Comments Add Comment

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

१३ साउन, काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् ।

यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्य शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् ।

गौरिकाको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे रहेको छ । गौरिकासंगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् ।

गौरिकाको लक्ष्य पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान सुधार गर्नु नै रहेको छ । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

एलेक्सले कीर्तिमान सुधार गरिसकेको र गौरिकाले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कीले बताए ।

गौरिकाको ओलम्पिक इन्ट्री टाइमिङ १ मिनेट ००.६२ रहेको छ । गौरिकाले सन् २०१९ मा चीनमा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा यो समय निकालेकी थिइन् ।

यस्तै नेपालमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा ५९.६० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३औं सागमा गौरिकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन । यसअघि सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन् ।

फोटो: गौरिकाको इन्स्टाग्रामबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment