
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद ५ दिनभित्र सहमति गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद ५ दिनभित्र समाधान गर्ने निर्णय गरेको हो ।
क्रियाशील सदस्यता छानबिन समितिले विवादित क्षेत्रको समस्या समाधान नगरी साउन १२ गते सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर पदाधिकारी बैठकले विवादका विषयमा सहमति जुटाउन छानबिन समितिलाई थप एक दिन समय दिएको थियो ।
छानविन समितिले विवादित क्षेत्रको समस्या समाधान गर्न नसकेपछि यो जिम्मा पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई दिएको समितिा सभापति रमेश लेखकले जानकारी दिए ।
क्रियाशील सदस्यताको छानविनको अधिकांश काम आफूहरुले सकेर केही विषय नेतृत्व तहबाटै निर्णय गर्नुपर्ने भनेर बुझाएको नेता लेखकले बताए । ‘केन्द्रीय नेताहरुको तहमा प्रस्तुत गरिएका विषयहरुमा केन्द्रीय नेताहरुको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ’ उनले भने, ‘र उहाँहरुले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरु पनि अगाडि बढ्छन् ।’
प्रतिक्रिया 4