
मेटाइए पनि प्रेमिल सपनाहरु
मेटिदैनन् साहसी पाइलाहरु,
खोसिए पनि जीवन र प्रेम कसैको
खोसिन्नन् विद्रोहका यात्राहरु
काठमाडौंको माइतीघर मण्डलमा यी र यस्तै आवेगमिश्रित भावनासहित आममान्छेहरु जम्मा भए ।
हृदयमा प्रेम फुलाएर मस्तिष्कमा आवेग बोकेर जम्मा भएका यी सपनाको आयतन त्यति ठूलो पनि होइन । यी त केबल मान्छे हुनुको अर्थ खोजिरहेका छन्, मानवीयता चाहिरहेका छन् । जातीय भेदभावको अन्त्य र दुई वर्ष अघि रुकुमको चौरजहारीमा छ जना युवकको ज्यान जाने गरी गरिएको नरसंहारका दोषीलाई कारबाहीको माग गर्दै युवाहरु जम्मा भएका हुन् ।
यति जघन्य अपराधका दोषीलाई सरकारले कारवाही गरेको हुन्थ्यो भने, उनीहरु दबावका नारा बोकेर माइतीघरसम्म पुग्नु पनि पर्दैनथ्यो । तर त्यसो भएन, त्यसैले हरेक युवाको हातमा समाजलाई सचेत र राज्यलाई खबरदारी गर्ने सन्देश छन् ।
प्रेम पंक्षी जहा पिजडामा
झ्यालखानामा छ बन्दि अझै
वेग नौलो नौलो मारौ भन्दा
जहाँ ज्यानमारा छ थिति अझै ।
युवाको त्यसै भीडभन्दा केही मिटरमात्रै पर छन् दुई वर्षअघि रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएका छ जना युवाहरुका आमा, जो अनाहकमा काख रित्याइनुपर्दाको कारण खोजिरहेका छन्, आफ्नै छोराहरु समानका युवाले न्यायको पक्षमा नाराबाजी गर्दा आँखामा उनै छोराहरुको तस्वीर नाचिरहन्छ ।
आँखामा टिल्पिलाएका आँसु र शान्तजस्तै देखिने मलिन अनुहार,मनमा दन्किएको पीडाको आगो । अनि न्यायका निमित्त कोरेको संघर्षको गोरेटो । आमाहरुको अनुहारमा सन्नाटा छाउन यो भन्दा बेसी अरु के नै कारण चाहिन्छ र ?
मारिनेहरु त्यसै मारिदैनन्
जिउँदालाई ब्युताई जान्छन् ।
बग्दैन रगत त्यसै त्यसै भेरीमा
विद्रोहको आगो सल्काई जान्छन् ।
दुई वर्ष अघि आजैकै दिन पूर्वी रुकुममा जातीय प्रेमका कारण नवराज विक, सञ्जिव विक, गणेश बुढामगर, लोकेन्द्र सुनार, टिकाराम विक र गोविन्द शाहीले ज्यान गुमाउनु परेको थियो ।
जातीय प्रेमको कारण ज्यान गुमाएका छ जनामध्ये गोविन्द शाहीकी आमा भिमी शाही बाहेक पाँचै जना माइतीघरमा न्यायका निमित्त उभिएका छन् ।
काखमा तीन महिनाकी छोरी च्यापेर उभिएकी गीता सुनार रुकुम संहारमा मारिएका टीकाराम सुनारकी आमा हुन् । दवाव नदिएसम्म न्याय पाइदो रहेनछ भन्ने बुझेर हो उनी सबै काम छोडेर काठमाडौ हानिएको ।
‘छोरा मारेको दुई वर्ष बितिसक्यो तर न हामीले न्याय पायौं न छोराको आत्माले शान्ति,’ गिता भन्छिन्, ‘एकै छोरा थियो त्यो पनि पापीले मारेर भेरीमा बगाइदिए ।’
कक्षा १२ मा पढिरहेका थिए टीकाराम । मोबाइल पसल चलाएका उनले अभाव तथा गरिबीबाट पार पाउन चाहान्थे ।
मोबाइल पसल खोल्ने सपना बोकेका उनले सुर्खेतमा पाँच महिना मोबाइल बनाउने कामसमेत सिकेका थिए । तर न उनको सपना पुरा भयो न बाआमाको ।
अहिले भेरीले मार्ने छाल र सुस्केराले छोराको याद दिलाइरहन्छ । ‘भेरी नदी देख्दा मन थाम्न सक्दिन् । भेरी वारपार गर्दा छोराको अनुहार अगाडि आउँछ,’ उनले भनिन् ।
*****
गणेश बुढामगरकी आमा राधिका पनि न्यान माग्नका लागि जाजरकोटबाट काठमाडौं आइपुगेकी छन् ।
‘छोराको लागि न्याय माग्दा माग्दै आफू सक्किन लागिसके तर न्याय पाएकी छैन्, हामिले किन न्याय पाएनौ भनेर काठमाडौका ठूलाठूला मान्छेलाई सोध्न मन छ’ उनी भन्छिन् ।
ज्याला मजदुरी गरेर गुजरा गरिरहेको मगरको परिवारलाई जाजरकोटबाट काठमाडौं आउन सहज थिएन । तर न्याय पाउने आशले उनलाई तानेर काठमाडौं ल्याइपुर्यायो ।
‘छोराले गरेको अपराध सोध्न काठमाडौं आएकी हुँ’, उनी भन्छिन्,‘बिना गल्ती छ जनाको हत्या भएको छ । दलित गरिबले न्याय पाउन मर्नै पर्ने हो ?’
