
१२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालयको बैठकले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
अभियान अन्तर्गत ७७ वटै जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुनर्गठन र प्रशिक्षणको आयोजना गरिने युवा संघ नेपालका महासचिव दीपक जीएमले जानकारी दिए । उनका अनुसार बैठकले सदस्यता वितरणलाई व्यापकता दिँदै कम्तीमा १ लाख ५० हजार नयाँ सदस्य बनाउने निर्णय गरेको छ ।
अभियानलाई सफल पार्न देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा ३३० जना, जिल्लामा ७७ जना र प्रदेशमा ७ जनालाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाउने निर्णय गरेको महासचिव जीएमले बताए ।
युवा संघले आफ्ना हरेक कार्यक्रमहरु तोकिएको निर्धारित समयमा नै शुरु गर्ने, कार्यक्रमको मञ्चमा अध्यक्षबाहेक अरु नरहने, अध्यक्षको अध्यक्षताबाट नै कार्यक्रम सञ्चालन भएको ठानिने र संघको कार्यक्रममा खादा, माला, पुष्पगुच्छा प्रयोग नगर्ने निर्णय पनि गरेको छ ।
बैठकले विधान मस्यौदा पारित गर्दै सबै कमिटीमा कम्तीमा २५ प्रतिशत रहने गरी २५ वर्षभन्दा कम उमेर समूहलाई संगठित गर्नैपर्ने, आयोगहरुलाई पूर्ण स्वायत्तता प्रदान गर्ने, एक नीति परिषद्को व्यवस्था गर्दै नीति परिषद्लाई युवाको सन्दर्भमा छलफल गर्ने संरचना र संसदीय अभ्यास सिक्ने आन्तरिक फोरमको रुपमा विकास गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4