+
+

सिक्वेल बनाउँदैमा सिर्जनात्मक क्षमता मर्छ भन्ने होइन : रामबाबु गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १५:१५

काठमाडौं । ‘अनागरिक’ फिल्मबाट फिल्म निर्देशन थालेका रामबाबु गुरुङ अहिले नेपाली फिल्म क्षेत्रका महंगामध्येका निर्देशक हुन् । उनी निर्देशित ‘कबड्डी’का तीनै श्रृंखलाले घरेलु बक्स अफिस मात्र नभएर विदेशी बजारमा समेत राम्रो कमाइ गरेका छन् ।

‘कबड्डी’को चौथो श्रृंखला शुक्रबारदेखि नेपालसहित झण्डै एकदर्जन मुलुकमा रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा निर्देशक गुरुङले दर्शकमाझ कबड्डी श्रृंखलाको लोकप्रियता, सान्दर्भिकता र आगामी सिरिजको भविष्यबारे कुराकानी गरेका छन् ।

नेपालमा सिरिज निर्माणको ‘ट्रेन्डसेटर’ बनेको ‘कबड्डी’ले कोरोना महामारी प्रभावित नेपाली फिल्मलाई पनि राहत दिने अपेक्षा गरिएको छ । यिनै विषयमा केन्द्रित रहेर निर्देश गुरुङसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानी :

रिलिजअघि नै फिल्मले राम्रो व्यावसायिक ट्रेन्ड देखाएको छ । ‘कबड्डी ४’ ले नेपाली फिल्मको व्यावसायिक संकटमा कसरी राहत देला ?

व्यावसायिक हिसाबले नेपाली फिल्मले आशा देखाउँदै जानु भनेको मलाई मात्र नभएर सबै सिनेकर्मी साथीलाई आशा हुनु हो । नेपाली फिल्म र कलाप्रति दर्शकको चासो छ भन्ने यसले पुष्टि गर्छ । यो सुन्दर पक्ष हो । कोरोना महामारीका कारण नेपाली मात्र हैन, विश्व सिनेमा नै संकटग्रस्त थियो ।

महामारीपछि संसारभर नै फिल्मले बामे सर्दै गरेको अवस्था छ । यसमा कुनै फिल्मले सामान्य व्यापार गरेको छ । प्रतीक्षित भएर बसेका सिरिजले एउटा खालको उत्साह प्रदान गरेको छ । यसमा हामी खुसी छौं ।

नेपाली फिल्म क्षेत्र विदेशी फिल्मको प्रभुत्वले संकटमा परेको हो कि स्तरीय कथा, ब्रान्ड र क्राफ्ट नहुनाले हो ?

विदेशी फिल्मको लगानी, जनशक्तिको सीप र सिर्जनात्मक कुरासहित विविध हिसाबमा हामी कमजोर नै छौं । फिल्म मात्र होइन, अन्य क्षेत्रमा पनि विदेशी उत्पादनको हस्तक्षेप छँदैछ । फिल्म पनि त्यही मारमा हो । दर्शकलाई विदेशी नहेर भन्न पनि सकिंदैन, फिल्म इन्टरटेनमेन्टको क्षेत्र हो । यो उनीहरुको आफ्नो रोजाइको कुरा हो ।

तर अब नेपाली फिल्म पनि विस्तारै विकसित हुँदैछ र दर्शक पनि बढाउँदैछ । विदेशी फिल्मसँगको तुलना गर्दा तुरुन्तै हामी सक्षम छैनौंजस्तो पनि लाग्छ । हामीले नीति निर्माण तहमा दबाब बढाउँदै जानुपर्छ । सँगै हामीले आफ्नो काम पनि अघि बढाउँदै जानुपर्छ ।

कबड्डी ४’ले पैसा मात्र कमाउने कि सिर्जनात्मक पक्षमा पनि योगदान दिने ?

फिल्म मेकिङ पूर्णरुपमा कला हो । तर महंगो कला हो । यसकारण आर्थिक महत्व राख्छ । जुन चीजलाई दर्शकले रुचाइरहेका छन् र चासो बढिरहेको छ, व्यावसायिक दृष्टिकोण राखेर नै सिरिज निर्माण हुने हो । अर्को कुरा कथालाई अघि बढाउन सकिने परिस्थिति रहेसम्म सिक्वेल बनाउने र दर्शकलाई इन्टरटेनिङ तुल्याउने कुरा हो । सिक्वेल निर्माण गर्नुमा त्यस्तो गलत केही छ जस्तो लाग्दैन मलाई ।

कबड्डी ४ : फाइनल म्याच’ भन्नुभएको छ । यसको अर्थ के थप सिक्वेल नबनाउने भन्ने कुरा हो ?

कथालाई सिरिज बनाउँदैमा सर्जकको सिर्जनात्मक क्षमता मर्छ अर्थात् सिर्जनात्मक गुण गुमाउँदै जान्छ भन्ने होइन । व्यावसायमुखी हुन्छ भन्ने पनि सही लाग्दैन मलाई । किनभने उसले सिरिजमार्फत के कथा भन्दछ, समाजमा कस्तो छाप पारेको छ भन्ने सँगसँगै व्यापारको कुरा आउने हो । किनभने सर्जकको हिसाबले सबैको प्राथमिकता भनेको सिर्जनामै हुन्छ सिरिज गरे पनि नगरे पनि ।

सिक्वेलले सर्जकलाई अल्छी बनाउँछ होइन र ?

