+
+

इजरायलमा एक हजार नेपालीलाई मासिक २ लाख तलब दिने गरी खुल्यो जागिर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १२:०७

१२ साउन, काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो ।

यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।

एक हजमारमध्ये महिला ७०० जना महिला र ३०० जना पुरुष छानिनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।

सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । पासपोर्टको म्याद कम्तिमा ३ वर्ष  पुगेको र विगतमा इजरायलमा काम नगरेकाहरुले आवेदन दिनसक्नेछन् ।

इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।

सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७८’ जारी गरिसकेको छ । निर्देशिकाले २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका नेपाली नागरिकले इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जानसक्ने व्यवस्था गरेको छ ।

सरकारले इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ । अनलाइनबाटै दरखास्त दिन सकिने छ । निर्देशिकाअनुसार दरखास्त स्वीकृत गरेर निवेदकको मोबाइलमा यसको सूचना दिइने छ ।

तोकिएको योग्यता भने पुरा गरेका व्यक्तिले परीक्षा पास गर्नुपर्नेछ । अंग्रेजी भाषाको ज्ञानलाई अनिवार्य गरिएको छ । असल चरित्र भएको र मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुनुपर्ने शर्त पनि छ ।

रोजगारीमा जाने व्यक्ति कम्तिमा १.५ मिटर उचाई र ४५ केजी तौल भएको हुनुपर्ने व्यवस्था छ । कम्तिमा १० कक्षा पास गरी अनमी वा सीएमएको कम्तिमा १५ महिनाको अध्ययन पुरा गरेका वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेर सरकारबाट स्वीकृति प्राप्त संस्थामार्फत ३ महिनाको तालिम लिएकाहरुले पनि परीक्षामा भाग लिन पाउनेछन् ।

दरखास्त दिएकाहरुले तोकिएको दिनमा तोकिएको स्थानमा पुगेर आफ्नो उचाई र तौल नापजाँच गराउनुपर्नेछ ।

अंग्रेजी भाषाको परीक्षा भने रोष्टरमा रहेका विज्ञले लिनेछन् । विज्ञले दिएको अंकका आधारमा विभागका महानिर्देशक संयोजक रहेको छनोट समितिले मागसंख्या भन्दा २५ प्रतिशत बढी व्यक्तिको सूची प्रकाशन गर्नेछ  र त्यसलाई इजरायलमा पठाउनेछ ।

नेपालबाट पठाएको नामावली मध्येबाट इजरायलको पीआईबीए नाम संस्थाले छनोट गरेर पठाएका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।

भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

इजरायलले पाँच सय नेपाली श्रमिक लैजाने गरी २०७७ माघ ८मा समझदारी गरेको थियो ।

हेर्नुस् विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?