
१५ जेठ, काठमाडौं । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान कहाँ छ भन्ने अझै पुष्टि नभएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले विमान रहेको स्थान अझै पत्ता लाग्न नसकेको ट्वीटरमा उल्लेख गरेका छन् ।
सिलवालले स्थानीय वासिन्दाले विमान रहेको भनी आशंका गरेको क्षेत्र मानापाथी हिमालको फेदीमा पुग्न प्रयास गरिरहेको पनि उल्लेख गरेका छन् ।
स्थानीय वासिन्दाले मुस्ताङको मानापाथी हिमालको फेदीमा विमान रहेको भनेपछि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ । तर टोली नपुग्दै आइतबारका लागि खोजी कार्य स्थगित भएको छ ।
सिलवालले ट्विटरमा लेखेका छन्, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १० :०७ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।
*यसअघिको समाचारमा भुलवश उक्त विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि भनी उल्लेख भएकाले क्षमा माग्दै सच्याएका छौं ।
प्रतिक्रिया 4