
एकदिन बाबु र छोरा कारमा यात्रा गर्दै थिए। यात्राकै क्रममा उनीहरू दुर्घटनामा परे। दुर्घटना पश्चात् दुवै जनालाई फरक फरक हस्पिटलमा लगिन्छ। केही छिनमा जब छोरा होशमा आउँछ, डाक्टरले उसलाई हेर्दै भन्छ- ‘म उसको अप्रेशन गर्न सक्दिनँ किनकि ऊ मेरो छोरा हो।यदि ऊ छोरा हो भने डाक्टर को हो ?’
रिडलमा सोसल एक्सपेरिमेन्ट गरी ‘जाग रिपोर्ट’ नामको युट्युब च्यानलले सन् २०१८ मा राखेको भिडियोले हाम्रो पेशाप्रतिको लैङ्गिक पूर्वाग्रहलाई उदाङ्गो पारिदिन्छ। त्यसैगरी, भारतको सर्वोच्च अदालतकी पूर्व न्यायाधीश सुजाता मनोहरले एक कार्यक्रमको क्रममा सुनाएको अनुभव पनि व्यवसाय/पेशाप्रतिको हाम्रो लैङ्गिक चेतनास्तर झल्काउने खालको छ।
उनले सन् १९५८ मा कानुन व्यवसाय सुरु गर्दाको पहिलो दिन नै बारमा जाँदै गर्दा त्यहाँ उनले केही अस्वाभाविक प्रश्नको सामना गर्नुपर्यो। त्यहाँका केही व्यक्तिहरूले सोध्छन्- ‘तिमी को हौ ? किन यहाँ आएको ? आफ्नो पतिलाई खोजिरहेकी हौ ?’ आदि। यी प्रश्नले पनि पेशागत लैङ्गिक पूर्वाग्रह झल्काउँछ।
विगत लामो समयसम्म घोषित, अघोषित, कानुनी रूपमा या अन्य थुप्रै तवरले महिलाहरूलाई पेशाबाट वञ्चित गरियो। पितृसत्तात्मक समाजले महिलाहरूको पेशा तोक्ने क्रममा महिलाभित्र कुँदेका केही विशेषतालाई देखाएर सेवाजन्य लगायत पेशाहरू मात्र सही हुने तथ्य स्थापित गर्न ठूलै ताकत समेत लगाइरहेको अवस्था छ। यद्यपि महिलाहरूको प्रतिरोध, लडाईं र निरन्तरको संघर्ष पश्चात हाल लगभग सबै पेशाहरूमा उनीहरू दरिलो हस्तक्षेप गर्न थालेका छन्।
विभिन्न पेशामा महिलाको राम्रै संख्यामा उपस्थिति हुन थाले पनि पेशा र लिङ्ग, पेशा र पितृसत्ता, लिङ्ग र पेशागत संरचना, पेशा र लिङ्गको समाजशास्त्र लगायत विषयमा हाम्रो अध्ययन शून्यप्रायः छ। यसको मतलब हरेक प्रकारका पेशामा महिला प्रवेश गर्दैगर्दा उनीहरूले ती पेशा र पेशागत पितृसत्तात्मक संरचना र चिन्तनसँग लडाईं गर्नुपर्छ।
तिनका अनुभवबारे हाम्रो बीच सही रूपमा छलफल, बहस हुन सकिरहेको छैन। पश्चिमा जगतमा सन् १९६०/७० को दशक लगत्तै यी विषयमा थुप्रै सामग्रीह लेखिएको छ। यीमध्ये आन विचको ‘प्रोफेशन एण्ड प्याट्रियार्की’ एक हो।
पेशा र पेशागत संरचना अनि ती संरचनामा ठोक्किन आइपुग्ने मानिस समेत यही महिलाद्वेषी समाजकै अंग हुन्।त्यसैले यी संरचनाको वातावरण पूर्णरूपमा पितृसत्तात्मक नै हुन्छ। पेशामा आवद्ध महिलालाई हाम्रो समाजले एवं ती संरचनासँग ठोक्किन आइपुग्ने व्यक्तिले कसरी हेर्दछन्, कस्तो व्यवहार गर्दछन्, महिलालाई पेशागत रूपमा स्वीकार्न उनीहरू तयार छन् कि छैनन् ? भन्ने कुरा पनि सँगै जोडिन आइपुग्दछ।
