+
+
Shares

माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिंदैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते २०:४६

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका हुन् ।

प्रधानमन्त्रीबाट हटेपछि बुधबार सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए । त्यसको अगुवाइ आफ्नै पार्टीका नेताले गरेको भन्दै  उनले माधवकुमार नेपालको नाम लिएर लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे ।

ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गर्दै नाराबाजी गरे । उनीहरुलाई रोक्दै अध्यक्ष ओलीले अघि भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमीकमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा अगाडि नेता नेपाल शीतलनिवास पुगेको र सपथपछि झुकेर प्रणाम गरेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’

समर्थकहरुलाई  आफ्नो घरको बार्दलीबाट सम्बोधन गरेका एमाले अध्यक्ष ओली आफूलाई प्रधानमन्त्रीबाट अकारण हटाइएको दाबी गरे । ‘जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन’ उनले भनेका छन्, ‘देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।’

अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाइएको भन्दै उनले नेपाली जनताको अधिकार खोसिएको बताए । आफूले देशका लागि राम्रो काम गरेको र विकास गरेकाले ग्लानि नभएको निवर्तमान प्रधानमन्त्री ओलीले बताए ।

ओलीले सरकारी निवास बालुवाटार छाडेर बालकोट जाँदा युवा संघका कार्यकर्ताले ओलीको समर्थनमा नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?