
काठमाडौं । अभिनेता राजेश हमाल हालसालै अनलाइनखबरसँगको कुराकानीमा भन्दै थिए, ‘बल्ल १६ वर्ष लागेको महसुस हुँदैछ । मेरो लागि उमेर अंक हो ।’ उमेरलाई गणित मान्ने तिनै अभिनेता हमाल बिहीबारदेखि ५८ वर्ष लागेका छन् ।
जीवनको टाइमलाइनलाई फर्किएर हेर्दा हमालको उक्त व्याख्या ठिकै होला किनभने २०२१ सालमा उनी जन्मिए, सन् २०४६ सालमा पहिलो फिल्म ‘युगदेखि युगसम्म’ खेले र २०७१ सालमा प्रेमिका मधुसँग विवाह गरे ।
‘म बल्ल त जीवन बाँच्न सिक्दैछु,’ हमाल भन्छन् ।
झण्डै तीन दशक नेपाली फिल्मलाई काँधमा हालेर स्टारडमको मानक खडा गरेका हमाल आजपर्यन्त नेपाली फिल्मको म्याराथनमा बुर्कुसी मार्दैछन् । ३४ वर्षअघि ‘युगदेखि युगसम्म’बाट उदाएको कपुरधाराको राजु नामक ठिटो समयलाई पछ्याउँदै नेपाली फिल्म क्षेत्रको ‘महानायक’ बनेको छ ।
आजको बिन्दुसम्म हमालले २०७ वटा फिल्ममा अभिनय गरेका छन् । केही फिल्म छायांकनको तयारीमा छन् । राजेश हमाललाई हेर्ने र विश्लेषण गर्ने समीक्षकका आफ्नै कोण छन्, यद्यपि उनले निर्वाह गरेका चरित्रले राजेश हमाललाई व्यक्तिभन्दा स्टारमा रुपान्तरण गरिदिए ।
हमालका विद्रोही पात्र माओवादी जन्माउन जिम्मेवार ?
भुइँमान्छे र राज्यसँग असन्तुष्ट चरित्रले उनलाई महानायक बनाइदियो । कुनैबेलाको एक अन्तर्वार्तामा उनलाई सोधिएको थियो- के माओवादी जन्माउन तपाईंका पात्र जिम्मेवार छन् ? हमालले यो प्रश्नलाई अस्वीकार गरेनन् । असमानता र असन्तुष्टि बोकेका उनी अभिनित पात्रबाट नागरिकले अपनत्व महसुस समेत गरे ।
कमैलाई थाहा छ, हमालको करिअर अभिनयबाट सुरु भएको होइन । दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दा हमालले त्यहाँ आयोजना हुने फेसन शोमा भाग लिएका थिए । मोडलिङमा भाग्य बनाउने ध्येयले उनी त्यहाँ सक्रिय थिए । सन् १९८० को अन्त्यमा दिल्लीस्थित नेपाली दूतावासको महिला संगठनले आयोजना गरेको पेजेन्टमा हमालले भाग लिए ।
जब डेब्युमै कृष्टिसँगको अफेयरको हल्ला चल्यो

यही क्रममा जब मामा दीपक रायमाझीले उनलाई काठमाडौं बोलाए, अनि हमालको जीवनले नयाँ मोड लियो । सन् १९८७ मा रायमाझीले निर्देशन गर्ने फिल्म ‘भाग्यरेखा’को मुख्य कलाकारमा हमाल र करिश्मा मानन्धरलाई कास्ट गरिएको थियो ।
करिश्माले बीचमै प्रोजेक्ट छाडिन् । अनि कृष्टि मैनालीको प्रवेश भयो । कृष्टिको प्रवेशपछि बीचमा चलेका अनेक हल्लापछि कृष्टिले पनि फिल्म छाडिन् । हमालले पनि छाडे । रविन्द्र खड्का र मौमसी मल्ललाई लिएर दीपकले फिल्म छायांकन गरे । यो फिल्म ‘ब्लकबस्टर’ बन्यो ।
त्यतिबेला हमाल र कृष्टिबीचको अफेयरको हल्ला उत्कर्षमा थियो । २०४६ सालमा हमालले मामाकै फिल्म ‘युगदेखि युगसम्म’बाट डेब्यु गरे । २०४८ सालमा तुलसी घिमिरे निर्देशित अर्को ब्लकबस्टर फिल्म ‘देउता’बाट हमालको स्टारडम सुरु भएको मानिन्छ ।
यसरी भयो मधुसँग प्रेम र विवाह
२०६१ सालतिर लक्स ब्युटी पेजेन्टमा विराटनगरकी मधु भट्टराईसँग हमालको पहिलो भेट भयो । राजेश पेजेन्टको जुरीको रुपमा थिए । केही वर्षपछि हमालले मधुलाई प्रेम प्रस्ताव गरे । मधुले प्रेम स्वीकारेपछि २०७१ वैशाख १० गते दुईबीच होटल अन्नपूर्णमा बिहे भयो ।
लक्स ब्युटी पेजेन्टमा मधुलाई देखेपछि आफू प्रभावित भएको हमाल बताउँछन् । हमाललाई देखेपछि आफू नर्भस भएको र सोधेको प्रश्नको जवाफ राम्रोसँग दिन नसकेको मधु बताउँछिन् । त्यसपछि उनीहरुले लामो समय प्रेमलाई गुपचुप राखे । समयक्रममा केही महिलाले हमालसँग विवाह भइसकेको भन्दै दाबी गरेका गसिप पनि चले ।
‘क्रिटिक्स’को आलोचना पनि
बौद्धिक छविका अभिनेता हमालको जति अग्लो स्टारडम छ उति नै उनको भूमिकालाई लिएर समीक्षक असन्तुष्ट पनि छन् । नेपाली फिल्म क्षेत्रमा तीन दशक बिताएर यहाँसम्म ल्याइपुर्याएका हमालले पछिल्लो समय यो क्षेत्रमा उचित योगदान दिन नसकेको भन्दै आलोचना पनि भइरहेको छ ।
क्रिटिक्सको यो आलोचनालाई हमाल अस्वीकार पनि गर्दैनन् । मानिस र उसको सफलता सापेक्षिक हुने भन्दै हमालले पटक-पटक कूटनीतिक उत्तर पनि दिएका छन् ।
पछिल्लो समय हमाल आफूले निर्माण र निर्देशक गर्न लागेको अनटाइटल फिल्मको लेखनमा व्यस्त छन् । कोरोना महामारीअघिदेखि उनले सुरु गरेको फिल्मको प्रि-प्रोडक्सनमा अहिले काम भइरहेको छ । पछिल्लो समय हमालले राजनीतिमा प्रवेशको संकेत पनि दिएका छन् ।
अभिनेता हमाललाई जन्मदिनको शुभकामना ।
प्रतिक्रिया 4