
१२ कात्तिक, काठमाडौं । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले हरेक वर्ष अक्टोबर ३१ मा मनाइने विश्व शहर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्दा शहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु र दिगो शहरी विकास हासिल गर्नका लागि अवसरको खोजी र शहरी समाधानको चुनौती समाधान गर्ने रहेको बताए । उनले कात्तिक १४ गते बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने जानकारी दिए ।
विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारणसभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो । नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया 4