+
+
टिप्पणी :

काङ्ग्रेस नेतृत्वमा सिंह र कोइरालाको समीकरण

तेजप्रसाद लामिछाने तेजप्रसाद लामिछाने
२०७८ कात्तिक २२ गते ८:४४

२०७६ सालको फागुनभित्रै हुनुपर्ने काङ्ग्रेसको नियमित चौधौं महाधिवेशन मूल नेतृत्वकै कारणले अहिलेसम्म चक्रव्यूहमै फसेको छ । पार्टीको विधान र संविधानले दिएको सुविधा १८ महीनाको समय म्याद पनि गएको भदौ २३ मै सकिएको छ । देशको ठूलो लोकतान्त्रिक पार्टी काङ्ग्रेस नेतृत्वले पार्टी अवैध हुनबाट बचाइदिनकै निम्ति निर्वाचन आयोगसामु दुईहात जोडेर भीख माग्नुपर्ने योभन्दा लाजमर्दो कुरा अरु के हुनसक्छ ।

काङ्ग्रेस महाधिवेशन अहिलेसम्म अन्योल हुनुमा देशको असहज परिस्थिति मुख्य कारण हुँदै होइन । पार्टी कार्यकर्ताको भित्री मनोविज्ञान राम्रैसँग बुझ्छन् देउवा, पौडेल, शशांक, सिटौला र उनीहरू निकटका नेताहरू । आसन्न महाधिवेशनपछि पार्टी नेतृत्वमा आ-आफ्नो भविष्य सुरक्षित नदेखेरै अधिवेशनलाई अन्योल बनाइएको हो । गुट नाइकेहरूको आशीर्वादमा टिकेका केही केन्द्रीय नेताहरू आजसम्म पनि ‘स्थानीय चुनाव अघि महाधिवेशन हुँदैन’ भन्न छोडेका छैनन् । अस्तित्व नै संकटमा पर्न लागेको काङ्ग्रेस माथि पार्टीको अहित हुने यस्ता कुतर्क अगाडि ल्याउन कसले उक्साउँदैछ यी नेताहरूलाई । ‘मंसीरभित्रै काङ्ग्रेसले महाधिवेशन गर्न सकेन भने माघमा हुने राष्ट्रियसभा र चैतमा हुने स्थानीय तहको चुनावमा पार्टीले आफ्नो आधिकारिक उम्मेदवार नै उठाउन पाउने छैन’, निर्वाचन आयोगका प्रमुख आयुक्तको यो भनाइबाट तर्सिएका गुटका नाइके र पदाधिकारीलाई यो बाध्यकारी परिस्थितिले अब ज्वरो आउन थालेको हुनसक्छ । आयुक्तले काङ्ग्रेस नेतृत्वलाई दिएको चेतावनी मिडियाबाट बाहिर आएपछि आम कार्यकर्ताहरूमा अब त आसन्न महाधिवेशन समयमै हुन्छ कि भन्ने झिनो आशा पलाएको देखिन्छ ।

कुनैबेला भद्रगोल जेलको पर्खाल नाघेर गणेशमान सिंह दार्जीलिङ हुँदै कलकत्ता पुगे । बीपी कोइरालासँग त्यहीं उनको सम्पर्क भयो । दुवै जना मिलेर १२ माघ २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे । सुवर्णशमशेरको प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भयो । २००८ सालमा गठन भएको मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा मन्त्री रहेका गणेशमान सिंहले बीपीकै निर्देशनमा मन्त्री पद त्याग गरे । २०१२ सालमै वीरगन्जमा भएको नेपाली काङ्ग्रेसको महाधिवेशनमा पार्टी सभापति उम्मेदवारमा गणेशमान सिंह र सुवर्णशमशेर उत्रिए । बीपीको समर्थनका कारण सभापतिमा सुवर्णशमशेर नै आए । सुवर्णलाई नै पार्टी सभापति बनाउनै पर्ने त्यो बेला बीपीसँग छुट्टै केही बाध्यता पनि थियो होला । आफू सभापति बन्न नपाएकोमा गणेशमानको बीपीप्रति कुनै गुनासो रहेन, न त कुनै आक्रोश नै । त्यसपछि गणेशमान सिंहले कहिल्यै पनि सभापति पदमा आकांक्षा नै देखाएनन् । तर पनि २०१४ सालको ‘भद्र अवज्ञा’ आन्दोलनको नेतृत्व गणेशमान सिंहले नै गरे ।

