
७ चैत, काठमाडौं । गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस । दिवसको अवसर पारेर सोमबार गिरिजाप्रसाद कोइराला फाउण्डेसन र त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागले एक कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालासँग सबै मित्र राष्ट्रलाई बिश्वासमा लिएर काम गर्न सक्ने क्षमता रहेको स्मरण गर्दै सन्तुलित विदेश नीति नै नेपालको दीर्घकालिन हितमा रहेको बताइन् ।
कार्यक्रममा परराष्ट्रविद डा. दिनेश भट्टराई र डा. राम थपलियाले कोइरालाको बहुआयमिक व्यक्तित्वको ब्याख्या गर्दै उहाँले अवलम्बन गरेको विदेश नीतिबारे बिस्तृत कार्यप्रत्र प्रस्तुत गरे ।
समझदारी पत्रमा हस्ताक्षर
कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेसन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागलेबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
फाउण्डेसनले स्नातकोत्तर तहमा अध्यनरत बिद्यार्थीलाई गिरिजाप्रसाद कोइराला तथा नेपालको परराष्ट्र नीति, लोकतन्त्र, शान्ति तथा आर्थिक बिकाससँग जोडिएको बिषयमा शोधपत्र तयार गर्न ८० हजार रुपैयाँ बराबरको गिरिजाप्रसाद कोइराला रिसर्च फेलोशिप प्रदान गर्ने छ । साथै अन्य शैक्षिक कार्यक्रम हरुमा पनि सहकार्य हुने छ ।
समझदारी पत्रमा अन्तरास्ट्रिय सम्बन्ध तथा कूटनिति बिभागका प्रमुख प्रेम खनाल र फाउण्डेसनका तर्फ बाट रिसर्च डाइरेक्टर डा. ताराप्रसाद बन्जाडेले हस्ताक्षर गरेका छन् ।
१८ असार १९८१ मा जन्मेर चार पटक प्रधानमन्त्री भएका कोइरालाको ७ चैत २०६६ सालमा निधन भएको थियो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई एक निर्भिक र निडर नेताका रूपमा लिने गरिन्छ ।
प्रतिक्रिया 4