
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको नयाँ मापदण्ड बनाउने निर्णय स्थायी कमिटीलाई दिएको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ बनाउने निर्णय गरेको छ ।
बिहीबारको स्थायी कमिटीले प्रस्ताव गरेको संख्यामा थप चार सय प्रतिनिधि बढाउने निर्णय केन्द्रीय कमिटीले गरेको हो । नयाँ मापदण्ड बनाउँदा सबै क्लस्टरबाट प्रतिनिधि संख्या बढाइने एक केन्द्रीय सदस्यले बताए ।
‘भूगोल, जनसंगठन, ज्येष्ठ सल्लाहकार परिषद्, विभाग र केन्द्रीय कार्यालयबाट समेत प्रतिनिधि संख्या बढाउने तयारी छ,’ ती नेताले भने ।
जनसंगठनबाट ५/५ जना प्रतिनिधि आउने स्थायी कमिटी बैठकले निर्णय गरेको थियो । अब ६ देखि ७ सम्म पुग्न सक्नेछ । केन्द्रीय कार्यालय र विभागबाट एक महिलासहित तीन जना प्रतिनिधि आउने प्रस्ताव थियो । तर अब यो संख्या ५ बन्ने ती नेताले बताए ।
ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १५ जना आउने भएको छ । स्थायी कमिटीले तीन जना तोकेको थियो । नयाँ मापदण्डअनुसार भूगोलबाट आउने प्रतिनिधि संख्या धेरै बढ्नेछ ।
स्थायी कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर दुई खुला र एक महिला प्रतिनिधि आउने व्यवस्था गरेको थियो । तर अब प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २ हजार संख्या बराबर एक महिलासहित चार जना आउन सक्नेछन् । त्यसपछि थप पाँच सय बराबर एक प्रतिनिधि थप आउन सक्नेछ ।
प्रतिक्रिया 4