२०१५ सालको आमनिर्वाचन पछि कांग्रेस नेतृत्व सरकारमा बीपी कोइराला प्रधानमन्त्री बने । बीपीले गणेशमान सिंहलाई निर्माण तथा यातायात मन्त्रीमा नियुक्त गरे । त्यसपछिका हरेक कालखण्डमा बीपी कोइरालाको सैद्धान्तिक विचार र राजनीतिक निर्णयमा गणेशमान सिंहको सधैं साथ रह्यो । कोइराला र सिंह परिवारको सामीप्यता र आपसी सहकार्य राजनीतिकर्मी जो कोहीका लागि प्रेरणादायी बन्यो । २०३३ साल पुसमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपीले नेपाल फर्किने निधो गरे । ‘आठ वर्ष लामो निर्वासन त्यागेर अहिल्यै नेपाल पस्नु ठीक छैन’ भन्ने मान्यता राख्थे गणेशमान सिंह । नेपाल फर्किने कुरामा बीपी र गणेशमान बीचमा राजनीतिक मतभेद देखा पर्‍यो ।

भारतको बनारसबाट काङ्ग्रेस नेताहरूसँगै बीपी कोइराला नेपाल फर्किने अन्तिम तयारी गर्दै थिए । बीपीले गणेशमानलाई बोलाउन पठाए ।

बीपीले पठाएका नेताहरूले सोधे- ‘हामी त नेपाल फर्किने निधो गर्‍यौं नि गणेशमानजी, तपाईं के गर्नुहुन्छ ?’

‘मेरो नेता भनेको त्यही बीपी बाहुन नै हो उसले भनेपछि मान्नै पर्यो नि’, गणेशमान सिंहले यही भनेका थिए त्यो बेला । गणेशमान सिंह बीपीसँगै नेपाल फर्किए । बीपी नेतृत्वमा गणेशमानको त्यस्तो सहकार्य थियो तर आजको काङ्ग्रेसभित्रको राजनीतिक परिस्थिति अलि बेग्लै छ ।

अब प्रकाशमान सिंह नेतृत्व समीकरणमा कोइराला परिवार सदस्यहरूको साथ र समर्थनको आवश्यकता देखिंदैछ । इमानदारी र न्यायसंगत राजनीतिक संस्कार, सुदृढ लोकतन्त्र र समग्र पार्टी संगठनका निम्ति पनि निश्चित रूपमा दुवै परिवार मिल्नुमै सबैका लागि हितकर रहन सक्छ । अहिले काङ्ग्रेसभित्र गणेशमान परिवारका एक र कोइराला परिवारका तीन जना पार्टी नेतृत्व तहमा सक्रिय छन् । बीपी पुत्र शशांक कोइराला नेत्र रोग विशेषज्ञ मेडिकल डाक्टर हुन् । २०६४ सालदेखि सक्रिय राजनीतिमा आएका उनको चुनावी गृह जिल्ला नवलपुर हो । पूर्व महामन्त्री प्रकाशमान सिंहको प्रस्तावमा १३औं महाधिवेशनबाट शशांक महामन्त्रीमा निर्वाचित भएका थिए । उनै शशांकले सभापति उम्मेदवारमा प्रकाशमान सिंहलाई प्रस्ताव गर्नुपर्ने थियो तर उनले गरेनन् ।

पार्टीको जिम्मेवारी पद पाएर पनि आफ्नो पदीय दायित्व ठीक किसिमले वहन गर्न नसकेको उनीमाथि ठूलो आरोप छ । पूर्व महामन्त्रीहरू महेन्द्रनारायण निधि, गिरिजाबाबु, सुशील कोइराला, प्रकाशमान सिंहको कार्यकाल जस्तो प्रशंसा गर्न लायक शशांकको कार्यकाल रहेन । उनले पार्टी संगठनमा महामन्त्री पदको महत्व नै बुझ्न सकेनन् ।

