
५ वैशाख, झापा । कचनकबल गाउँपालिका–४, पकलावानमा रहेको आफ्नो घरमा ६० वर्षीय असिबुल मियाँ एक्लै छन् । दुई छोरामध्ये एक जना खाडी मुलुक गएका छन्, अर्का भारतमा रोजगारी गरिरहेका छन् । ‘गाउँमा बसेर फाइदै हुन्न, विदेश नपठाएर के गर्नु ?’ उनी भन्छन्, ‘टोलका अरु धेरै पनि विदेश गएका छन् ।’
गाउँवासीको मुख्य पेशा कृषि हो । ‘तर खेती गर्न पनि चोरी गर्नुपर्छ’ असिबुल भन्छन्, ‘नेपालमा मल पाइन्न, भारतबाट ल्याउनुपर्छ । यता सशस्त्र प्रहरीले पेल्छ, उता भारतको एसएसबीले ।’ आफ्नो मुलुकमा मल समयमा कहिल्यै नपाइने र भारतबाट लुकाएर ल्याउँदा पनि सशस्त्र प्रहरीले बोह्रा काटिदिएर हैरान पार्ने गरेको उनको गुनासो छ ।
‘आफ्नो देशमा छैन, किसानले बाहिरबाट ल्याउँछ, ठिक छ गरेर खा भन्नुपर्नेमा उल्टै दुःख दिन्छ’ मियाँ भन्छन्, ‘खेती गर्नै नसकिने स्थिति भइसक्यो ।’ उनीसँगै घर जोडिएका कमलुद्दिन मिया चाहिँ स्वदेशै बसेर खेती गरिरहेका छन् । ‘१५ कठ्ठा मकै लगाएको छु’ उनी भन्छन्, ‘तर खासै फाइदा बस्दैन ।’
उनका दाजु पनि दुई साताअघि मात्रै वैदेशिक रोजगारीका लागि साउदी गएका छन् । ‘लोडअनलोडको काम भनेको छ’ उनी भन्छन्, ‘राम्रै होला ।’ सँगै जोडिएको घरमा उनकी ठूलीआमा पनि एक्लै थिइन् । कमलुद्दिन भन्छन्, ‘दाइ पनि जानु भएकाले यतै छु, यहाँ पोसाएन भने त म पनि बुझेर दाइसँगै जानु पर्ला ।’
अलि अगाडिको वस्ती पगलीभिट्टामा पनि युवा पुस्ता खासै गाउँमा थिएनन् । स्थानीय हिना खातुनका अनुसार छरछिमेकमा गरी १२ जना त साउदी अरबमा मात्रै छन् । ‘टोलभरि विदेश जाने त ३० जनाभन्दा बढी पुग्लान्’ उनले भनिन्, ‘गाउँका अझै धेरै विदेशमा गएका छन् ।’ गाउँमा काठमाडौंदेखि म्यानपावरका मान्छे विभिन्न अफर सुनाउँदै आउने गरेको पनि स्थानीय बताउँछन् ।
खातुनका श्रीमान् अन्सारु मियाँ पनि वैदेशिक राजोगारीका लागि मलेसिया जाने तरखरमा छन् । ‘अहिले चाहिँ काम गर्न दिल्ली जानु भएको छ’ उनी भन्छिन्, ‘अहिले भारतमा गाडी चलाइरहनु भएको छ ।’ यसअघि पनि अन्सारु वैदेशिक रोजगारीका लागि दुबई गएका थिए, तर राम्रो कमाइ भएन । ‘भन्न त सुरुमा सबैले राम्रो हुन्छ भन्छन्, गइसकेपछि के–के हुन्छ हुन्छ’ उनले भन्छिन् ।
खातुनका अनुसार वैदेशिक रोजगारीबाट आउने पैसाले गाउँका छोराछोरी बोर्डिङ स्कुल पढेका छन् । ‘खेती भएर के गर्नु कहिले काहीँ खानै पनि पुग्दैन’ उनी भन्छिन्, ‘कमाउन जाँदा छोराछोरी पढाउन सजिलो हुन्छ, अलिअलि खेती भयो भने खान पुग्छ ।’

गाउँपालिकाका अध्यक्ष अञ्जार आलम चाहिँ देशकै लाखौं नागरिक वैदेशिक रोजगारीमा गएको बताउँदै यो आफूहरुको मात्र समस्या नभएको बताउँछन् ।
स्थानीय मोजिबुल मियाका अनुसार गाउँमा २०२१ सालमा स्थापना भएको शारदा प्राथमिक विद्यालय छ । ‘तर पढाइ नै राम्रो हुँदैन, आज दिउँसो १२ बजे नै बन्द भइसक्यो’ उनी भन्छन् । विद्यार्थी पनि जतिसुकै बेला विद्यालयबाट निस्किने गरेको उनी बताउँछन् । ‘शिक्षकले नै राम्रोसँग नेपाली बोल्न जाँदैनन्, कतिले राजवंशी भाषामै पढाइदिन्छन्’ उनी भन्छन्, ‘अलिअलि कमाइ हुनेले भद्रपुरतिरै लगेर स्कुल पढाउने हो ।’

