+
+
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई भन्यो :

‘अब पर्खिन्नौं, तत्काल मन्त्रीको शपथ गराऊ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १८:२४

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले मन्त्री सिफारिस गरेकाहरुलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । पार्टीको निर्णय कार्यान्वयनका लागि भएको ढिलाइलाई आफूहरुको अपमानको रुपमा बुझ्ने समेत चेतावनी दिएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताएका हुन् ।

‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं । तपाईहरुले आन्तरिक तनाव व्यवस्थापन गर्न खोज्दा हाम्रो पार्टीमा खेल्न खोजेको हामीलाई लज्जित गर्न खोजेको जस्तो देखिएको छ’ उनले भने ।

उनले अब मन्त्रीको शपथ ग्रहणमा ढिलाइ नगर्न आग्रह गरिएको पनि बताए । ‘अब ढिलाइ गर्नुभयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला’ नेता खतिवडाले चेतावनीको शैलीमा भने ।

नेकपा एकीकृत समाजवादीले हाल मन्त्रिपरिषदमा रहेका नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर निर्णय भएको २१ दिन भए पनि अहिलेसम्म मन्त्री सिफारिस भएकाहरुले शपथ ग्रहण गर्न नपाएकामा एकीकृत समाजवादीले आपत्ति जनाएको हो ।

प्रचार विभाग प्रमुख खतिवडाले एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीको सूचिमा संशोधन हुँदैन नहुने पनि बताए । केही मन्त्रीहरुले मन्त्रीको सूचि हेरफेर गर्नुपर्ने भनी पार्टीमा माग गरेको चर्चा चलेको थियो । तर खतिवडाले बैठकपछि पत्रकारहरुसँग भने, ‘मन्त्रीको सूचि संशोधन हुँदैन, समय क्रममा नाम थप्नुपर्ला, घटाउनुपर्ला, तर अहिले नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन ।’

उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको पनि बताए । शनिबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पुनः बस्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?