
१२ साउन, काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् ।
मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् ।
नेकपा माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले उनलाई गत वैशाख २० गते हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो ।
लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । गण्डकीका प्रदेश प्रमुख नियुक्त भएका गुरुङ चितवनको कांग्रेस नेता हुन् ।
प्रदेश प्रमुख फेरिएको फेरियै
२०७२ सालमा नयाँ संविधान जारी भएर प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनले त्यतिबेलाका सातैजना प्रदेश प्रमुख परिवर्तन गरेका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रको भागवण्डामा प्रदेश प्रमुख नियुक्त गरिएका थिए ।
तर एमाले र माओवादी केन्द्र अलग अलग भएपछि तत्कालिन प्रधानमन्त्री ओलीले माओवादीका तर्फबाट प्रदेश प्रमुख बनेकाहरुलाई हटाएर पुन: एमालेकै तर्फबाट प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया 4