
ताइवानलाई यो सम्मेलनमा चीनको खोइरो खन्न बोलाइएको कुरा चीनलाई पनि र, ताइवानलाई बोलाउने पक्षलाई पनि थाहा छ । केही कालअघि चीनको खोइरो खन्न तिब्बती धर्मगुरु दलाई लामालाई डाकिन्थ्यो । शायद अब उनको बोली बिक्न छाडिसक्यो ।
डोनाल्ड ट्रम्पको राष्ट्रपतिकालमा अमेरिकी राजनीतिक वृत्तमा एउटा शब्द खूबै चर्चामा रह्यो, अझै उस्तै चर्चित छ – स्नोफ्लेक । नेपालीमा यसको शाब्दिक अर्थ हिउँको मुलायम कण हुन आउँछ । यसको राजनीतिक अर्थ भने केही भिन्न छ ।
भावनात्मक रुपमा ‘ओभर सेन्सेटिभ’ लिवरलहरूलाई हेप्न वा निचो देखाउन अमेरिकी दक्षिणपन्थीहरूले स्नोफ्लेक शब्दको प्रयोग गर्छन् । वामपन्थी लिवरलहरूले भावनात्मक रुपमा अत्यन्त कमजोर व्यहोरा देखाउने र सानो अफेन्स वा अपमानलाई पनि सहन गर्न नसक्ने अनि के के न भयो भने जस्तो गरी ठूलो प्रतिक्रिया जताइहाल्ने ट्रम्प समर्थक दक्षिणपन्थीहरू ठान्छन्- त्यसैले स्नोफ्लेक ।
एउटा उदाहरण- राष्ट्रपति बनेपछि ट्रम्पको विरोध र हिलारी क्लिन्टनको समर्थनमा लिवरल फेमिनिष्टहरू पिंक पुसीह्याट (गुलाबी रंगको ऊनीटोपी) लगाएर प्रदर्शनमा उत्रेका थिए । के निहुँमा ट्रम्पको विरोध वा क्लिन्टनको समर्थन गरिएको हो वा प्रदर्शनबाट के औचित्य पुष्टि गर्न खोजिएको हो वा प्रदर्शनबाट के परिणामको अपेक्षा गरिएको थियो, शायदै कोही प्रदर्शनकारीलाई थाहा थियो । उनीहरू त्यहाँ बस् अमेरिकी शैलीको लोकतान्त्रिक बाटोबाट ट्रम्पले जितेको कुण्ठा र आक्रोश पोख्न सडकमा उत्रेका थिए । उद्देश्यविहीन, औचित्यविहीन, अनि अकारण ।
अहिले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक वृत्तमा एउटा ‘वामपन्थी’ शक्तिले पनि त्यस्तै स्नोफ्लेक हर्कत देखाइरहेको छ- चीन । ‘गौरवशाली’ चिनियाँ संस्थापनलाई अमेरिकी राजनीतिक वृत्तमा अत्यन्त कमजोर र नाममात्रको एन्टाई ट्रम्प लिवरलहरूको झुण्डसँग तुलना गर्दा चिनियाँ कम्युनिष्ट पार्टीकै अपमान हुन आउँछ, तुलना नगरौं । तैपनि यी दुई शक्तिले देखाएको व्यहोरा भने झण्डै उस्तै उस्तै छ- भावनात्मक रुपमा कमजोर, ओभरसेन्सेटिभ, उद्देश्य र औचित्यविहीन अनि अकारण ।
