९ चैत, काठमाडौं । नेपाली क्रिकेट पछिल्लो एक दशक पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, वसन्त रेग्मीहरूकै वरिपरी थियो । टी–२० विश्वकपदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदासम्म उनीहरूको भूमिका महत्वपूर्ण थियो ।
पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिइसके भने वसन्त रेग्मी टिममा छैनन् । शरद भेषावकरले गत सेप्टेम्बरमा विश्वकप क्रिकेट लिग टूमा ओमानविरुद्ध खेलेका थिए भने ज्ञानेन्द्र मल्लले दुबईमा दुई दिनअघि सकिएको विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेलेका छन् ।
तर शुक्रबारदेखि पपुवा न्यूगिनी विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला र मलेसियासमेतको सहभागितामा त्यसपछि हुने त्रिदेशीय टी–२० श्रृंखलाको लागि नेपाल टिम घोषणा हुँदा शरद र ज्ञानेन्द्र मात्र होइन, विनोद पनि टोलीमा अटाएनन् । यस्तो अर्थात पारस र समकक्षी बिना नेपालले पहिलो पल्ट खेल्न लागेको हो ।

नेपाल क्रिकेट टिम अब युवाको काँधमा सरेको छ । एकदिवसीय र टी–२० दुवैको कप्तान रहेका सन्दीप लमिछाने मात्र २१ वर्षका छन् । दुई श्रृंखलाका लागि घोषित टोलीमा अन्तर्राष्ट्रिय खेल खेलेको आधारमा सबैभन्दा सिनियर खेलाडी सोमपाल कामी हुन् । उनले सन् २०१४ को टी–२० विश्वकप खेलेका थिए । त्यसपछि करण केसी र अरिफ शेख सिनियर खेलाडीको रुपमा छन् । दुवैले सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
उमेरका हिसावले भन्ने हो भने ३० वर्षीय करण सबैभन्दा सिनियर हुन् । त्यसपछि सुशन भारी २८ वर्षका छन् । सुशनले भने २०१७ मा मात्र सिनियर टिममा मौका पाए । अहिलेका कप्तान सन्दीप लामिछानेले सुशनले भन्दा एक वर्षअघि अर्थात सन् २०१६ देखि सिनियर टिममा खेल्दै आएका छन् ।
दिलिप नाथ, अनिल शाह र रोहित पौडेल सन् २०१८ तथा अविनाश बोहरा, पवन सर्राफ र कुशल मल्लले सन् २०१९ मा राष्ट्रिय टिमका लागि डेब्यु गरे ।
देव खनाल र आदिल अन्सारीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । बायाँ हाते ब्याटर दिलिप नाथ र विकेटकिपर ब्याटर अनिल शाहले भने २०१८ पछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
अहिलेको टोलीमा सन् २०२१ यथा डेब्यु गरेका खेलाडी मात्रै ८ जना छन् । एक वर्ष अगाडि अर्थात् २०२० कोसमेत गणना गर्ने हो भने कमलसिंह ऐरी पनि थपिन्छन् ।

दुई श्रृंखलाको लागि घोषित वर्तमान टोलीमा कुनै पनि सिनियर खेलाडी नअटाएपछि अब युवा खेलाडीमा ठूलो जिम्मेवारी आएको छ । हुन त अहिले टिममा रहेका अधिकांश खेलाडी पछिल्लो समय राष्ट्रिय टिमका लागि नियमित खेलिरहेका छन् ।
पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसकेपछि ज्ञानेन्द्र यस पटक ड्रप भए । विकेटकिपर ब्याटर विनोद भण्डारी भने टिममा आउने–जाने भइरहेका छन् । एक महिनाअघि ओमानमा भएको टी–२० विश्वकप छनोटमा टिममा नपरेका उनले भर्खरै यूएईमा सम्पन्न क्रिकेट विश्वकप लिग टू खेलेका थिए ।
लिग टू खेलेको टिमबाट ज्ञानेन्द्र र विनोद मात्र बाहिरिएका छन् । दुवैले सन् २००० को दशकदेखि नेपालका लागि खेल्न थालेका थिए । यी दुई को बहिर्गमनसँगै नेपाली टोलीमा अब सन् २०१० को दशकमा खेल्न थालेका खेलाडी मात्र छन् ।
नेपाली क्रिकेट टिम छनोट समितका प्रमुख दिपेन्द्र चौधरीले सिनियर खेलाडीलाई आराम दिएर भविष्यलाई ध्यान राख्दै नयाँ खेलाडीलाई अवसर दिन लागेको बताए । ‘ज्ञानेन्द्र र विनोदलाई हामीले आराम दिएका हौं । पछि फेरि हामी क्याम्पमा बोलाउँछौं,’ चौधरीले भने, ‘हामीले नेपाली क्रिकेटको भविष्यलाई हेरेर बेन्च बलियो बनाउनका लागि अरु विकल्प परीक्षण गर्न लागेका हौं ।’
यूएईमा भएको लिग टू अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको अन्तिम खेल खेल्दै भीम सार्कीले सिनियर टोलीमा डेब्यु गरे । उनी सन् २०१९ मै युएई भ्रमणमा टिममा परे पनि डेब्युका लागि भने ३ वर्ष पर्खनुपर्यो ।
देव र आदिलले भने सिनियर टिममा इन्ट्री गरेका छन् । उनीहरुको डेब्यूका लागि भने श्रृंखलासम्म प्रतीक्षा गर्नुपर्नेछ ।
एकदिवसीय र टी–२० श्रृंखलाका लागि १५–१५ सदस्यीय दुई फरक टोली घोषणा गर्दा ७ खेलाडी दुवै टिममा छन् । दुई टिममा गरेर कुल २३ खेलाडी अहिले राष्ट्रिय टिमका लागि छानिएका छन् ।
दुबै टोलीको कप्तानमा सन्दीप लामिछाने छन् । सन्दीपसँगै आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल र कमल सिंह ऐरी एकदिवसीय र टी–२० दुवै टोलीमा छन् ।

अनिल शाह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र भीम सार्की एकदिवसीय टोलीमा मात्र छन् भने करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी–२० टोलीमा छन् ।
पहिलो पटक सिनियर टिममा स्थान बनाएका देव खनाल र आदिल अन्सारी यू–१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । देव यू–१९ कप्तानसमेत हुन् । पछिल्लो समय घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि दुवै जनाले गत पुसमा युएईमा यू–१९ एसिया कप खेलेका थिए । यी दुईसँगै राष्ट्रिय टिमबाट खेलिसकेका कुशल मल्ल, लोकेश बम र गुल्सन झाले हालै भारतमा हाई पफर्मेन्स प्रशिक्षण लिएर फर्केका हुन् ।
कुशल मल्ल, दिलिप नाथ बायाँ हाते ब्याट्सम्यान हुन् । यस्तै तिव्र गतिका बलर गुलशन झाले पनि बायाँ हातले ब्याटिङ गर्छन् । उनी बलिङ भने दायाँ हातले गर्छन् । कुशल मल्ल र दिलिप टी–२० टिममा छन् । गुलशन एकदिवसीय टिममा छन् ।
प्रतिक्रिया 4