+
+

दूधे बच्चा बोकेर चुनाव प्रचार गर्दै गाउँपालिका अध्यक्षकी उम्मेदवार

म्‍याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार

रासस रासस
२०७९ वैशाख २० गते १४:११

२० वैशाख, म्याग्दी । ३० वैशाखमा गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन् ।

नेकपा माओवादी केन्द्रले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको छ । रघुगङ्गा–६ की २८ वर्षीया मीना दूधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छिन् ।

नेकपा माओवादी केन्द्रको रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए ।

‘म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?’ मीनाले हरेक जसो सभा र भेलामा भन्छिन्, ‘यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौती पनि हो । हामी कति दिन अरुको भोट बैंक बन्ने ? नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।’

गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानका साथै अन्य समुदायका गरिब, विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ । मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहेका प्रदेशसभा सदस्य विनोद केसीले बताए ।

मीनाको प्रतिस्पर्धीमा नेकपा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ । रघुगङ्गामा निर्वाचित हुने ४२ पदका लागि १३५ जना चुनावी मैदानमा रहेकाे सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए ।

बेनी नगरपालिका–१० पात्लेखेत माइती भएकी मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो । अनेरास्ववियु क्रान्तिकारी र वाईसीएलमा आबद्ध भएकी उनी विवाहपछि राजनीतिमा निष्क्रिय रहेकी थिइन् ।

गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी मीनाको जेठा छोरा १० वर्षका छन् । उनी २ वर्षकाे कान्छाे छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा छिन् । मीनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा हिंड्छन् ।

तस्वीर सौजन्‍य : बेनी अनलाइनबाट

धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले मङ्गला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार छन् ।

वडाध्यक्ष पदमा दुई मात्र महिला उम्मेदवार छन् । सो गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएकाे छ। ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

धवलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ ।

कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन् । चार गाउँपालिकाका अध्यक्ष र १७ वडाध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?