केही अघि वर्ल्ड रेस्लिङ फेडेरेसन डब्लूडब्लूईका ‘सुपरस्टार’ जोन सिनाले चीनमा खोई कुनचाहिं फ्लिम (शायद फाष्ट एण्ड फ्युरियस ९ हुनुपर्छ, तैपनि म निश्चित छैन) प्रमोट गर्दा ताइवानलाई ‘देश’ भनेर मात्र के पुकारेका थिए, चिनियाँ संस्थापनले उनलाई आफ्नो भनाइ फिर्ता लिन बाध्य बनायो । उनले चिनियाँ भाषामा ‘ताइवानलाई देश भनेकोमा माफी मागेको’ भिडियो निकाल्न बाध्य भए । भाषा नबुझे पनि जोन सिनाले माफी मागेको भिडियो हेर्दा जोकोहीलाई पनि लाग्छ कि कसैले कन्पटमा बन्दूक राखेर उनलाई ती शब्दहरू उच्चारण गर्न बाध्य बनाइरहेको छ ।
त्यसअघि साउथ पार्क भन्ने अमेरिकी कार्टुनले पनि चिनियाँ कम्युनिष्ट पार्टीको हो कि राष्ट्रपति सी जिन पिङको सानो मजाक उडाएको थियो । त्यो पनि चीनमा प्रतिबन्धमा पर्यो ।
२०१९ अक्टोबर महीनामा अमेरिकाको नेशनल बास्केटबल एशोसिएसन एनबीएमा आबद्ध टिम हुस्टन रकेट्सका म्यानेजर डार्यल मोरेले हङकङमा त्यसबेला उत्कर्षमा रहेको लोकतन्त्रवादी प्रदर्शनको समर्थनमा एउटा ट्विट मात्र के सार्वजनिक गरेका थिए, चीनको टेलिभिजन सीसीटीभीले रकेट्सका खेलहरू देखाउन नै बन्देज लगाइदियो ।
यी त मनोरञ्जन र खेलकुदका क्षेत्रमा चीनले देखाएका केही सामान्य स्नोफ्लेकरी भए । जसले विश्व कूटनीतिमा खासै ठूलो अर्थ नराख्लान् । तर, मनोरञ्जन र खेलकुदमा मात्रै होइन अन्तर्राष्ट्रिय मामिला र सम्बन्धका विषयमा चीन औधी ठूलो स्नोफ्लेक भएर पेश हुने गरेको छ ।
दुई ताजा उदाहरणहरूको चर्चा गरौं ।
उदाहरण एक- अहिले भर्खरै अमेरिकी राष्ट्रपति जो बाइडेनले आउने फेब्रुअरी महीनामा चीनमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बाइकट गर्ने घोषणा गरेका छन्, जसलाई चीनले मन पराएको छैन । अमेरिकासँगै क्यानाडा, बेलायत, अष्ट्रेलिया र अरु अमेरिकी साझेदारहरूले पनि ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भनेका छन् । चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ताले उक्त ओलम्पिकमा अमेरिकी कूटनीतिक वृत्तलाई निम्तो नै नदिएको भन्दै पछिल्लो कदमको अमेरिकाले नतिजा भोग्नुपर्ने वा यस्तै केही बयान दिएका छन् । अमेरिकाका साझेदार अरु देशहरूप्रति पनि चिनियाँ बयानबाजी नरम छैनन् ।
उदाहरण दुई- हालसालै अमेरिकाले ताइवानलाई ‘लोकतन्त्र’ का विषयमा आयोजित एउटा सम्मेलनमा बोलाएपछि पनि चीनबाट यस्तै शैलीको बयान आयो । चिनियाँ विदेश मन्त्रालयका अनुसार लोकतन्त्र कुनै देशको पेवा होइन र यस्तो किसिमको सम्मेलनले खासै अर्थ राख्दैन । बयानबाजीमै चीनले अमेरिकालाई ‘आगोसँग खेल्दा हात जल्नसक्ने’ चेतावनी दिन भने बिर्सेन ।
