
१७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
जसपा प्रदेश २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले लोसपा रोजेका हुन् । दुवै सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार सनाखत गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।
लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् । उनी लोसपा नेता अनिल झाकी पत्नी हुन् ।
दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ । यसअघि बुधबार परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेशप्रसाद कुर्मी र गौरीनारायण साहले सनाखत गरेका थिए । सनाखत गर्ने सबै पूर्व राजपाका सांसद हुन् ।
सांसद परमेश्वर साहले भदौ २२ गतेसम्म सनाखतको समय दिइएकाले थप अन्य सांसदले सोही समयभित्र सनाखत गर्ने बताए ।
प्रतिक्रिया 4