
काठमाडौं । सन्तोष श्रेष्ठको संगीत र हेम प्रभाष अधिकारीको शव्द रचनामा भारतकी प्रसिद्ध गायिका साधना सरगमले शान्ति गीत गाएकी छन् । उक्त नेपाली गीत भारतको मुम्बईस्थित आर्यान स्टुडियोमा रेकर्ड गरिएको छ ।
उक्त गीत केही दिनमै सार्वजनिक गर्ने संगीतकार सन्तोष श्रेष्ठले बताए । ‘शान्ति गीतका माध्यमबाट भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका साथ तयार पारिएको गीत केही दिनमै सार्वजनिक गर्छौं,’ श्रेष्ठले भने ।
संगीतकार श्रेष्ठका अनुसार धेरै समयपछि नेपाली भाषाको गीत गाउने अवसर पाएको भन्दै साधना सरगमले खुसी व्यक्त गरेकी थिइन् । ‘अन्य गीतहरुभन्दा यस शान्ति गीतको भावभूमि फरक रहेकाले मैले यो गीत गाएँ । यस गीतको माध्यमबाट विश्वव्यापी रुपमा शान्ति र सदभाव फैलँदै जाने आशा गरेकी छु,’ गायिका साधना सरगमको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने ।
संगीतकार श्रेष्ठले पनि भारतकी प्रसिद्ध गायिका साधना सरगमको स्वरमा आफूले संगीत भरेको गीत तयार हुँदा उत्साहित भएको सुनाए । ‘म निकै उत्साहित छु, यो गीत छिटै स्रोता र दर्शकमाझ सार्वजनिक गर्न हाम्रो टिम आतुर छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
यो गीतमा एडभरटाइजिङ नेपालको प्रस्तुती छ । एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले विश्वभरका मानिसहरुबीच शान्ति र एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको बताए ।
प्रतिक्रिया 4