गर्ने चलन पञ्चायतदेखि सुरु भएको बताउँछन् । त्यतिबेला पनि मन्त्रिपरिषद्ले नै विभूति निर्णय गथ्र्याे ।

तत्कालीन सरकारले २०५९ साल वैशाख १० गते पासाङ ल्हामु शेर्पालाई विभूति घोषणा गर्‍यो भने शंखधर साख्वालाई २०५६ साल मंसिर ३ गते गरेको विभूति घोषणा गरियो । माथि उल्लेखित बाहेक गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह, अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, त्रिभुवन र मोतीराम भट्ट राष्ट्रिय विभूति हुन् ।

सरकार कस्तो व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गर्ने भन्नेमै स्पष्ट छैन । युद्ध, साहित्य, धर्म वा अन्य कुनै विधा तोकेर त्यसको आधारमा मापदण्ड नबन्दा योग्य भएर पनि सरकारमा पहुँच नहुँदा पदवि पाउन सक्ने अवस्था देखिँदैन

‘भक्ति थापालाई विभूति घोषणा गर्नु सह्रानीय’

नेपाल एकीकरणको क्रममा वि.सं.१८३९ मा दलमर्दन शाह, वंशराज पाँडे, जीव शाहलगायतले लमजुङको राजधानी तार्कुघाटमाथि आक्रमण गरे । त्यतिबेला लमजुङे सेनाका सरदार थिए भक्ति थापा ।

तार्कुघाटको युद्धमा गोरखाले विजय हासिल गरेपछि भक्ति थापालाई गोरखाली सेनाले युद्धबन्दी बनाएर गोरखा ल्यायो । उनको मुलुकप्रतिको निष्ठा र एक कुशल सेना भएकोले त्यतिबेला पृथ्वीनारायण शाहका सेनाले उनलाई नमारी युद्धबन्दी मात्रै बनाएको हुनसक्ने बताउँछन् नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ ।

उनलाई गोरखा ल्याएर युद्धबन्दी बनाएपछि बिस्तारै उनी एकीकरण अभियानप्रति सकारात्मक हुन थाले । त्यसपछि उनी गोरखाको तर्फबाट युद्धमा उत्रिन थाले । मुलुकको एकीकरण अभियानमा साथ दिनको लागि आफ्नो शत्रुता भुलेर गोरखालाई साथ दिनु नै उनको महानता रहेको गुरुङ बताउँछन् ।

नेपाली सेनाले लेखेको इतिहास अनुसार वि.सं. १८७२ साल वैशाख ५ गते मलाउको युद्धमा थापाले ७२ वर्षको उमेरमा वीरगति प्राप्त गरे ।

कुशल एवं इमान्दार सैन्य अधिकारी र राष्ट्रको सुरक्षामा दृढ भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्न करिब एक दशक अघिदेखि प्रस्ताव गरिँदै आएको थियो । सरकारले १४ असारमा गरेको निर्णयले एउटा वीर योद्धाले करिब २०० वर्षपछि न्याय पाएको भन्दै इतिहासकारहरूले खुसी व्यक्त गरेका छन् ।

इतिहासविद् डा. रमेश ढुंगेल कतिपय विवादास्पद र नराम्रा निर्णय गरेपनि सरकारले यस विषयमा भने प्रशंसा गर्नयोग्य निर्णय गरेको बताउँछन् । नेपालमा सबैले गर्व गर्न लायक राष्ट्रिय विभूति कमै रहेको भए पनि थापालाई विभूति घोषणा गर्नु सह्रानीय भएको ढुंगेलले बताए।

तर योगदानको मूल्यांकन नगरी दबाब र प्रभावमा परेर सरकारका अधिकारीले गोजीबाट विभूति पदवि दिँदा योग्य विभूतिको अपमान हुने ढुंगेलको बुझाइ छ ।