अहिले अमेरिका र चीन एकदम विपरीत ध्रुवमा छन् । एकातिर चीन सैनिक ताकत देखाएर ताइवानमाथि खनिन तयार भएर बसेको छ भने अर्कोतिर अफगानिस्तानबाट सेना फिर्ता बोलाएर अमेरिकाले ‘अनन्त युद्ध’ (फरेभर वार) बाट रिट्रिट हुन खोजेको सन्देश दिएको छ ।
अबका केही वर्ष वा बढीमा एक दुई दशकमा चीनको प्रभावलाई नरोकेको खण्डमा विश्व रंगमञ्चमा आफ्नो सर्वेसर्वा हैसियत गुम्नेतर्फ अमेरिका वा भनौं अमेरिकी सैनिक, गुप्तचर र कूटनीतिक संस्थापन सतर्क छ तर, किचलै किचलोले भरिएको वर्तमान अमेरिकी आन्तरिक राजनीति नियाल्दा यसतर्फ अमेरिकाका डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीलाई खासै बाल नभएको देखिन्छ ।
पछिल्ला केही वर्षयता यी दुई देशको सम्बन्ध एउटाले अर्कोलाई चिढ्याउने काम गर्ने र अर्कोले तीललाई पहाड बनाएर त्यसको आवश्यकता भन्दा ठूलो प्रतिक्रिया दिनेमा केन्द्रित छ ।
ट्रम्पको पालामा अमेरिका चीनप्रति आक्रामक रुपमा नै प्रस्तुत भयो । व्यापार युद्ध, हुवावेई काण्ड इत्यादि यसका उदाहरण हुन् । द्विपक्षीय सम्बन्ध १९७९ मा राष्ट्रपति जिम्मी कार्टरले जनगणतन्त्र चीनसँग औपचारिक सम्बन्ध स्थापना गरेयताकै न्यून विन्दुमा झर्न पुग्यो ।
त्यसपछि चीनको उहान शहरबाट कोरोना भाइरसको प्रकोप शुरु भयो । ट्रम्पले यसलाई तत्कालै चीनविरुद्ध हतियार बनाइहाले । अझै पनि रिपब्लिकनहरूले कोरोना भाइरसलाई चीनका विरुद्ध प्रयोग गर्ने हतियार बनाइरहेका छन् । अन्तर्राष्ट्रिय मञ्च र सभाहरूमा चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको सम्बन्धमा अनुसन्धान हुनुपर्ने किसिमका वक्तव्यबाजीले चीनलाई रक्षात्मक बनाइदिएको छ ।
अहिले जो बाइडनले ट्रम्पको चीन नीतिलाई एकहदसम्म कायमै राखेका छन् । बाइडन प्रशासनबाट चीनलाई चिढ्याउने बयान र कमहरू रोकिएका छैनन् । ताइवानलाई ‘लोकतान्त्रिक सम्मेलन’ मा डाक्ने र ओलम्पिकको कूटनीतिक बाइकट गर्ने कदम सानो उदाहरण मात्रै हुन् ।
ताइवान, तिब्बत, सिन्जियाङ, हङकङ, दक्षिण चीन सागर जस्ता भूभाग र समुद्र चीनका लागि एकदमै संवेदनशील छन् । चीनलाई गिराउन चाहने देशहरूले यिनै भूभाग र समुद्रलाई प्रयोग गर्दै आइरहेका छन् । त्यसैको एउटा सिलसिला हो– अमेरिकाले ताइवानलाई ‘लोकतान्त्रिक’ सम्मेलनमा बोलाउनु । ताइवानलाई सम्मेलनमा बोलाउनुको उद्देश्य चीनलाई चिढ्याउनुबाहेक अर्को छैन । चीनले बुझेको छ कि छैन थाहा छैन तर चीनको बयानहरू सुन्दा चीन आवश्यकताभन्दा धेरै चिढिएको प्रतीत हुन्छ ।
