
१७ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का अर्का एक सांसदले पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट प्रदेश सभामा निर्वाचित प्रह्लाद गिरी गोस्वामीले लोसपा रोजेका हुन् । उनले पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ बाट चुनाव जितेका थिए । तत्कालीन उपेन्द्र यादव नेतृत्वको फोरम नेपालबाट जितेर ठाकुर नेतृत्वको दलमा लाग्ने गोस्वामी पहिलो सांसद हुन् ।
गोस्वामीले बिहीबारै निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने बताए । ‘जनकपुरधाम पुग्न लागेको छु’ अनलाइनखबरसँग उनले भने, ‘लोसपाको जनप्रतिनिधि भनेर सनाखत गर्नेछु ।’
सांसद गोस्वामीले उपेन्द्र यादवले मधेशको मुद्दा त्यागेपछि लोसपा रोजेको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई मधेश र मधेशी भनेपछि गौरव लाग्छ’ उनले भने, ‘त्यही भएर मधेशको मुद्दा त्यागेका व्यक्तिको साथ छोडेका हौं ।’
जसपाका १० सांसदहरुले बुधबार नै लोसपा रोजेका थिए । परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साहले लोसपा रोजेका हुन् ।
प्रतिक्रिया 4