
१६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा देखिएको सेयर खरिद विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान शुरु गरेको छ ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत ‘गोल्डेन सेयर’ लिएको आरोप लागेपछि अख्तियारले यस विषयमा अनुसन्धान शुरु गरेको हो ।
नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरीत छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ ।
अख्तियारले बोर्ड अध्यक्षसँग बुक बिल्डङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजातहरु बोर्डसँग मागेको छ ।
‘अनुसन्धानका लागि हामीले कागजातहरु मागेका छौं, कागजातहरु प्राप्त भएपछि हामीले आरोपित सबैलाई वयानका लागि बोलाउछौं’ अख्तियार श्रोतले भन्यो, ‘विस्तृत अनुसन्धान भएपछि मात्रै दोषी छन् वा छैनन् भन्ने विषयमा जानकारी हुन्छ ।’
यो विवादमा बोर्ड अध्यक्ष ढुंगानासँगै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद समेत जोडिएका छन् । उनको श्रीमतीकै नाममा सेयर किनेका छन् । उनीहरुले प्रतिकित्ता २५० रुपैयाँका दरले किनेको विवरण छ । बुक बिल्डिङमार्फत आईपीओ जारी हुँदा सर्वोत्तमको सेयर मूल्य प्रतिकित्ता ७५० रुपैयाँ हाराहारीमा थियो ।
यस विषयमा आइबार अख्तियारमा केही लगानीकर्ताहरुले लिखित उजुरी समेत हालेका छन् । अख्तियार श्रोतका अनुसार सञ्चारमाध्यममा आएका समाचारकै आधारमा अख्तियारले केही दिनअघि नै अनुसन्धान शुरु गरेको थियो ।
अर्थमन्त्रालयले शुक्रबार बोर्ड र नेप्से दुबै कार्यालयलाई पत्राचार गर्दै सञ्चार माध्यममा आएका समाचारका विषयमा स्पष्टीकरण सोधेको थियो । बोर्ड अध्यक्षको नाम जोडिए पनि मन्त्रालयले कार्यालयको नाममा पत्र लेखेर स्पष्टीकरण सोधेको भन्दै बोर्डको कर्मचारी युनियनले आपत्ति जनाएको छ ।
कुनै व्यक्तिले गरेको गल्तीलाई समग्र संस्थाको गल्तीको रुपमा देखाउनु गलत भएको युनियनको भनाइ छ ।
युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरब विष्टले विज्ञप्ति जारी गर्दै बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।
प्रतिक्रिया 4