पेशामा महिलालाई सकेसम्म आउन नदिने (संरचनागत रूपमा, कुनै अवस्थामा कानुनी रूपमै निषेध), उसको कार्यक्षमता माथिको अविश्वास, असमान पारिश्रमिक, महिलामैत्री नभएका संरचना, महिलालाई आवश्यक बिदाका बारे अनुदार हुने लगायत तमाम महिलाद्वेषी व्यवस्थासँगै जोडिएर आउँछ र लड्नुपर्छ। तर, कम चर्चा गरिएको अर्को कुरा पेशाभित्रको ‘बहिनीवाद’ पनि हो। शेरा तामाङको ‘बुनुइज्म’ र निजामती सेवामा काम गर्ने महिला कर्मचारीहरूको सो बारेको अनुभव केही बाहिर आए पनि यसबारे प्रशस्त बहस छलफल भने नेपालमा भएका छैनन्।
महिलालाई आफूभन्दा माथि या आफूले काम लिनुपर्ने हैसियतमा देखेपछि ‘फ्रजाइल’ पुरुष इगो रन्थनिन पुग्नेरहेछ। त्यसैको परिणाम स्वरूप बहिनी, नानु, तिमी जस्ता शब्द सम्बोधन गरी महिला पेशाकर्मीलाई आफूभन्दा तल र कमजोर देखाउन हरदम कोसिस गर्दछन्। केही हदसम्म आफ्नो ‘इगो सेटिस्फाइ’ गर्ने गर्दछन्।
विशेषत: कुनै पेशामा भएको व्यक्ति या पेशागत हिसाबले सम्पर्क गरिने व्यक्तिहरूबीच औपचारिक सम्बोधनको प्रयोग गरिन्छ या व्यक्तिगत नामबाट मात्र सम्बोधन गर्नु पनि सही हो। तर, पेशागत रूपमा संलग्न महिलालाई पेशागत रूपमा नै स्विकार्न उनीहरूलाई सकस हुनेगर्छ। त्यसैले उनीहरू बहिनीवाद, नानुवादको भरपुर अभ्यास गर्दछन्।
औपचारिक सम्बन्धमा औपचारिक सम्बोधन आवश्यक हो भन्ने कुरा अधिकांश व्यक्ति, विशेषगरी पुरुषहरूलाई थाहा नहुने होइन, तर महिलालाई पेशागत रूपमा स्वीकार्न ‘फ्रजाइल’ पुरुष इगोले दिंदैन। सँगैको पुरुष पेशाकर्मीका लागि औपचारिक सम्बोधन स्वाभाविक हो, त्यस कुरामा उनीहरू हरदम सचेत र उदार पनि छन्। तर, महिलाहरू भने उनीहरूका लागि बहिनी मात्र बन्न पुग्दछन्।
बहिनीवादले हामी महिला पेशाकर्मीलाई कतिसम्म फरक पार्छ भन्ने कुरासँगै काम गर्ने महिला साथीले सुनाउनु भएको अनुभवबाट पनि बुझ्न सकिन्छ। उहाँले भन्नुभएको थियो- ‘भावना आज एक जना क्लाइन्टले ‘म्याम’ भनेर बोलाएको नि, कस्तो सेटिस्फाइङग लागेको, अब म डिजर्भ गर्छु भन्ने फिल भयो।’
म्याम भनेकोमा हैन कसैले मलाई पेशागत रूपमा स्विकार्यो भन्ने खुसी थियो त्यो। मानिसहरूको चेतनास्तर नै त्यस्तै छ भनी बहाना/अनुमान बनाउनु अगाडि कस्ता व्यक्तिबाट हामीलाई यसरी सम्बोधन गरिने रैछ भन्नेबारे केही उदाहरण हेरौं।
नेपालमै नाम चलेको एक सिमेन्ट कम्पनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलेको थियो। उक्त कम्पनीको कानुनी सल्लाहकार एक पुरुष बयानको लागि उक्त अदालतमा उपस्थित थिए। उनीसँगै म पनि उपस्थित थिएँ। उनले बारम्बार बहिनी, बहिनी भनेपछि मैले उनलाई रोक्नुपर्ने अवस्थाको सृजना भयो। मैले भने- ‘मेरो नाम भावना हो, तपाईंले मलाई भावना भनेर बोलाउनुभए हुन्छ।’ त्यति भनेपछि उनलाई महसुस भएछ। पटक पटक बहिनी सँगै म्याम भन्दै सम्बोधन गर्न थाले।
