+
+
Shares

देउखुरीमा राजधानी बसाउन १० अर्ब खर्च हुने अनुमान, यस्तो बन्यो गुरूयोजना

सिसहनियामा विमानस्थल बनाउन प्रस्ताव

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत १४ गते १९:४९
लुम्बिनी प्रदेशको स्थायी राजधानीको मास्टर प्लान

१४ चैत, बुटवल । दाङको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गुरुयोजनामा व्यवस्थित राजधानी बसाउन १० अर्ब लागत अनुमान गरिएको छ ।

गुरुयोजना अनुसार राप्ती नदी वारि र पारिको क्षेत्रलाई समेटर नदी सभ्यतामा आधारित आधुनिक र सांस्कृतिक शहरको विकास गर्ने लक्ष्य छ । दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ तथा दाङकै गढवा गाउँपालिका वडा नं १, २ र ३ को ४ सय ८० वर्ग किलोमिटर क्षेत्रमा पूर्वाधारहरु बनाइने छ ।

नेपालको दोस्रो लामो पक्की पुलदेखि माथितर्फ करिब दुई सय विगाह जग्गा रहेको सिसहनियामा विमानस्थल बनाउन प्रस्ताव गरिएको छ ।

४ सय ८० वर्ग किलोमिटर क्षेत्र मध्ये तीन वटै पालिकाका करिब साढे दुई सय वर्ग किलोमिटर जग्गालाई आधार मानेर गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुसार मुख्यमन्त्री कार्यालयदेखि दक्षिणतर्फ राप्ती नदी क्षेत्रसम्म ८ सय मिटर चौडाइ र ४ किलोमिटर लम्बाइ क्षेत्रफललाई खुला क्षेत्र बनाइने छ ।

राप्ती गाउँपालिका वडा नं २ लालमटियाको उत्तरतर्फको ४० विघा जग्गामा प्रशासनिक भवनहरु बनाउने गुरुयोजनामा उल्लेख छ । राप्ती नदीका दुवैतर्फ दश वर्षको अन्तरालमा आउन सक्ने वा आएको बाढीलाई आधार मानेर पक्की तटबन्ध निर्माण गर्ने, नदीको दुवै किनारमा ६० मिटर चौडा सडक निर्माण गर्ने, एक सय मिटर चौडा हरियाली दुवै क्षेत्रमा बनाउने योजना छ ।

राजधानी क्षेत्रलाई बाहिरी चक्रपथले घेर्ने छ भने चुरे पहाड हुँदै वारि र पारि दुवै क्षेत्रलाई समेटेर अर्को चक्रपथको परिकल्पना गरिएको छ । लुम्बिनी प्रदेशको राजधानीमा गौतम बुद्धको ठूलो मूर्ति स्थापना गरेर प्रदेशको परिचय दिने योजनासमेत बनाइएको छ । जसका लागि प्रशासनिक केन्द्रमा माथि आकाशबाट देखिने गरी ठूलो मूर्ति सहित पार्क स्थापना गर्ने गुरुयोजनामा समेटिएको छ ।

राजमार्ग माथि र राजमार्गको दक्षिणतर्फ ५ सय मिटर छाडेर आवास क्षेत्र तोकिएको छ । अर्घाखाँची शितगंगा नगरपालिका वडा नं ८ र ९ लाई समेटेर सुविधा सम्पन्न अस्पताल, गढवा गाउँपालिका वडा नं १, २ र ३ लाई समेटेर विश्वविद्यालय प्रस्ताव गरिएको छ ।

नेपाल सशस्त्र प्रहरी बल र वनको नाममा रहेको जग्गालाई समेटेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अन्य मन्त्रालय, निर्देशनालय, विभागको भवन बनाउने गुरुयोजना छ । राप्ती नदीमा थप तीन वटा पक्की पुल निर्माणको लागि गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

राजधानीमा प्रवेश गर्ने कलात्मक पुल (सिग्नेचर ब्रिज), प्यूठान र अर्घाखाँची जोड्नको लागि राप्ती नदीको उत्तरतर्फ पक्की पुल र दक्षिण क्षेत्रमा अर्काे गरी थप तीन वटा पुल गुरुयोजनाले समेटेको छ ।

सितारा इकाकोट–टेक्निक्याक्ट–जेभीले झण्डै एक वर्ष लगाएर तयार गरेको गुरुयोजना अनुसार राजधानीका पूर्वाधारहरु बनाउन साढे १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । ‘गुरुयोजना तयार पारेर राजधानी शहर बसाउने योजना लुम्बिनी प्रदेश पहिलो हो,’ प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले भने, ‘विदेशी दातृ निकायको समन्वय र नेपाली इञ्जिनियर संलग्न भएर विदेशका आधुनिक र विकसित शहरका विशेषता हुने गरी सुविधासम्पन्न शहरको परिकल्पना गरिएको छ ।’

हाल रहेको राप्ती प्राविधिक शिक्षालय रहेको क्षेत्रमा बन्ने संरचनाको प्लान

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई आइतबार हस्तान्तरण गरिएको गुरुयोजना मन्त्रिपरिषद बैठकले पारित गरेपछि चालु आर्थिक वर्षबाटै पूर्वाधार निर्माणका कामहरु अघि बढ्ने घिमिरेले बताए ।

प्रशासनिक भवनहरु आगामी ३ वर्षभित्र पूरा गर्ने गरी ग्रामीण, शहरी विकास तथा पर्यटन मन्त्रालयले टेण्डर प्रकृया अघि बढाइसकेको घिमिरेले बताए । त्यसका लागि साढे ३ अर्ब रुपैयाँ लागत अनुमान छ । यसैगरी सडक, नदी तटबन्ध लगायत अन्य पूर्वाधारहरु ७ अर्ब लागतमा ५ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?