+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यस वर्षका तीज गीत: युट्युबमा कुन–कुन भए हिट ?

सुशील नेपाल सुशील नेपाल
२०७८ भदौ २० गते १७:२०

कोरोना महामारी हुँदैन’थ्यो भने यतिबेला तीजका गतिविधिले धेरैलाई छपक्कै छोपिसकेको हुन्थ्यो । लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरुलाई तीज विशेष कार्यक्रममा भ्याईनभ्याई हुन्थ्यो । चलेका धेरै लोकदोहोरी गायक–गायिकाहरु त यतिबेला तीज विशेष कार्यक्रमको शिलशिलामा विदेशमा हुन्थे ।

यस वर्षको हरितालिका तीज मुखैमा आइसक्यो । अबको चार दिनपछि तीज छ । यस वर्ष विगतमा जस्तो तीजको चहलपहल छैन । यद्यपि, यस वर्ष कोरोना कालमा पनि तीजका गीतहरु प्रशस्तै सार्वजनिक भएका छन् । युट्युबमा सार्वजनिक भएकामध्ये धेरै तीज गीतहरु आएको–गएको स्रोता एवं दर्शकले पत्तो समेत पाएनन् । केही गीतहरुले भने युट्युबमा राम्रो भ्यूज पाएका छन् । यिनीहरुको चर्चा पनि धेरै छ ।

यस वर्ष सबैभन्दा चर्चामा रहेको तीज गीत हो, ‘चरी जेलैमा’ । विष्णु माझीद्वारा स्वरवद्ध यस गीतले युट्युबमा राम्रो भ्युज बटुल्न सफल रह्यो भने स्रोता एवं दर्शकमाझ निकै लोकप्रिय रह्यो ।

यस गीतले सार्वजनिक भएको १३ दिनमा युट्युबमा एक करोड भ्युज पार गरेको थियो । जुन अहिलेसम्म सबैभन्दा छिटो करोड भ्युज पाउने गीतमा रेकर्ड कायम भएको छ । त्यस्तै, २४ घण्टामा १० लाख बढी हेरिएको गीतको रेकर्ड समेत ‘चरी जेलैमा’ले राखेको छ । अहिले यस गीतको भ्युज एक करोड ४५ लाख बढी छ ।

सुरुवाती दिनमा औसत् चर्चामा रहेको गीतले टिकटक लगायत सामाजिक सञ्जालमा चर्चा पाउन थालेसँगै भ्युजमा पनि वृद्धि हुँदै गएको हो ।

‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणिले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ । खराब श्रीमान् पाउँदा चेलीले पाउने दुःखलाई गीतमा व्यक्त गरिएको छ । सरल र मार्मिक शब्द रहेको गीतले धेरैको मन जितेको छ ।

यस वर्ष निकै चलेको अर्को तीज गीत हो, ‘कुरा बुझ्न पर्च’ । सार्वजनिक भएको एक महिनामा यस गीतको भिडियोले युट्युबमा एक करोड ५२ लाख बढी भ्युज पाएको छ । गीतले सार्वजनिक भएको १५ दिनमा एक करोड बढी भ्युज पाएको थियो । टिकटकमा पनि यो गीत निकै हिट भएको थियो ।

प्रकाश सपूतले आफ्नो शब्द, संगीतमा यो गीत सार्वजनिक गरेका हुन् । गीतमा कृष्ण बि.के. (भान्जा)को एरेन्ज रहेको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । प्रकाशकै निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ । पारिवारिक जीवनका बारेमा आधुनिक पुस्ताका युवतीको अवधारणालाई गीतमा प्रस्तुत गरिएको छ ।

युवतीहरुको प्राकृतिक सुन्दरता, स्वभावहरु, लैङ्गिक स्वतन्त्रता, आत्मनिर्भरता, आत्मसम्मान, हक अधिकारका कुरा गीतमा देखाउन खोजिएको छ ।

यस वर्ष युट्युबमा उत्कृष्ट भ्युज पाउने अर्को तीज गीत हो, ‘सोल्टी राजाको टुम्लेट’ । एकनारायण भण्डारीको शब्द एवं संगीत, एचबिएन किस्मतको एरेन्ज रहेको गीतमा प्रीति आलेको स्वर छ । गत वर्ष सार्वजनिक ‘फरिया’को भाग २ का रूपमा सार्वजनिक गरिएको यस गीतले युट्युबमा एक करोड एक लाख बढी भ्युज पाएको छ । मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा रामजी खाँण र प्रीति आलेको अभिनय छ । यस गीतलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

