+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीविरुद्ध ज्यानसम्बन्धी कसूरमा जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते २०:२६

१२ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पीडित परिवारले ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको छ ।

प्रहरी वृत्त, बालाजुमा परिवारले सुनारको हत्या भएको दाबीसहित उनका प्रेमी सूर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको हो । परिवारको जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान थालिएको बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले अनलाइनखबरलाई बताए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

सुरुमा घटनाबारे अनविज्ञता प्रकट गरेका श्रेष्ठलाई अनुसन्धान अधिकृतले प्राविधिक पक्षको विश्लेषणसहित उनी त्यहाँ रहेको बताएपछि उनले राति सोही कोठामा बसेको स्वीकारेका थिए ।

‘बिहान उठ्दा झुण्डिरहेको देखेपछि आत्तिएर भागेको थिएँ’ उनले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘हतार हतार सल निकालेँ, तर सास थिएन ।’ त्यसपछि डराएर सल लिएर आफू कोठाबाट भागेको उनले बताएका छन् ।

उनले बताएअनुसारकै स्थानबाट प्रहरीले सल बरामद गरेको छ । सललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । शव भने पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

गायिका सुनारको फेसबुकमा शनिबार बिहान ‘कसैको माया पाउन जति कोशिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो ।

स्ट्याटसमा ‘आफ्नो इच्छाले यो कदम उचालेको’ भन्दै कसैलाई दोष नभएको भनिएको थियो । ‘कसैले खोजीनिधि पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ स्ट्याटसमा भनिएको छ । पीडित पक्षले यो स्ट्याटसमा पनि शंका गरेको छ । डीएसपी मिश्र चाहिँ स्ट्याटसबारे पनि छानबिन भइरहेको बताउँछन् ।

प्रहरीका अनुसार सुनारको मोबाइल आइतबार अपरान्हसम्म बरामद नहुनुले पनि शंका बढाएको छ । ‘कोठामा सबैतिर सर्च गरिसक्यौं, मोबाइल भेटिएको छैन’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘श्रेष्ठले सल मात्र लगेको भनेका छन् ।’

सुनारको शवमा घाँटीमा बाहेक अन्यत्र ‘मार्क’ देखिएको छैन । श्रेष्ठले पनि घटनास्थलमा आफ्नो उपस्थिति स्वीकारे पनि उनले आत्महत्या गरेको दाबी गरेका छन् । त्यसैले प्रहरीले पोष्टमार्टम रिपोर्ट कुरिरहेको छ । डीएसपी मिश्र भन्छन्, ‘अहिले ज्यानसम्बन्धी कसूरमा जाहेरी आएको छ, भोलि अनुसन्धानबाट देखिएअनुसार प्रहरी प्रतिवेदन बनाएर मुद्दा अघि लैजान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?