कसैको पहिचान छैन, कसैको नाम छैन

नेपालका पाँचौं राष्ट्रिय विभूति हुन्, अरनिको । घोषणाको मिति नभएर अनुमानित कालखण्डको आधारमा गौतमबुद्ध, सीता, जनक, अंशुवर्मा पछि अरनिकोको नाम आउँछ । तर अरनिको नेपाली इतिहासको स्रोतमा कतैपनि नभेटिएका पात्र हुन् । उनको नामबारे यकिन जानकारी प्राप्त छैन ।

संस्कृतिविद् जोशीको पुस्तक ‘कलाकार अरनिको’मा उल्लेख भए अनुसार उनी नेपालबाट चीन गएको कुरा चिनियाँ स्रोतबाट पुष्टि भएको भएपनि हालसम्म अरनिकोको बारेमा स्थानीय स्रोतमा नाम उल्लेख छैन ।

डा. ढुंगेलको मतअनुसार अरनिको भाल्गो अनिग भन्ने चिनियाँ नामबाट उल्था गरिएको हो । चिनियाँ स्रोतअनुसार उनी नेपालबाट चीन गएकै हुन भने पनि उनको वास्तविक नाम समेत पत्ता नलागिसकेको अवस्थामा पहिले उनको पहिचान गरेर योगदानको आधारमा मात्रै राष्ट्रिय विभूति घोषणा गर्नु उपयुक्त हुने ढुंगेलको तर्क छ ।

त्यसो त सरकार कस्तो व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गर्ने भन्नेमै स्पष्ट छैन । युद्ध, साहित्य, धर्म वा अन्य कुनै विधा तोकेर त्यसको आधारमा मापदण्ड नबन्दा योग्य भएर पनि सरकारमा पहुँच नहुँदा पदवि पाउन सक्ने अवस्था देखिँदैन ।

साहित्य क्षेत्रतर्फ हेर्दा भानुभक्त आचार्य र मोतीराम भट्टलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ । तर त्यसपछिका उस्तै अब्बल साहित्यकारहरू विभूति बन्न सकेका छैनन् । ढुंगेल भन्छन्, ‘लक्ष्मीप्रसाद देवकोटामा विभूति बन्न नसक्ने के कमजोरी थियो र बनाइएन ?’

त्यसो त धार्मिक विश्वासको आधारमा घोषणा गरिएका कतिपय विभूतिहरू इतिहासले प्रमाणित गर्न नसकेका समेत छन् । जनकपुरमा जन्मिएको विश्वास गरिने राजा जनक र राजकुमारी सीता धार्मिक कथाका पात्र हुन् । उनीहरू धार्मिक कथाका आदर्श पात्र भए पनि नेपालको लागि के योगदान गरे ? भन्ने विषय स्पष्ट छैन ।

वि.सं. २०५६ सालमा विभूति घोषणा गरिएका शंखधर साख्वाको बारेमा पनि इतिहासले स्पष्ट बोलेको छैन । भाषा वंशावलीले बालुवा सुन भएपछि त्यसले ऋण मुक्त गरेको र त्यसैको आधारमा नेपाल संवत्को सुरुवात गरेको स्मरणमा काठमाडौंका स्थानीयले साख्वालाई श्रद्धा गर्छन् ।

डा. जगमान गुरुङ भन्छन्- प्रहृलाद गुरुङ पनि भक्ति थापासँगै वीरगति प्राप्त गरेका योद्धा हुन् । सायद स्पष्ट मापदण्ड थियो भने उहाँ पनि राष्ट्रिय विभूति नै घोषणा हुनुहुन्थ्यो

तर वैज्ञानिक आधारमा बालुवा आफैँ सुन हुन्छ भन्ने कुरा पुष्टि गर्न सक्ने आधार-प्रमाण नरहेको बताउँछन् ढुंगेल । पशुपतिमा शंख बोकेको एउटा मूर्तिलाई नै शंखधर मानिएको बाहेक कुनै पनि पुरातात्विक स्रोतमा उनको उल्लेख छैन । भाषा वंशावली बाहेक अरु वंशावलीमा पनि उनको प्रशंग छैन ।