युट्युबमा राम्रो भ्युज पाएको अर्को तीज गीत हो, ‘यसपालिको तीजमा सम्झिनी पानी छम्किनी’ । यद्यपि यस गीतले लाखौं बुष्ट गरेर भ्युज किनेको समेत आरोप छ । एक महिनामा यस गीतको भ्युज एक करोड १७ लाख बढी पुगेको छ ।

सम्राट चौलागाईंको शब्द एवं संगीत रहेको गीतमा सम्राटसँगै रचना रिमाल, स्मिता दाहाल, ममता गुरुङको स्वर छ । विक्रम स्वाँरको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा कलाकारहरुको जम्बो टिम देख्न सकिन्छ । भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुंगाना, सम्राट चौलागाईं लगायतका कलाकारहरु भिडियोमा छन् ।

लोकदोहोरी क्षेत्रका धेरै कलाकारहरुको सहकार्य रहेको ‘कुरा काटन’बोलको तीज गीतले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । अहिलेसम्म यस गीतको भ्युज ७५ लाख बढी छ । यस गीतमा खुमन अधिकारी, देवी घर्ती, शान्तिश्री परियार, शीला आले, सम्झना भण्डारी, पूर्णकला बिसी, जुना श्रीस, सरिता कार्की र सुनिता बुढा क्षेत्रीले स्वर दिएका हुन् । दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमनकै संगीत, बिनोद बाजुरालीको संगीत संयोजन छ । शंकर बिसीको निर्देशनमा बनेको गीतको भिडियोमा शंकरसँगै सम्झना बुढाथोकी, विनोद श्रेष्ठ, रञ्जिता गुरुङ, शिवन पोखरेल, अञ्जु निरौला, कृष्ण रसाईली, पूर्णिमा श्रेष्ठ, महेन्द्र गौतम, सारिका केसी, विमल अधिकारी, अञ्जली अधिकारी, ओबी रायमाझी, दीपाशा बिसी र करिष्मा ढकालको अभिनय छ । तीजमा माइत आएका दिदीबहिनीलाई ‘भिनाजु र ज्वाइँसा’पको कुरा काटन लगाउनु’ गीतको कथा हो ।

यस वर्ष ‘बाउ आमा ३–सजाय’ले युट्युबमा राम्रो भ्युज पाएको छ । यस गीतको भ्युज ६३ लाख वरिपरि छ । डि.आर. सुजनको शब्द÷संगीत रहेको यस गीतमा राजु परियार, पूर्णकला बिसी, अमृत सापकोटा, सुनिता बुढा क्षेत्री, कमला घिमिरे, सचिन परियार, रबिना बसेल लगायतको स्वर छ । त्यस्तै, ‘आयो तीजको लहर’, ‘मरिन्छ कि साइँलो’, ‘हङकङको साडीले २–कुर्ता’, ‘लरिलरिलै २–हान्छु तिमीलाई लौरीले’, ‘छम्की देउ पानी’, ‘घन्किदे मादलु’ लगायतका गीतले युट्युबमा राम्रो भ्युज पाएका छन् ।

सिरिजको बाढी

यस वर्ष तीज गीतमा सिरिजको बाढी देखियो । यसअघि आइसकेका तीज गीतको भाग २, भाग ३ भन्दै कलाकारहरुले नयाँ गीत सार्वजनिक गरे । त्यसमा विष्णु माझीको ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा आएको ‘चरी जेलैमा’बाहेक अरू गीतले पहिलेको जस्तो चर्चा पाउन सकेनन् । ‘हङकङको सारीले २ –कुर्ता’को चर्चा ‘हङकङको सारीले’को जस्तो भएन ।

‘लरिलरिलै २–हान्छु तिम्लाई लौरीले’को चर्चा ‘लरिलरिलै’को जस्तो भएन् । त्यस्तै, ‘तीज महामारी काण्ड २’को चर्चा गत वर्ष सार्वजनिक ‘तीज महामारी काण्ड’को जस्तो भएन । यीबाहेक भागका रूपमा आएका थुप्रै तीज गीतले अगाडिको जस्तो चर्चा पाउन सकेनन् ।

कतिपय मौलिक गीतलाई भ्युजको खडेरी

पछिल्लो समय तीजको वास्तविक मर्म बोकेका गीतहरु कमै सार्वजनिक हुन् थालेका छन् । यस वर्ष पनि केही सीमित मात्रामा मात्र तीजको मर्म बोकेका गीतहरु सार्वजनिक भए । तर तीजको मर्म बोकेका गीतको भ्युजमा भने खडेरी देखियो । हरिदेवी कोइरालाको ‘करुवामा कलकली’, लक्ष्मी न्यौपानेको ‘मै सानी हुँदा’, ज्योती मगरको ‘माइतीको मया बरिलै’ लगायतका मौलिक तीज गीतको भ्युज निकै कम रह्यो ।

लेखक
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?