
२० माघ, काठमाडौं । गायिका बेनिशा पौडेलको स्वरमा केही गीत सफल छन् । उनले गाएका ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’ लगायतका गीत चर्चित छन् । दर्जन बढी गीत गाइसकेकी बेनिशालाई नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकारहरुले पनि पत्याएका छन् ।
तर बेनिशालाई भने आफूलाई स्रोता-दर्शकले अपेक्षा गरेअनुसार नचिनेको महसुस भइरहेको थियो । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सफल भइरहेका धेरै कलाकार कुनै न कुनै रियालिटी शोबाट उदाएका छन् । इन्दिरा जोशी, दीपक लिम्बु हुँदै पछिल्लो पुस्ताका रचना रिमाल, अस्मिता अधिकारी, निशान भट्टराई, प्रताप दास लगायतको क्रेज रियालिटी शोबाट नै बढेको हो । गायिका मेलिना मैनाली ‘द भ्वाइस अफ नेपाल ३’मा सहभागी भएपछि चर्चामा आएकी हुन् ।
बेनिशा पनि रियालिटी शोबाट दर्शकमाझ चिनिन सक्ने अपेक्षा गर्दै एपी वान टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल आइडल ४’मा सहभागी हुन पुगिन् । बेनिशा आफ्नै गायकीको बलमा उत्कृष्ट १२ सम्म पुग्न सफल भइन् । यसपछि पनि उनलाई दर्शकले माया गरेर उत्कृष्ट १० मा पुर्याएका छन् ।
दर्जन बढी गीत गाइसकेपछि पनि बेनिशालाई किन ‘नेपाल आइडल ४’मा सहभागी हुन आवश्यक भयो ? अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई जति दर्शक-स्रोताले याद गर्नुपर्ने हो, त्यो नभएको जस्तो लाग्यो । सोझो भाषामा भन्नुपर्दा म ठूलो जमातमा चिनिनको लागि नै नेपाल आइडलमा गएकी हुँ ।’
हुन त, बेनिशा ‘नेपाल आइडल ३’मा नै सहभागी हुने सोचमा थिइन् । तर त्यसबेला बिरामी भएपछि उनले अवसर गुमाइन् । यसपटक भने टाइटल नै जित्ने अठोटका साथ उनी अगाडि बढिरहेकी छन् ।
‘नेपाल आइडल ४’को उत्कृष्ट १२ सम्म आफ्नै गायकीको दममा पुगेकी बेनिशालाई अब भने दर्शकको भोटिङमा भर पर्नुपर्नेछ । उनी भन्छिन्, ‘यहाँ जो आउनुहुन्छ, उहाँहरुको चाहना आइडलको टाइटल जितौं भन्ने नै हुन्छ । मेरो पनि सपना यही नै हो । तर दर्शकको भोटका आधारमा अगाडि बढ्ने भएकाले पनि डर लागिरहेको छ । दर्शकहरुले माया दिनुभयो भने म पक्कै पनि अगाडि बढ्नेछु ।’
तपाईंलाई ‘नेपाल आइडल’को उपाधि नजित्दा केही फरक पर्छ र भन्ने प्रश्नमा उनले भनिन्, ‘म बाहिरिए भने पनि फरक त केही पनि पर्दैन । दर्शकले मेरो प्रस्तुति हेरेर भोट गर्नु भएन भने मैले गर्न सक्ने अरु केही हुँदैन । तर नेपाल आइडलमा आएर मैले केही न केही कुराहरु सिकेकी छु । नेपाल आइडलबाट बाहिर गएपछि मैले सिकेका कुरा मेरो गायकीमा ल्याउन सक्छु ।’
बेनिशाको नजरमा उत्कृष्ट १० मा पुग्ने सबै प्रतिस्पर्धी उपाधिका दाबेदार हुन् । बेनिशा आफैंलाई भने निर्णायकको अपेक्षा अनुसार आफू उत्रिन नसकेको भन्ने लागेको छ । उनी भन्छिन्, ‘स्टुडियोमा माइकको अगाडि गीत गाइरहेकी थिएँ । मसँग आम मानिसको अगाडि गीत गाएको अनुभव थिएन । यसैले लाइभमा ब्याण्डको तालमा गीत गाउँदा मैले निर्णायकहरुले अपेक्षा गरेअनुसार प्रस्तुति दिन नसकेको कुरा स्वीकार गर्छु । यसमा मेरो पनि कमजोरी छ । ती सबै कमजोरीलाई सुधारेर अगाडि बढ्छु ।’
प्रतिक्रिया 4