शुरुमा उक्त लोकतान्त्रिक सम्मेलनबारे केही भनौं । डिसेम्बर ९ र १० का दिन बाइडेनले आतिथ्य गर्ने सम्मेलनमा ११० देशलाई निम्तो दिइएको छ । जसमा त्यस्ता देशहरू पनि सहभागी छन्, जो लोकतन्त्र भन्न कति पनि लायक छैनन् । खासमा भन्दा अमेरिकी विदेश मन्त्रालयले आफ्ना पक्षका देशहरूलाई एकजुट बनाउन आयोजना गरेको सानो सम्मेलन हो । यसबाट खासै ठूलो नतिजाको अपेक्षा पनि गरिएको छैन ।
ताइवानलाई यो सम्मेलनमा चीनको खोइरो खन्न बोलाइएको कुरा चीनलाई पनि थाहा छ, ताइवानलाई सम्मेलनमा बोलाउने पक्षलाई पनि थाहा छ । केही कालअघि चीनको खोइरो खन्न तिब्बती धर्मगुरु दलाई लामालाई डाकिन्थ्यो । शायद अब उनको बोली बिक्न छाडिसक्यो ।
अब चीनको खोइरो खन्ने प्रयोजनमा ताइवानको प्रयोग हुनु अनपेक्षित पनि छैन । हङकङमा लोकतन्त्रवादी प्रदर्शनका बेला प्रदर्शनकारी नेताहरू जोशुवा वङ र डेनिस हो अमेरिकी कङ्ग्रेसमा बयान दिन पुगेकै हुन् ।
हरेक देशमा लोकतन्त्रका आ–आफ्नै परिभाषा छन् । विपक्षीले भन्दा कम मत ल्याए पनि कोही उम्मेदवार राष्ट्रपति पदमा विजयी हुने शैलीको अमेरिकी व्यवस्था होस् वा नाममा जुचे समाजवादी व्यवस्था रहे पनि व्यवहारमा किम वंशी शासन रहेको ‘लोकतान्त्रिक’ जनगणतन्त्र (उत्तर) कोरिया सबैले आफूलाई लोकतान्त्रिक नै भन्ने गरेका छन् ।
अझ हजारौं अबोध बालसेना र दास श्रमिकले कोबाल्ट खानीमा रगत पसिना बगाएर अर्थतन्त्र उभ्याएको अफ्रिकी मुलुक ‘लोकतान्त्रिक’ गणतन्त्र कङ्गो पनि नाम मात्रै सही कम लोकतान्त्रिक छैन ।
अझ हास्यास्पद के छ भने साम्यवादी राजनीतिक सिद्धान्त अनुसार सर्वहारावर्गको सर्वसत्तावाद मान्ने चीनले समेत आफूलाई लोकतन्त्रवादी भन्नु परिरहेको छ ।
लेजेण्डरी चिनियाँ युद्धशिल्पी सन जुको युद्धकलाको सार भनौं– ‘जसले बढ्ता छलकपट गर्छ उसैले युद्ध जित्छ । कमजोर भए दुश्मनलाई आफू मजबूत भएको देखाउनु, मजबूत भए दुश्मनलाई आफू कमजोर भएको देखाउनु’ । सन जुको युद्धकलामा विश्वास गर्ने हो भने अमेरिकामाथि आवश्यकताभन्दा ठूलो र चर्को बयानबाजी गरेर चीन कतै आफूलाई पेपर टाइगरका रुपमा प्रस्तुत त गरिरहेको छैन ? खाली भाँडोले चर्को आवाज निकाल्छ भने जस्तो !