विशेष अदालतमै म अर्को बयानको लागि सँगै थिएँ। म सँगै भएको क्लाइन्टको साक्षीले बोलाएपछि सँगै काम गर्ने सर र म गयौं। सरलाई ‘सर चिया खानुहुन्छ?’ भन्यो। मलाई ‘चिया खान्छौ?’ भनी सोध्यो ‘म खादिनँ’ भनेपछि ‘खाउन खाउ’ भनिरह्यो।
त्यो पुरुषको त्यस प्रकारको कुरा र सम्बोधन सुनेपछि सँगैको सरले ‘ए ! तपाईंहरू साथी हो’ भनेर सोध्नुभयो, जबकि त्यो पुरुष यो धर्तीमा छ भन्ने कुरा त्यतिबेला मात्र थाहा भएको थियो मलाई र ऊसँग पेशागत रूपमा बाहेक अन्य कुनै प्रकारको सम्बन्ध पनि थिएन।
एक जना पुरुष अफिसमा आयो।‘बहिनी यो सरलाई दिनु है’ भनी महिला सहकर्मीलाई डकुमेन्ट्स दियो। बहिनी शब्द सुन्दै रिस उठिरहेको थियो। पुन ‘बहिनीको नाम चाहिं के?’ भनेर सोध्न थाल्यो।
यो सब सुनेपछि मैले ‘ऊ चाहिं कसरी तपाईंको बहिनी?’ भनेर प्रश्न गरेँ। उसले तत्काल ‘बहिनी नभए दिदी हो त?’ भनेर प्रतिप्रश्न गर्न थाल्यो। ‘म यही अफिसमा काम गर्छु भने म म्याम हो’ भनेर साथीले प्रतिक्रिया दिएपछि केही नबोली ऊ निस्कियो। त्यो थियो त्रिभुवन विश्वविद्यालयको प्रोफेसर।
नेपाल पुलिसको पूर्व डीआईजी होस् या अन्य तथाकथित शिक्षितहरू पेशागत रूपमा म लगायत महिलालाई गर्ने सम्बोधन प्रायः यही हो। सँगैको पुरुष पेशाकर्मीले समेत अन्य व्यक्तिसँग कुरा गर्दा बहिनी भनेर सम्बोधन गरिदिने गर्छन्। यो बहिनीवाद प्रवृत्तिसँग जुध्नु नपरेको दिन विरलै होला मेरो लागि।
मेरा एक महिला सहकर्मीको अनुभव छ- सर्वोच्च अदालतमा जाने क्रममा पुरुष क्लाइन्ट्सले जिस्किने, जिस्काउने गर्छन्। बच्चालाई जस्तो व्यवहार गरिन्छ। तपाईलाई केही आउँदैन भन्ने, अदालतको कर्मचारीलाई समेत उहाँलाई केही आउँदैन भनेर कुरा गरिसकेका हुन्छन्। आउ यहाँ बस, तिम्रो घर कहाँ हो, हामीलाई लैजान मिल्दैन, तिम्रो घरमा लैजाउन, कति वटा रुम छन्’ लगायतका कुरा गर्छन्। यसरी उनीहरूले दिनभरजसो हैरान पारेको साथीको अनुभव छ।
१९ जुलाई २०२० मा ‘सुनौलौ नेपाल’ ले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको पत्रकार समा थापासँगको अन्तर्वार्ताले पनि व्यावसायिक/पेशागत महिलालाई कसरी हेरिन्छ भन्ने कुराको संकेत गर्दछ। बारम्बार शरीर सुन्दरतालाई मात्र ध्यानमा राखेर प्रश्न गर्नु र उ सुन्दर भएकै कारणले मात्र पेशामा सफल छ भन्ने आशयले उक्त अन्तर्वार्तामा गरिएका प्रश्नले महिलालाई पेशागत रूपमा हेर्न सकस भएको स्पष्ट देखिन्छ।
पेशा/व्यवसायभित्रको बहिनीवाद, पितृसत्ता, संरचना, ती संरचनाभित्रका र त्यहाँ ठोकिन आइपुग्ने महिलाद्वेषी विषाक्त मानसिकतासँगको लडाईं सहज भने छैन। पेशागत रूपमा संलग्न महिलाहरूले हरेक दिनजसो यी कुराहरूसँग जुध्नु परिरहेको हुन्छ।
त्यसले मानसिक रूपमा र उत्पादकत्वमा पार्ने प्रभावबारे हामी विरलै सचेत छौँ र बहस गर्दछौँ। यो प्रवृत्ति चिन्तन र संरचनासँगको लडाईं कस्तो हुने भन्ने बारे सही र विस्तृत छलफल आवश्यक छ।
प्रतिक्रिया 4