सभापति देउवाले पार्टीको विधानलाई कहिले प्वाल पार्ने, कहिले विधानको पन्ना नै च्यात्न खोज्दा समेत उनी मूकदर्शक बनेको यही कुरा पार्टी कार्यकर्ता र मतदाता कसैलाई पनि मनै परेको छैन । महामन्त्रीको जिम्मेवारी ठीक किसिमले पूरा गर्न नसक्ने शशांकले सभापति बनेर के गर्न सक्छन् ? यही प्रश्नको उत्तर दिन गाह्रो बन्दैछ महामन्त्री डा. शशांकलाई ।

१३औं महाधिवेशनमा रामचन्द्र र १४ औंमा प्रकाशमान सिंह सभापति पदको उम्मेदवार बन्ने भद्र सहमति बनेपछि नेता सिंहले नै रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गरेका थिए २०७२ को फागुनमा । देउवाको भन्दा पौडेल टिम बलियो नै थियो त्योबेला । तर रामचन्द्र पौडेलले आफ्ना निकटलाई आफ्नै बनाउन अर्थात् टिममा मिलाउनै सकेनन् । ठूलो जनाधार देउवातिर गएपछि पौडेल कमजोर भए ।

त्यतिबेला पनि रामचन्द्रलाई अन्तिमसम्म सहयोग गर्ने प्रकाशमान एक्लो नेता थिए । सिंहकै जोडबलमा १४०० मत प्राप्त गरेका रामचन्द्र पौडेलले स्वयम् स्वीकार्छन् । खुमबहादुर खड्का, केबी गुरुङ, गोविन्दराज जोशी र देउवा टिम पूरै लागेपछि महामन्त्रीमा शशांक बल्ल निर्वाचित भए । आफ्नै टिमका महामन्त्री अर्जुननरसिंह केसीलाई अन्तर्घात गर्न सक्ने देउवाले खड्का, गुरुङ र जोशीलाई समेत धोका दिन भ्याए ।

बीबीसीसँगको एक अन्तर्वार्तामा खुमबहादुर खड्का, विभिन्न मिडियामा गोविन्दराज जोशी र कुलबहादुर गुरुङले केन्द्रीय बैठकमै भूलवश देउवालाई दिएको समर्थन मैले फिर्ता लिन्छु भनेपछि देउवाको चरित्र उदाङ्गो भएको थियो ।

कांग्रेसको इतिहास हेर्दा गणेशमान र कोइराला परिवार एक हुँदा पार्टी संगठन र लोकतन्त्र सुदृढ भएको छ । तर उनीहरू बीचमा आपसी असमझदारी बढ्दा काङ्ग्रेसले क्षति व्यहोर्नु परेको इतिहास पनि साक्षी छ

काङ्ग्रेस महिला नेतृ नोना पुत्र डा. शेखर कोइरालालाई गिरिजाबाबुले २०६१ सालदेखि सक्रिय राजनीतिमा ल्याएका हुन् । नेता कोइराला २०७४ सालको आमनिर्वाचनमा गृह जिल्ला मोरङको क्षेत्र न. ६ बाट झिनो मतले पराजित भए । गएको तीन वर्षदेखि निरन्तर देश दौडाहामा रहेका नेता कोइरालाले आसन्न महाधिवेशनमा आफूलाई सभापति पदको उम्मेदवारमा समेत प्रस्तुत गरेका छन् । पार्टीभित्र उनको कनिष्ठ वरीयताकै कारण कोइरालालाई पार्टीको मूल नेतृत्वमा स्वीकार्न धेरै केन्द्रीय नेताहरू असहज महसूस गर्दैछन् ।

आसन्न महाधिवेशनमा उनी पार्टी नेतृत्वको ‘सेकेन्ड मेन’मा समझदारी बनेर मात्रै १५औंमा उनी सभापति पदको बलियो उम्मेदवार बन्न सक्ने धेरैको बुझाइ छ । गिरिजा पुत्री सुजाता कोइराला सुष्मा कोइराला मेमोरियल ट्रष्टबाट समाजसेवामा लाग्दै गर्दा राजनीतिमा होमिएकी हुन् । र २०६३ सालको अन्तरिम सरकारमा उनी मन्त्री समेत बनिन् । पछि माधव नेपाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी छन् ।

जीपी कोइराला फाउन्डेसनकी केन्द्रीय अध्यक्ष नेत्रृ कोइरालाले देशैभर राम्रो सञ्जाल समेत बनाएकी छिन् । अघिल्लो महाधिवेशनताका क्यान्सर रोगकी बिरामी रहकी उनी अहिले पूर्ण स्वस्थ छिन् । अहिलेको गठबन्धन सरकारमा मन्त्री बन्ने पक्कापक्की भएकोमा वरिष्ठ नेता पौडेल र महामन्त्री शशांकले नै अन्तिममा आएर उनलाई धोका दिएको आरोप पनि छ ।