अमेरिका वा उसका साझेदार देशहरूले एकथोक भन्छन्, जसको वास्तविक महत्व गौण हुन्छ । जब चीनले तीललाई पहाड बनाएर त्यसलाई प्रस्तुत गर्छ तब अमेरिका र ऊ नजिकका मुलुकले भनेका गौण कुरा पनि के के न हो भन्ने लाग्न थाल्छ ।
भर्खरै चीनले अमेरिकाले रोक्न नसक्ने किसिमको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यसबारे चीनले खुलेर केही भनिसकेको छैन । जवाफ भनेको यसरी नै चर्को शब्दका बयानबाजी नगरी दिने हो । चर्को शब्दले धेरै हल्ला र ध्वनि प्रदूषण मात्रै हुन्छ । हाँसो लाग्छ, मान्छेले पत्याउन्नन् ।
१९७६ को मोन्ट्रियल ओलम्पिकमा रंगभेदी दक्षिण अफ्रिकी शासनको विरोधमा २९ देशहरू (प्रायः अफ्रिकी) ले गरेजस्तो वा १९८० को मस्को ओलम्पिकमा अमेरिकी नेतृत्वमा ६६ देशले गरेजस्तो अथवा त्यसपछिको १९८४ मा लस एन्जल्समा आयोजित ओलम्पिकमा सोभियत संघको नेतृत्वमा १४ देशहरूले गरेजस्तो यतिबेला अमेरिकाले ओलम्पिकमा आफ्ना खेलाडीहरूलाई नपठाउने भनेकै छैन । खाली कूटनीतिक प्रतिनिधिमण्डललाई नपठाउने मात्रै भनेको हो । यसलाई चीनले ठूलो विषय बनाएर ‘मूल्य चुकाउनुपर्ने’ वा यस्तै खालको बयान दिनुपर्ने जरुरी नै थिएन ।
साँच्चै भन्दा कुनै खेलकुद प्रतियोगिता वा ओलम्पिकमा कूटनीतिक लस्करको उपस्थिति वा अनुपस्थितिले सांकेतिक महत्व मात्रै राख्छ । उदाहरणका लागि दक्षिण कोरियाको प्योङ्चाङ शहरमा आयोजित अघिल्लो शीतकालीन ओलम्पिकमा सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङ सम्मिलित उच्चस्तरीय उत्तर कोरियाली प्रतिनिधिमण्डलको उपस्थितिले संसारलाई नै छक्क पारिदिएको थियो । तर, व्यवहारमा भने त्यसले कुनै ठोस उपलब्धि हासिल गर्न सकेन ।
त्यो उपस्थितिका कारण न त कोरियाली प्रायद्वीप एकीकरण नै भयो न त १९५० यता जारी कोरियाली युद्ध अन्त्य गर्ने विषयमा शान्ति सम्झौतामै हस्ताक्षार भयो ।
अझ अमेरिकी कूटनीतिक मण्डललाई ओलम्पिकमा नडाकिएको चीन आफैंले स्पष्ट पारेको छ । अब डाक्दै नडाकिएको ‘पाहुना’ ले कुनै बिहेमा आउन्न भन्यो भने त्यसलाई ‘तैंले मूल्य चुकाउलास्’ वा ‘परिणाम भोग्लास्’ भन्नु कतिको जायज छ ? योभन्दा ठूलो आइरोनी के हुन्छ ?
चीनले भएभरका अत्याधुनिक प्रविधि प्रयोग गरेर अहिलेसम्मकै उत्कृष्ट ओलम्पिकको आयोजना गरोस्, अहिलेसम्म गरेका यतिका ठूलो आर्थिक प्रगतिलाई ओलम्पिक मार्फत प्रस्तुत गरिदेओस्, संसार छक्क परोस्, अमेरिकी खेलाडीले भन्दा धेरै स्वर्ण पदकहरू जितोस् । चर्को बयानले भन्दा व्यवहारले ठूलो बोली बोल्छ ।
भारतले पाकिस्तानमाथि आतंकवादलाई प्रोत्साहन गरेको नियमितै रुपमा आरोप लगाउने गरेको छ । पाकिस्तानलाई भारतीय आरोपले खासै फरक पार्ने गरेको छैन ।
उत्तर कोरियाले दक्षिण कोरियामाथि अमेरिकाको कठपुतली बनेको भनेर बारम्बार–बारम्बार उछितो काढिरहन्छ । दक्षिण कोरियालाई के–पप बनाउँदै अनि आर्थिक विकास गर्दै उत्तर कोरियाको जवाफ दिने फुर्सद छैन ।