त्यो सही कुरा हो । किनभने सिरिज भन्नेबित्तिकै अगाडिको कथा र घटनाक्रमसँग गाँसिएर आउनुपर्छ प्राविधिक रुपमै भनेपछि त्यहाँ हाम्रो दायरा त साँघुरिइहाल्छ । सिरिज बनाउँदै उसले सिर्जनात्मक प्रस्तुति दिन सक्दैन भन्ने कुरा चाहिं हुँदैनजस्तो लाग्छ । निर्माताको रुपमा सिरिजमा व्यवसायको लोभ त हुन्छ । तर दबाब हुँदैन ।

कबड्डी ४’ अन्तिम नै हुनेछ वा अगाडि पनि सिरिज निर्माण गर्ने तयारी छ ?

तपाईंले गम्भीर प्रश्न गर्नुभयो । रिलिज अगाडि गम्भीर प्रश्न छैन । यो फिल्म रिलिजपछि दर्शकले आफै थाहा पाइहाल्नुहुन्छ हामी कतातिर जाँदैछौं भन्ने । चौथो सिक्वेलको अन्तिममा दर्शकले थाहा पाउनुहुनेछ ।

कबड्डी ४’ अघिल्ला फिल्मकै निरन्तरता हो वा यसमा नवीन विशेषता पनि छन् ?

हरेक पात्रले भोग्ने घटना, कथा, समयसँगै परिवर्तन हुँदै जान्छ । समयसँगै कबड्डीमा जो–जो पुराना पात्रहरु थिए मूलपात्र, उनीहरुसँगै घटनाक्रम कसरी जोडिँदै जान्छ भन्ने कुरालाई देखाउँछ । काजीको बिल्कुलै फरक कथा छ भन्ने चाहिं होइन । उदाहरणको लागि सुरुमा हामीले पुरानो बाइकमा तीन जना चढेर गाउँको कच्ची रोड देखायौं ।

काजीकै लाइफस्टाइलको कुरा गर्ने हो भने समयसँगै उसको विकास पनि उमेरसँगै । यसले निजी स्वभावमा केही नरमपन पनि ल्याएको छ । त्यो खालको परिवर्तन सबै चरित्रमा पाइन्छ । कबड्डी ४ सम्म आइपुग्दा कबड्डीको मूल आत्मा काजीको बिहे किन भएन भन्ने कुरा मात्र हो । काजीको बिहेलाई नै मूल विषय मान्दा भयो ।

तपाईंले ‘कबड्डी’ बाहेकको कथावस्तुमा के सोचविचार गर्नुभएको छ ?

कबड्डीबाहेक मधेशको पूर्व र पश्चिमको कथामा काम गर्ने छलफलमा छ । कबड्डी ४ भन्दा अघि पनि अर्कै प्रोजेक्ट पाइपलाइनमा थियो । तर समय दशा बनेर आयो हामी सबैलाई कोरोना महामारीले । बीचको ग्यापमा विदेशी फिल्म पनि डिजिटल प्लेटफर्मबाहेक थिएटरमा प्रदर्शनमा आउने फिल्म ठप्प भए । हल बन्द रहे । ती चीजले दुःखित पनि तुल्यायो । धेरै साथीले डिजिटल प्लेटफर्मको लागि कसरत पनि गरे ।

डिजिटल लगानी र भाषिक हिसाबले हामीलाई तुरुन्तै नेटफ्लिक्स, डिज्नेजस्ता प्लेटफर्ममा विश्वास कमाउन पनि सजिलो थिएन । चुनौती थियो । महामारीको अवस्था सामान्य हुँदै गएपछि दर्शकलाई कसरी तताउन सकिन्छ भन्ने परिस्थिति सोचेर मैले कबड्डी ४ पहिला रोजेको हो । सोचेअनुसार त्यो अहिले मलाई निकै कम्फर्टेबल बनाएको छ । कबड्डीले एउटा वृत्तमा इमेज बनाइसकेकाले पनि हामीलाई यसको बजारीकरणमा सजिलो भएको छ ।

रिलिजअघि नै फिल्मले लगानी सुनिश्चित गरिसकेको छ । टिकटको अग्रिम टिकट बिक्रीमा पनि यसले राम्रो कमाइ गरेको छ । यसले तपाईंहरुलाई कम दबाब भएकै हो ?

सिरिज पनि भएको र दर्शकमा डिमान्ड पनि भएकाले । शुक्रबार र शनिबार दर्शकमा जुन उत्साह देखिएको छ, ती दर्शकको सम्भावित प्रतिक्रियामा हामी बढी फोकस भएका छौं । फिल्म हेरिसकेपछि दर्शकले मनपराउँछन् वा पराउँदैनन् भन्ने कुराले हामीलाई उत्सुक बनाएको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?