
१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।
प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक अवस्था कमजोर भएका चेपाङ घरपरिवारलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए ।
‘गाउँपालिकाले सहयोगका लागी आग्रह गरेको थियो,’ उनले भने, ‘उहाहरुकै समन्वयमा आज बिभिन्न ठाउँमा खाद्यान्न वितरण गरेका हौ ।’ वितरण गरिएको खाद्यान्नले चेपाङ समुदायलाई केही राहत महशुस हुने उनको अपेक्षा छ । आगामी दिनमा पनि सहयोगका विभिन्न कार्यक्रम ल्याउने उनले आश्वासन दिएका छन् ।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर रानाले चेपाङ समुदायलाई लक्षित गरी पालिकाले पनि बिभिन्न राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
खाद्यान्न सहयोग पाएसँगै चेपाङ समुदाय पनि खुशी छन् । ‘हाम्रो पालामा गिठ्ठा भ्याकुर खान्थ्यौ, अहिले त्यो जमाना छैन, अलिअलि मकै खेती हुन्छ तर बर्षभरी खान पुग्दैन, आज पाएको चामलले केही समयलाई भात खान पुग्छ, खुशी लागेको छ,’ स्थानीय सन्तमाया चेपाङले भनिन् । चामल पाउने भएपछि खुशी हुदै लिन आएको उनले बताइन् ।
प्रतिक्रिया 4