
२ पुस, जनकपुरधाम। जनकपुरधाम उप-महानगरपालिकाका वडा अध्यक्षहरुले मेयरले आफूहरुमाथि आक्रमण गराउन खोजेको आरोप लगाएका छन् ।
वडास्तरीय योजना सञ्चालनमा ध्यान नदिएको, फोहोर सफा नभइरहेको जस्ता समस्या लिएर मेयरसँग शुक्रबार भेट्न गएका वडा अध्यक्षहरुले आफूहरुमाथि आक्रमण गराउन बाहिरका मानिसहरु तयारी अवस्थामा राखिएको बताएका छन् ।
‘हामीलाई ११ बजे भेट्न मेयर लालकिशोर साहले नै समय दिएका थिए’ वडा-७ का अध्यक्ष जानकीराम साहले भने, ‘तर हामी मेयरको कार्यकक्ष जाँदा बाहिरका ५० जनालाई बसाइएको रहेछ । आफूहरुले कुरा राख्न खोज्दा ती बाहिरका व्यक्तिहरुले बोल्नै दिएनन् ।’
आफूहरुलाई कुटपिट गर्ने मेयरले योजना बनाएको आरोप लगाउँदै वडाध्यक्ष साहले आफूहरु शान्त नहुँदा अप्रिय घट्ना हुन सक्ने बताए ।
मेयरले बाहिरका व्यक्ति बोलाएर राखेका व्यक्तिबीच हो हल्ला भएपछि कुनै अप्रिय घट्ना हुन नदिन अहिले जनकपुरधाम उप-महानगरपालिकामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि नगरको सरसफाइ नगरेको भन्दै वडाध्यक्षहरुले मेयर शाहको घर अगाडि फोहोर फालेका थिए । त्यसको केही दिनपछि मेयरको कार्यकक्षमा ताला समेत लगाएर धर्नामा बसेका थिए ।
प्रतिक्रिया 4