९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तानाशाहीको व्यवस्थामा बल प्रयोग नगरिकन शान्तिपूर्ण ढंगले सम्झाएर परिवर्तन सम्भव नहुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले नेपाली कांग्रेसले पनि पहिले बल प्रयोगबाटै आएको कम्युनिस्ट पार्टीले त्यही बाटो अपनाएको बताए ।
‘राजनीतिक पार्टीले सुरुमा हामीलाई हिंसावादीका रुपमा र आफूलाई शान्तिवादीका रुपमा परिभाषित गर्न खोजेको देखिन्छ । नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राणा शासल उल्ट्याउने उद्देश्यका साथ स्थापना भएको थियो,’ ओलीले भने, ‘कम्युनिस्ट पार्टी पनि बल प्रयोगद्वारा राज्य सत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ नै स्थापना भएको थियो ।’
उनले कांग्रेसले पनि ००७ सालमा हतियार उठाएको र कम्युनिष्टले पनि उठाएको बताए । उनले तानाशाही व्यवस्था छ भने जसले पनि सुरुमा बलजफती नगरिकन सम्झाएको तानाशाहीले मान्दैन भन्ने बुझेको भन्दै ताना शाहा उल्ट्याउनका लागि बल प्रयोग गर्ने बताए ।
ओलीले तानाशाह नभएका बेला शान्तिपूर्ण ढंगले संवैधानिक तवरबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने र त्यसले क्रान्तिलाई नजिक ल्याउने होइट टाढा भगाउने बताए ।
प्रतिक्रिया 4