
१५ असोज, काठमाडौं । नेकपा एमालेले एउटा कार्यकारी पदमा दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुबै व्यवस्था कायम राख्ने भएको छ । तर कार्यकालको बीचमा ७० वर्ष पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने गरी विधानको व्यख्या गरिएको छ ।
ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने आवाज उठेको थियो ।
त्यसको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुबै व्यवस्था कायम रहने बताए । एउटा कार्यकारी पदमा दुई पटक उम्मेदवार हुनसक्ने व्यवस्थालाई स्थपित गरेर जानुपर्ने उनले बताए ।
७० वर्ष उमेर हद कायम राख्दै भन्दै पौडेलले भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’
उनले हाँस्दै भने, ‘कमरेडहरुले बुझ्नुभयो होला ।’ पौडेलसँगै हलमा उपस्थिति प्रतिनिधिहरु पनि हाँसे । उनको आशय, ७० वर्षे उमेर हदको यो व्याख्या अध्यक्ष केपी शर्मा ओलीको अनुकल हो भन्ने सबैले बुझेका छन् ।
एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । तर आगामी मंसिरमा महाधिवेशन गर्ने र, फेरि अध्यक्ष बन्ने उनको योजना छ ।
एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।
नेताहरुका अनुसार एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस शुुरु भएको थियो । आठौंमा अधिकतम उमेर हद तोक्ने सहमति जुटेको थियो । तर सहाना प्रधानका लागि मात्र लागू हुने देखिएपछि अन्तिम समयमा फिर्ता लिइएको थियो ।
एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोक्यो । त्यही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा ७० वर्षे उमेर हद हटाइएको थियो ।
२३ फागुन २०७७ को सर्वोच्चको फैसलापछि पुनर्स्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उनलाई अनुकूल हुनेगरी परिभाषा गरिएको छ ।
प्रतिक्रिया 4