त्यस्तै, क्युबा र अरु वामपन्थी सरकार रहेका ल्याटिन अमेरिकी देशहरूले अमेरिकामाथि साम्राज्यवादी भएको आरोप लगाउने गरेका छन् । अब अमेरिकाले सबैको जवाफ दिन कति साध्ये चल्छ, कति सम्भव छ, कति सुहाउँछ ? जस्तोसुकै आलोचना भए पनि अमेरिकाले ती देशहरूमाथि नाकाबन्दी र प्रतिबन्ध लगाउन छाडेको छैन । उखान छ नि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।
लोकतन्त्रमा विश्वास गर्ने मैले यहाँ चिनियाँ स्नोफ्लेकरीलाई मूलधारका (पश्चिमा) सञ्चारमाध्यमले सेन्सर गर्नुपर्छ वा प्रसारण/प्रकाशन गर्नुहुन्न भन्दैन । अथवा चिनियाँ समाचारमा चिनियाँ शैलीको सेन्सर लगाएर यसको समाधान आउँछ भन्ने पनि मलाई लाग्दैन ।
सीजिटिएन, सिन्ह्वा र ग्लोबलटाइम्स जस्ता चिनियाँ समाचार संस्थाहरू साइबर जगतमा आफ्नो ठाउँमा उत्तिकै प्रभावशाली छन् । चिनियाँ स्नोफ्लेकरी समाचारको बजारमाखूब मज्जाले बिक्छन् । कुनै पश्चिमा सञ्चारमाध्यमले चिनियाँ समाचारलाई बन्देज लगाइहाल्न सम्भव पनि नहोला ।
लिवरल डेमोक्रेसीमा आधारित अमेरिका नेतृत्वको युनिपोलर एकध्रुवीय विश्वमा अहिले केही नभए पनि सामाजिक सञ्जालमा आम सर्वसाधारण र मनोरञ्जन र सिर्जनाका क्षेत्रमा सर्जकहरू खुला भएर जो कसैको पनि आलोचना गर्न खुला छन् । फेसबुक, युट्युब जस्ता सञ्जालले लगाम लगाउने प्रयास गरे पनि अल्गोरिदम नै प्रयोग गरेर कसैको बोलीमा लगाम लगाउन व्यावहारिक रुपमा सम्भव पनि छैन ।
ट्वीटरमा ‘…क जो बाइडन’ वा ‘बोजो इज ए क्लाउन’ जस्ता ट्रेण्ड चलिरहन्छन् । चीनका सामाजिक सञ्जाल वेइबो वा विच्याटमा यस किसिमका ट्रेण्ड चल्ने कल्पनासम्म गर्न सकिन्न । चीनको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको सीमा एकदमै साँघुरो छ ।
अझ ट्वीटर जस्ता सामाजिक सञ्जालमा झाओ लिजिया, हुवा चुन्विङ, हु सिजिन, देङ सिजुङ जस्ता चिनियाँ कूटनीतिज्ञ र पत्रकारहरू अमेरिका र पश्चिमा मुलुकहरू विरुद्ध शूरो भएर प्रस्तुत हुने गरेका छन् ।
अधिनायकवादी प्रवृत्ति र शासनव्यवस्था रहेको चीनले आलोचनात्मक स्वर मन नपराउनु स्वाभाविकै हो । चीनले सरकारविरोधी आवाजहरू आन्तरिक रुपमा दबाउनु नौलो कुरा होइन । धेरै आलोचकहरू जेलको हावा खाइरहेका छन् । हङकङका पत्रिका छाप्ने उद्यमी जिम्मी लाईलाई चीनले सरकारको आलोचना गरेको भन्दै खोइ कुन चाहिं कानून लगाएर जेल होलेको समाचार भर्खरै आएको छ । आन्तरिक रुपमा आलोचना सहन नसक्ने चीनले विश्वका अरु देशहरूले पनि आफ्नो आलोचना नगरोस् भन्ने चाहन्छ । जुन सम्भव छैन । चीन भित्र प्रो चिनियाँ कम्युनिष्ट पार्टीको शासन चल्छ, आलोचकलाई जेल हाल्न गाह्रो हुन्न । अब अन्तर्राष्ट्रिय व्यवस्थामा त जो कसैले पनि कसैको आलोचना गरिहाल्छन् नि ! सबैको बोली बन्द गर्दै वा आलोचना गर्नेलाई जवाफ दिंदै हिंड्न साध्ये चल्छ ?
