
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले शुक्रबार हुँदैछ । काठमाडौंको धुम्बाराहीस्थित स्टुडियोमा राति ८ बजे हुने फाइनलमा तीन जोडीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा हुँदैछ । विजेताले १५ लाख रुपैयाँ नगद प्राप्त गर्ने जनाइएको छ ।
फिनालेमा रियालिटी शोको आधिकारिक एपबाट छानिएका उत्कृष्ट तीन जनाले समेत प्रस्तुति दिने भएका छन् । जसमा सिर्जन रावल, सरस्वती धिमाल र एलेक्स विश्वकर्मा छन् ।
गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलिब्रिटी जोडीबीच प्रतिस्पर्धा भएको थियो । विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए ।
अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई निर्णायकको रुपमा छन् । द भ्वाइस अफ नेपाल र नेपाल आइडलजस्ता चर्चित शो निर्देशन गरिसकेका लक्ष्मण पौडेलले यसलाई निर्देशन गरेका हुन् । डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4