+
+
Shares

राजविराजमा मास्क अभियान : हुनेले दिन्छन्, नहुनेले लैजान्छन्

रासस रासस
२०७८ साउन २५ गते १५:३९

२५ साउन, काठमाडौं । सप्तरी सदरमुकाम राजविराजको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबुल लाग्ने गरेको छ । ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन् । टेबुलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔं, नहुनेले मास्क लगाएर जाऔं’ लेखिएको छ ।

कार्टुनसँगै छेउमा स्यानिटाइजरको बोतल र दुईवटा बट्टा सजाएर राखिएको छ । एउटा बट्टामा ठूला मानिसले र अर्को बट्टामा साना बालबालिकाले लगाउने आकारका मास्क छन् । मास्क नहुने आउँछन् र बट्टाबाट एउटा मास्क निकालेर लगाउँछन् । कतिपयले अभियानको प्रशंसा गर्दै मास्कको पोका वा पैसा नै दिएर जान्छन् ।

निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन् । मास्क नलगाएर बजार हिंड्नेको संख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो । गत असार १० गतेदेखि शुरु भएको उक्त अभियानअन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ ।

बजार निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्ने वातावरण बनाउनका लागि पैदलयात्री, सवारी साधनका यात्रुसँगै चालक र व्यवसायीलाई सचेत बनाउने उद्देश्यले दैनिक रूपमा ‘मास्क लगाएर जाऔं’ अभियान शुरु गरिएको समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ताले बताइन् ।

‘सबैलाई मास्क लगाएर हिँड्न आग्रह गर्छौं, मास्कको अभाव भए लगाएर जान भन्छौं,’ गुप्ताले भनिन्, ‘कोही मान्छन्, कोही मान्दैनन् । कसैले चिउँडोबाट मुखमा सार्छन् त कोही गोजीबाट हत्तपत्त निकालेर मुखमा लगाउँछन् ।’

जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको गत असार ७ गतेको बैठकले कोरोनाको सङ्क्रमण दर घट्दो क्रममा रहेको ठहर गरेको थियो । सोही बैठकले सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायतका कार्यालयले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै असार १३ गतेदेखि सबै कार्यालयलाई सेवा सञ्चालन गर्न सूचना जारी गर्‍यो । सक्रिय सङ्क्रमितको संख्या कम भएपछि कोरोनाको त्रास कम भयो । त्यसपछि सर्वसाधारण सडकमा निस्कन थाले र विस्तारै मास्क पनि लगाउन छाड्दै गए । स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा लापरबाही हुने संकेत देखा पर्नासाथ मास्क बैंक स्थापना गरिएको एकल महिला समूहको प्रदेश २ अध्यक्ष अनिता देवकोटाले जानकारी दिइन् ।

कोरोना सङ्क्रमण दर घट्दो क्रममा रहेको भनी खुला गरिएको निषेधाज्ञामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा अहिले पुनः सङ्क्रमण दर बढेको देवकोटाको भनाइ छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पीसीआर मेसिन बिग्रिएकाले परीक्षण बन्द छ । एन्टिजेन परीक्षणको तथ्यांकले कोरोना सङ्क्रमण दिनदिनै बढ्दै गएको देखाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाई स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरी जिल्लाभरि लागू गरिएको निषेधाज्ञा अवधि थप गर्दै लगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । उनका अनुसार औषधोपचार एवं अत्यावश्यक कामबाहेक सकभर घर बाहिर ननिस्किन, निस्कनै पर्दा अनिवार्य मास्क लगाउन, समूहमा नहिँड्न, भौतिक दूरी कायम गर्न निर्देशन जारी गरिएको छ तर पनि मानिस बेवास्ता गरिरहेका छन् ।

सबैभन्दा बढी सडकमा बिना काम हिंडिरहनेले लापरबाही गरिरहेका छन् । ‘मास्क लगाएर हिँड्नभन्दा लगाए पनि नलगाए पनि हाम्रो खुशी हो भन्दै हिँड्छन्,’ मास्क वितरण गरिरहेका इन्सेक प्रतिनिधि मनोहर पोखरेलले भने, ‘कोही त धन्यवाद फर्काउँछन्, कोही झर्कोफर्को मान्छन् ।’ कतिपय ज्येष्ठ नागरिक र बालबालिका पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताउने गरेकाले निःशुल्क रूपमा मास्क प्रदान गर्न थालिएको उनको भनाइ छ ।

दैनिक पसिना बगाउने र कोरोना विरुद्धको खोप लगाएकाले मास्कको आवश्यकता नभएको बताउने पनि भेटिन्छन् । मास्क लगाउने पैसाले चिया खानु जरुरी रहेको भन्ने पनि भेटिन्छन् । पोखरेलले भने, ‘‘उहाँहरुलाई ‘मास्क एक महत्व अनेक’ भनेर सम्झाइबुझाइ गर्ने गरेका छौं ।’

सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिन सरकारको निर्देशन र घरबाहिर निस्कनु पर्दा अनिवार्य मास्क लगाएर मात्र निस्कनु भन्ने जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार नै राजविराजमा सचेतनामूलक मास्क वितरणको अभियानलाई निरन्तरता दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी प्रिया सिंह थारुले बताइन् ।

‘मास्क वितरणका साथै जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेका हौं, ब्यानरमा पनि ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भनेर लेखेका छौं,’ सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललिता कर्णले भनिन्, ‘कोही खुशी भएर मास्क किन्नका लागि पैसा दिएर जान्छन्, अधिकांशले निःशुल्क लिएर जान्छन् ।’

चोकमै रहेका न्यू विशाल टेलर्सका सञ्चालक मोहम्मद परवानाका अनुसार बजार आएका कतिपय ग्राहकले मास्कसमेत लगाउँदैनन् । दूरीमा बसेर कुरा गर्न आग्रह गर्दा ‘छिटो देऊ, गइहाल्छु’ भनेर भन्छन् । ‘न मास्क लगाउँछन्, न दूरी कायम गरेर बस्छन्, उल्टै नकराउनू भन्छन् बरु अर्को पसलमा जाने गरी धम्क्याउँछन्,’ परवानाले भने, ‘सबैका लागि भनेको हो तर उनीहरूले उपदेश नदेऊ आफ्नो काममा ध्यान देऊ भनेपछि चुप लागेर बस्छु ।’

कोरोना भाइरसबाट जोगिनका लागि उत्तम विकल्प भौतिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्य रूपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिन सचेतना अभियानका आयोजकले आग्रह गर्ने गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?