+
+
Shares

महन्थ ठाकुर पक्षले दल दर्ता गर्ने प्रक्रिया के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १९:०७

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिई महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न सक्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको निर्णयकै आधारमा ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने नभई नभई राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल गठन प्रक्रिया थाल्नुपर्ने देखिन्छ ।

सोमबार निर्वाचन आयोगले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘लिखित जवाफ प्रस्तुतकर्ता (महन्थ ठाकुर पक्षधर) लाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ६ बमोजिम छुट्टै राजनीतिक दलको रुपमा दर्ता गर्न आएमा प्रचलित कानून बमोजिम छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गरिदिने ठहर्छ ।’ आयोगले उधृत गरेको दफा ४४ मा ‘(आधिकारिकता नपाउने) अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्न सक्नेछ’ भनिएको छ ।

नयाँ दल दर्तासम्बन्धी व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ मा छ ।

दल दर्ताका लागि विधान, घोषणापत्र, झण्डा, चुनाव चिह्नको नमुना तयार गर्नुपर्नेछ । अनि कम्तीमा ५ सय जना नेपाली नागरिक उक्त दलको सदस्य हुन तयार भएको प्रतिवद्धतापत्र आवश्यक पर्नेछ ।

त्यसका लागि उनीहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । उनीहरुले आफूहरु अर्को दलमा आवद्ध नभएको भनी औपचारिक लिखित घोषणासमेत गर्नुपर्नेछ । कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ । ऐनमा भनिएको छ, ‘आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात पेश गर्नुपर्नेछ ।’

यी प्रक्रिया पुर्‍याएपछि पनि निर्वाचन आयोग तत्काल दल दर्ता गर्न बाध्य हुदैन । नयाँ दल दर्ता गर्ने समूहले पेश भएको निवेदनको अध्ययन गर्ने र आवश्यक अरु कागजात माग्नसक्ने सुविधा आयोगलाई ऐनले दिएको छ ।

सबै प्रक्रिया पुगेमा निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ताको प्रमाणपत्र दिन्छ । दल दर्ता हुन नसक्ने भए कारण खुलाएर जानकारी दिनुपर्ने ऐनमा व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?