गाउँलाई सदरमुकाम भद्रपुरसँग जोड्ने सडकको पनि बेहाल छ । ‘बाटो राम्रो भएपनि छोराछोरी पढाउन सजिलो हुन्थ्यो’ उनी भन्छन्, ‘पहिले चुनावमा आउँदा त बाटो बनाइदिन्छु भन्थे, अहिलेसम्म जस्ताको तस्तै छ ।’ गाउँको पानीमा पनि अत्याधिक आइरन छ । फिल्टर नगरी खान सकिन्न, कपडा धुँदा पनि रंग फेरिइहाल्छ । मोजिबुल भन्छन्, ‘चुनाव आउँदा के–के गर्दिन्छु भन्छन्, बाटो चम्काइदिन्छु, कालोपत्रे गरिदिन्छु भन्छन्, अहिले केही छैन ।’
स्थानीय मुर्जिना मिया छोराछोरीलाई स्कुल पढाउन लुगा, किताब दिने व्यवस्था भइदिए सहज हुने बताउँछिन् । ‘राम्रो ठाउँमा पढाउनलाई केही कमाइ छैन, नजिकैको स्कुलमा पढाउन खोज्यो भने राम्रो पढाइ नै हुँदैन’ उनी भन्छिन्, ‘कम्तिमा कपडा र किताबको दिए अलिपर भए पनि पढाउन सजिलो हुन्थ्यो ।’
कृषिबाट घट्दो फाइदा
कचनकवल गाउँपालिका–३, झापास्थित मकैबारीमा मबुलाल यादव (५३) ले बाख्रा चराइरहेका थिए । जिल्लाको दक्षिणी क्षेत्रमा आइतबार ठूलो असिना पानी परेपछि बाली सखाप भयो, त्यसपछि उनले बारीमा बाख्रा छाडिदिएका हुन् ।
‘पन्ध्र कठ्ठामा मकै लगाएको थिएँ, मल पनि हालिसकेपछि कामै नलाग्ने भयो’ यादव भन्छन्, ‘यसपालि दैवले ऋणमाथि ऋणै थपिदिए ।’ यादवका अनुसार उनले मकैखेतीमा भारु दुई हजार रुपैयाँ प्रति पोकोमा ४ प्याकेट विऊ लगाएर खेती गरेका थिए । चार बाह्रा डीएपी मल र दुई बोह्रा युरिया पनि हालिसकेका थिए ।

स्थानीय श्रवणकुमार यादव पनि सडक किनारमा टुक्रुक्क बसेका थिए, अगाडि देखिने जति बाली सबै ढलेको थियो । भन्छन्, ‘अब त धान्नै गाह्रो हुने भइसक्यो ।’ उनका अनुसार अहिले नेपालको डीएपी मल पाइए प्रति बोह्रा २३ सय र युरिया ९२५ मा पाइन्थ्यो । तर भारतबाट ल्याउँदा डीएपी ३५ सय र युरिया १५ सयसम्म पर्छ । ‘ट्याक्टर लगाएर जोत्न १५ सय तिर्नुपर्छ, ६ सयमा जन लगाउनुपर्छ’ यादव भन्छन्, ‘धान बेच्न जाँदा चाहिँ मनको ८ सय रुपैयाँ मात्र आउँछ ।’
उनका अनुसार खेती गरेर अलि फाइदा हुने भनेको धान र मकै नै हो । तर अहिले त्यसमा पनि क्रमशः घाटा हुने स्थिति सिर्जना हुँदै गएको उनी बताउँछन् । भन्छन्, ‘खागसब्जी लगाउँदा त हुने हो, त्यो पनि सजिलो छैन ।’
कचनकवल–४, अमरसिंह गणेशका अनुसार गाउँ नेपालकै होचो स्थान भएकाले अलिकति पानी परिसक्दा पनि डुबान हुन्छ । ‘अलि धेरै पानी पर्यो कि चार/पाँच दिनसम्म खेतमा रहिराख्छ, अनि रोपेको सबै कुहाएर सिद्धाउँछ’ उनले भने, ‘मकै, भिण्डी रोपेको थिएँ, अस्ति पनि सोत्तर भयो ।’
स्थानीय मिथुन यादवका अनुसार केचनामा मेची, देउनियाँ र अमुनखुट्टाको पानी पस्छ । ‘होचो ठाउँमा पानी निस्किने ठाउँ छैन, पूर्व–पश्चिम सबैतिर डाँडा भएपछि समस्या भइहाल्छ’ उनी भन्छन् ।
गत कात्तिकमा बाढी गाउँ पस्दा पनि उनको दुई विगाहा धान खेती डुबाएको थियो । ‘त्यतिबेला क्षतिपूर्ति दिने भन्दै नागरिकताको फोटोकपी पनि लिएर गएका थिए’ उनी भन्छन्, ‘सबै दिँदा पनि अहिलेसम्म काम भएन, फेरि मकै पनि सिद्धिसक्यो ।’
गणेश चाहिँ पानीले खेती सखाप पारेका वेला पनि गाउँपालिकाले वास्ता नगरेको प्रति गुनासो गर्छन् । ‘चुनावको वेला छ, कम्तिमा आएर सोधेको भए पनि सहानुभूति हुन्थ्यो’ उनी भन्छन् ।
उनका अनुसार गाउँपालिकाले किसानलाई खेतीका लागि मोटर र ग्याँस चुह्लो दिने भनेको थियो । त्यो पनि पार्टी हेरेर वितरण गरिएको कचनकबल–४ का अमरसिंह गणेश बताउँछन् ।
प्रतिक्रिया 4