पासाङ ल्हामु शेर्पालाई पनि कुन मापदण्डले विभूति घोषणा गरियो भन्ने स्पष्ट नरहेको ढुंगेल प्रश्न उठाउँछन् । उनी कुनै पनि व्यक्तिलाई विभूति घोषणा गर्दा उसले राज्यको लागि दिएको योगदान उल्लेख गरेर स्पष्ट मापदण्डको आधार तयार पार्नुपर्ने सुझाउँछन् ।

‘धेरै पात्रहरू पहुँचको भरमा विभूति घोषित भएका छन्,’ उनी भन्छन्, ‘अब राष्ट्रिय विभूतिबारे गरिएका निर्णयमा पुनर्विचार गर्नु आवश्यक देखिन्छ ।’

‘सुब्बा प्रहृलाद गुरुङ किन बनेनन् विभूति ?’

विभूति बनेका मात्रै नभएर विभूति बन्न नसकेका ऐतिहासिक पात्र पनि धेरै छन् । अंशुवर्मा विभूति बन्दा स्थिति मल्लको योगदान हेर्दा उनी पनि विभूतिका लायक मानिन्छन्, बहादुर शाह हुन् वा त अँग्रेज युद्धमा साहस प्रस्तुत गरेका कतिपय अरु योद्धाहरू अहिलेसम्म सहीद समेत घोषणा हुन सकेका छैनन् । त्यसैमध्येका एक हुन्, सुब्बा प्रहृलाद गुरुङ ।

आजभन्दा १५ वर्ष अघि सरकारले सहीद तथा विभूति घोषणाको लागि मोदनाथ प्रश्रतिको संयोजकत्वमा एउटा समिति गठन गरेको थियो । संस्कृतिविद् डा. जगमान गुरुङ सम्झन्छन्, ‘मलाई पनि प्रश्रतिजीले गुरुङको तर्फबाट राष्ट्रलाई ठूलो योगदान गरेका व्यक्तिको नाम दिन भन्नुभयो । मैले राजगढमा अँग्रेजसँगको युद्धमा वीरता प्रस्तुत गर्दा मारिएका प्रहृलाद गुरुङको नाम दिएँ । तर पछि विभूति त के शहीदसम्म पनि घोषणा गर्न सकिएन भन्नुभयो । सायद स्पष्ट मापदण्ड थियो भने उहाँ (गुरुङ) राष्ट्रिय विभूति नै घोषणा हुनुहुन्थ्यो ।’

डा. गुरुङका अनुसार प्रहृलाद पनि भक्ति थापासँगै वीरगति प्राप्त गरेका योद्धा हुन् । मलाउमा थापाले वीरगति प्राप्त गरेको भोलिपल्ट अमरसिंह थापा नेतृत्वको सैन्य टोली राजगढ आक्रमणको लागि अघि बढ्यो । सोही युद्धमा सुब्बा प्रहृलाद गुरुङले वीरगति प्राप्त गरेका हुन् । त्यसपछि १८७२ वैशाख ६ गते चौतारिया बम शाहले पश्चिम किल्ला काँगडाको लडाइँ टुंगिएको घोषणा गरेका हुन् ।

सेनाले भक्ति थापाको वीरगतिसँगै युद्ध टुंगिएको भनेर लेखेको इतिहास अधुरो रहेको भन्दै यसलाई सच्याउन सुझाव दिए ।

अहिले पनि नेपाल सरकारले गुरुङको कम्पनीको नगरा निशाना उनैलाई सुम्पिएको, उसको निशाना चिहृन तासकुचिन -सुनौलो खालको टल्किने निशान) नै छनोट गरेको छ । तास कुचिन गुरुङले अँग्रेजका कप्तान अख्तर लोहनीको झण्डाबाट खोसेको बताइन्छ।

अहिले पनि कास्कीको चौर गाउँमा सुब्बा प्रहृलाद गुरुङको सन्तानको घरमा त्यो निशान चिहृन रहेको र त्यहाँ सरकारी गुठीबाट पूजा हुने गरेको डा. गुरुङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?