गणेशमान पुत्र प्रकाशमान सिंह २०३६ सालको जनमतसंग्रहदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका हुन् । नेविसंघको जिल्ला अध्यक्ष, पार्टीको जिल्ला सभापति, केन्द्रीय सदस्य र निर्वाचित महामन्त्री भैसकेका उनी पौडेल टिमका वरिष्ठ नेता नै हुन् । ४२ वर्ष लामो र सक्रिय राजनीतिक जीवनमा उनको पदीय जिम्मेवारीमा खोट लगाउने ठाउँ भेटिंदैन । पारिवारिक नातामा मंगलादेवी र गणेशमानका छोरा हुन् प्रकाशमान । बुवा आमाको कृपा र आशीर्वादले भन्दा पनि आफ्नै कर्मले राजनीतिमा सक्रिय छु भन्छन् उनी ।

कांग्रेसको इतिहास हेर्दा गणेशमान र कोइराला परिवार एक हुँदा पार्टी संगठन र लोकतन्त्र सुदृढ भएको छ । तर उनीहरू बीचमा आपसी असमझदारी बढ्दा काङ्ग्रेसले क्षति व्यहोर्नु परेको इतिहास पनि साक्षी छ । लथालिङ्ग पार्टी संगठन सम्हाल्न, अकर्मण्य पार्टी नेतृत्वलाई विस्थापित गर्न र डिप्रेसनमा जान लागेका पार्टी कार्यकर्तालाई सान्त्वना दिनकै निम्ति पनि सिंह र कोइराला सदस्य एक हुनैपर्छ भन्छन् धेरै केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू । अन्योलमा रहेको काङ्ग्रेस पार्टीको अस्तित्व बचाउन पनि सिंह र कोइरालाको समीकरणभित्र पार्टीका अन्य बौद्धिक नेता र युवा समूहको टिम पनि जोडिनै पर्छ ।

पार्टीभित्रको वरिष्ठता, उत्कृष्ट कार्यानुभव, प्रष्ट राजनैतिक अडानलाई मापन गरेर हेर्दा पनि प्रकाशमानकै नेतृत्व नै धेरैलाई स्वीकार्य पनि हुन सक्छ । २०३९ सालमा बीपीको निधनपछि गणेशमान सिंह नेपाली कांग्रेसको सर्वमान्य नेता बने । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनासँगै राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रस्ताव गरेको प्रधानमन्त्री पद सिंहले कृष्णप्रसाद भट्टराईको पोल्टामा छोडिदिए । आज ३२ वर्षपछि सिंह परिवारको कान्छा सुपुत्र प्रकाशमान सिंह आसन्न महाधिवेशनमा सभापति पदको स्वाभाविक उम्मेदवारको अग्रस्थानमा छन् ।

समान न्यायको सिद्धान्त अनुरूप पनि यसपटक नेता सिंहमाथि पार्टी प्रतिनिधिले न्याय गरून् । लामो समयसम्म काङ्ग्रेसमा राजनीति गरेका तथा काङ्ग्रेसको इतिहास बुझेकाहरूको भावना यस्तै देखिन्छ ।

नेविसंघ जिल्ला अध्यक्ष बनिसकेका नेता सिंह ३५ वर्षको उमेरमै काठमाडौं जिल्ला सभापतिमा निर्वाचित भएर पार्टी संगठनमा काम गरे । दशौं महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिले काठमाडौं सहित १६ जिल्ला कमिटी भङ्ग गर्‍यो । केन्द्रीय नेतृत्वको गलत रवैयाको विरुद्धमा प्रकाशमान अग्रस्थानमा प्रष्ट रूपमै विरोधमा उत्रिए । नेतृत्व निकट केही नेताले उनलाई केन्द्रीय राजनीतिमा आउन चुनौती दिए । आफ्नो जनमतको औकात देखाइदिन प्रकाशमानले केन्द्रीय सदस्यमा उम्मेदवारी नै दिए ।

