
२० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् ।
सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलन गर्न नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रका सबै सूचकमा दबाव रहेको उल्लेख गरे । उनले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वभरका अर्थशास्त्रीले ल्याएका सिद्धान्त यसै वर्ष प्रयोगमा आउने अवस्था रहेको भन्दै ठट्टा समेत गरे । राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेको भन्दै उनले त्यो सम्भव नभए साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताए ।
उद्योग व्यवसायमा लाग्नेहरुले दबाव र सहज दुवै महसुस गरेको भन्दै उनले बचत कमजोर र फजुल खर्च बढिरहेको उल्लेख गरे । उनले व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको भन्दै यसले मुलुकलाई आयातमुखी अर्थतन्त्रतर्फ धकेलेको उल्लेख गरे । त्यसको असरले अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै ठूलो दबाव बढेको उनको भनाइ छ ।
‘अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भयो,’ उनले भने, ‘पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको हो ।’
बैंकको व्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीले सहनुपर्ने उनको भनाइ छ । सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । मौद्रिक नीति ‘सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस्’ भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4