हु जिन्ताओ र सी जिन्पिङको राष्ट्रपतिकालकै पहिला केही वर्षसम्म पनि अन्तर्राष्ट्रियस्तरमा एक किसिमको सकारात्मक छवि थियो । चिनियाँ कूटनीतिज्ञ भन्नेबित्तिकै मान्छेको दिमागमा शान्त, गम्भीर, धेरै सुन्ने कम बोल्ने, बोलीको अर्थ निकाल्न राम्रै विश्लेषण गर्नुपर्ने किसिमको छाप पर्थ्यो ।
अहिले चिनियाँ डिप्लोमेटिक कम्युनिकेशनको दिशा परिवर्तन भए जस्तो छ । अन्तर्राष्ट्रिय स्तरमा उल्फ वारियर डिप्लोमेशी भनेर नयाँ किसिमको चिनियाँ कूटनीति देख्न पाइन्छ – आक्रामक, प्याच्च जवाफ फर्काइहाल्ने अनि अत्यन्त शूरो किसिमको । ‘रेम्बो’ शैलीको चिनियाँ चलचित्र श्रृङ्खला ‘उल्फ वारियर’ लाई रेफर गरेर नाम दिइएको नयाँ किसिमको चिनियाँ कूटनीतिक शैली अन्तर्राष्ट्रिय भन्दा पनि आन्तरिक जमातको खपतका लागि भएको अन्तर्राष्ट्रिय कूटनीतिशास्त्रीहरू बताउँछन् ।
ब्लूम्बर्गका रक्षानीति, गुप्तचर एवम् कूटनीतिक संवाददाता तथा ‘चाइनाज सिभिलियन आर्मीः द मेकिङ अफ उल्फ वारियर डिप्लोमेशी’ का लेखक पिटर मार्टिन पश्चिमाहरूको हेपाइको प्रतिक्रियास्वरुप चिनियाँ कूटनीतिज्ञहरूले उल्फ वारियर डिप्लोमेशीको रणनीति अपनाएको बताउँछन् । मार्टिनले भनेअनुसार उल्फ वारियर डिप्लोमेशी चिनियाँ इतिहासमा पछिल्लो शताब्दीको ‘राष्ट्रिय अपमान’ सँग पनि जोडिएको छ । उदाहरणका लागि नान्जिङस्थित फ्रेन्च दूतावास अगाडि खेलिरहेका बेला त्यहाँका गार्डहरूले बालख वु जियानमिनमाथि कुकुर लगाइदिएका थिए । कालान्तरमा वु फ्रान्सका लागि चिनियाँ राजदूत बन्न पुगे । उल्फ वारियर कूटनीतिमा यस्तै किसिमका भावनाले पनि काम गरिरहेका छन् ।
उनका अनुसार यस किसिमको शूरो कूटनीतिक रणनीतिबाट अन्तर्राष्ट्रिय जमातमा नकारात्मक प्रभावबारे धेरै चिनियाँ कूटनीतिज्ञहरू जानकार छन् । तैपनि अन्तर्राष्ट्रिय जमात यस किसिमको कूटनीतिको उपभोक्ता नभएकोले यसतर्फ चिनियाँ कूटनीतिज्ञहरूलाई खासै मतलब लाग्दैन ।
जे जस्तो भए पनि चीन उदाउँदो शक्ति राष्ट्र हो । भविष्यमा चीन विश्व शक्ति बनेको खण्डमा चिनियाँ कूटनीतिज्ञले के भन्छन्, कस्तो भाषा वा शैली प्रयोग गर्छन्, त्यसले अरु केही नभए पनि विश्व जनसङ्ख्याको मानसपटलमा प्रभाव पार्छ । चर्को तर अप्रभावकारी, शूरो तर दिशाहीन अनि आक्रामक तर औचित्यहीन बयानबाजीबाट चीनले आन्तरिक जनसङ्ख्यालाई ‘देख्यौ ? हामी पनि विश्वलाई थर्काउने भयौं ।’ भन्ने बाटो त देला तर यस्ता किसिमका बयानलाई चीन बाहिरका मान्छेहरूले हाँसोमा उडाइदिनेछन् ।
प्रतिक्रिया 4