४५ वर्षको उमेरमै केन्द्रीय सदस्यमा निर्वाचित उनको मत परिणाम रामचन्द्र र शैलजाकै हाराहारीमा थियो । १२औं महाधिवेशनमा संस्थापनतर्फको सभापति उम्मेदवारमा सुशीलकै नाममा सहमति बन्यो । सुशील नेतृत्व टिममा निर्वाचित महामन्त्रीमा शुरुमा कृष्ण सिटौलाको नाम चर्चामा ल्याइयो । तर पार्टीभित्र सिटौलाको कमजोर जनाधार देखिएपछि उनी रिङबाटै बाहिरिनुपर्‍यो । सभापतिमा कोइरालालाई जिताउन बलियो महामन्त्रीको उम्मेदवारमा बल्ल प्रकाशमानकै आवश्यकता देखियो । तर पनि प्रकाशमान हार्छन् भनेर टीकाटिप्पणी गर्नेहरूको पनि कमि थिएन त्यतिबेला पार्टीभित्र । तर अन्तिम चुनावी मतपरिणाममा सभापति कोइरालाले १६४८ मत ल्याउँदा महामन्त्री प्रकाशमानले १६५६ अर्थात् आठ मत बढी नै प्राप्त गरे । सुशीलको भन्दा प्रकाशमानको बढी मत कसरी आयो ? यो कुरा कोइराला परिवारभित्र ठूलै चर्चाको विषय बनेको थियो त्यतिबेला ।

टिमलाई बलियो बनाउन सहयोग गर्ने अर्का नेता अर्जुननरसिंह केसीलाई महामन्त्रीमा मनोनीत गराउन प्रकाशमान सिंहले कोइरालासँग ठूलै जोडबल गरेका थिए तर सकेनन् ।

सभापति कोइरालालाई आफ्नो ग्रिपमा पारेर महामन्त्री बन्न सफल कुटिल खेलाडी नेता कृष्ण सिटौलाले तीन वर्षसम्म उल्टै निर्वाचित महामन्त्रीलाई बाहिरै राख्न पनि सफल भए । कोइराला निकट महामन्त्री सिटौलाको च्याखे र शकुनि चरित्रबाट सभापति सुशील पछि आफैं तर्सिन थाले । दोस्रो संविधानसभा चुनावको पूर्वसन्ध्यामा बल्ल प्रकाशमान सिंहलाई सम्झिए सुशीलले ।

पार्टी हितकै निम्ति प्रकाशमानलाई फकाउन र फर्काउन सुशील आफैं चाक्सीवारी पुगे । २०७० को संविधानसभा चुनावपछि कांग्रेस संसदीय दलको नेतामा सभापति कोइरालासँग देउवा पनि प्रतिस्पर्धामा आए । तय भैसकेको दल नेताको निर्वाचन मिति पछि सार्न जिद्दी देउवाले सरल र सीधा सुशीललाई दबाव दिए । जब सुशीललाई अप्ठ्यारो पर्‍यो सहयोगकै लागि उनले प्रकाशमानलाई नै गुहारे । प्रकाशमान सिंहको राजनीतिक अडानका कारण मिति परिवर्तन भएन, देउवाले सांसद चलखेल गर्नै पाएनन् । काङ्ग्रेस संसदीय दल नेतामा निर्वाचित भएका सुशील प्रधानमन्त्रीमा नियुक्त भए ।

कोइरालालाई साथ दिएकै कारण त्यो बेलादेखि अहिलेसम्म पनि प्रकाशमान सिंहलाई वर्गशत्रु जस्तै ठान्छन् शेरबहादुर देउवा । सुशीलको देहावसानपछि प्रकाशमान सिंहको नेतृत्व स्वीकार्न कोइराला सदस्यले यसपटक राजनीतिक इमानदारी देखाउनुको अर्को विकल्प नहुन सक्छ । प्रकाशमान स्वाभिमानको राजनीति र राजनीतिक अडानमा कहिल्यै विचलित भएनन् । १२औं महाधिवेशनमा सभापतिमा पराजित देउवालाई ३४० मतले पछाडि पारेका प्रकाशमान सिंह २०५७ सालदेखि २०७२ सालसम्मको मतपरिणाम हेर्दा पनि पार्टीभित्रको उनको जनमत पनि अब्बल नै देखिन्छ ।

(लामिछाने नेपाली कांग्रेससँग सम्बद्ध छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?