+
+
Shares

एसईईको नतिजा साउन २५ भित्र

रासस रासस
२०७८ साउन १३ गते १९:२५

१३ साउन, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।

सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए । दोस्रो लहरको कोभिड-१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो ।

गत जेठ १३ देखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

बोर्डले एसईईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ ।

कोभिडकै कारणले २०७६ सालको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?