न्याय पाउने आशमा चार पटक रुकुम, तीन पटक सुर्खेत र १ पटक दैलेख पुगिसकेकी बताउँछिन् राधिका । तर सास रहुन्जेल आश, उनलाई विना कसुर आफ्ना छोराहरुको हत्या गर्नेमाथि कारवाही हुन्छ भन्ने आशा छ । राज्यको कानुनसँग भरोसा छ ।
‘विदेश गएर नयाँ घर बनाउँछु आमा भन्थ्यो,’ उनले ओढेको वर्काेले आँसु पुछिन् ।
लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनार बिना गल्ती छोराको हत्या गरिएको भन्दै आफू न्याय माग्न काठमाडौंसम्म आएको बताउँछिन् ।
‘खेतीपाती लाउने समयमा जाजरकोटबाट काठमाडौं आउन गरिबलाई के रहर हुन्छ र ?’ उनी भन्छिन्, ‘दोषीलाई जीवनभर काराबासको सजाय नभएसम्म न हामीले न्याय पाउछौं न छोराको आत्माले शान्ति ।’
उनले प्रेम गर्ने साथीलाई साथ दिदा हत्या गर्नुपर्ने कुनै कारण नभएको भन्दै शक्ति र सत्तामा भएकाहरुले घटना तोडमोड गरेर पीडितलाई थप पीडा दिइएको गुनासो गरिन् ।
*****
नवराज विककी आमा उर्मिला विक छोराले प्रेम गर्नु कुनै पाप नभएको भन्दै प्रेमका खातिर ज्यान दिनु परेको बताउँछिन्् ।
‘मेरो छोराको प्रेम एकतर्फी थिएन । तर जातका कारण छोराले ज्यान गुमाउनु पर्यो’ उनले सुनाइन् ।
दलितका लागि न्याय महंगो परेको भन्दै उर्मिलाले न्याय पाउन महाभारत भएको गुनासो गरिन् ।
नवराजले कुनै अपराध नभई प्रेम गरेको उनले बताइन् ।
‘दुई वर्षदेखि हामी न्यायका लागि तड्पिरहेका छौं । तर कुनै सुनवाइ नै भएको छैन्’ उर्मिलाले सुनाइन् ।
कानुनले जातीय विभेदलाई दण्डनीय बनाए पनि कार्यान्वयन नभएकै कारण रुकुम पश्चिममा छ जना युवकको हत्या भएको थियो ।
हत्यामा संलग्न आरोपमा सोतीका ३४ जनामाथि जिल्ला अदालतमा मुद्दा चलाइएको छ । मुद्दा चलाइएकामध्ये २३ जना थुनामा छन् ।
जिल्ला अदालतले गरेको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतलेसमेत जाँचेर सुरुमा पक्राउ परेका ३४ जनामध्ये ११ जनालाई तारेखमा छाडेको छ ।
नवराजकी प्रेमिकाका बुवा र दाइ थुनामा रहेका छन् भने प्रेमिकाकी आमालाई जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
नवराजकी प्रेमिका र उनका भाई नाबालिग भएको भन्दै जिल्ला अदालतले पहिले बाल सुधार गृह पठाइएको भएपनि पछि उच्च अदालत सुर्खेतले अभिभावकको जिम्मामा छाड्न आदेश दिएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले घटनामा ज्यान गुमाएका युवाले न्याय नपाउँदासम्म उनीहरुप्रति साचो श्रद्धाञ्जली नहुने बताए ।
‘आज भेदभावलाई समाप्त गर्छु भनेर प्रण गर्ने दिन हो’, त्रिपाठीले भने, ‘जातीय भेदभाव उन्मुलनको लडाइमा सबैले समर्पित भएर लाग्नु पर्छ ।’
उनले रुकुम पश्चिम घटनाका पीडितलाई न्याय दिलाउन सबैले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउनु पर्ने जानकारी दिए ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4