+
+

२१ वर्षीय अध्यक्षलाई उपाध्यक्षको असहयोग, गाउँ सभा बस्नै सकेन

गाउँ सभा छोडेर उपाध्यक्ष वीरगञ्जमा

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार २५ गते १६:००

२५ असार, वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा पर्साका कालिकामाई गाउँपालिका निकै चर्चामा थियो । किनकि पालिकामा २१ वर्षीय युवक बशिष्ट कुमार पालिका प्रमुखमा निर्वाचित भएका थिए ।

नयाँ जोश र नवीन सोचले पालिकाको विकास हुने अपेक्षा नागरिकले राखेका थिए । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको द्वन्द्वले गर्दा गाउँ सभासमेत हुन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा असार १० गतेभित्र सभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । १५ दिन भित्र कार्यतालिका बनाई छलफलको काम सम्पन्न गर्नुपर्छ । असार मसान्तभित्रमा पारित गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

कालिकामाई गाउँपालिकाले भने अहिलेसम्म बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । २४ असार शुक्रबार राखिएको गाउँसभा पनि गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।

कालिकामा २९ जना गाउँ सभा सदस्य रहेकोमा १४ जना मात्रै उपस्थित भएपछि गणपुरक संख्या नपुगेको हो ।

गाउँ सभामा आर्थिक विधेयक, विनियोजन विधेयक, नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यतालिका थियो । दिउँसो २ बजेदेखि सुरु हुने भनिएको गाउँ सभा गणपुरक संख्या नपुगेछि अपराह्न ४ बजे स्थगित गरिएको थियो ।

गणपुरक संख्या नपुगेपछि अध्यक्षले गाउँसभा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए ।

‘नीति, कार्यक्रम, बजेट ल्याउने काम जनप्रतिनीधिहरूको हो, हामीले समन्वय मात्रै गर्ने हो’ उनले भने, ‘ शुक्रबारको गाउँसभा गणपुरक संख्या नपुगेर स्थगित भएको छ, अब अर्को बैठक अध्यक्षले कहिले डाक्नुहुन्छ थाहा छैन ।’

कांग्रेस र एमालेको तर्फबाट निर्वाचित १५ जना गाउँसभा सदस्य बैठकमा अनुपस्थित भएका कारण गणपुरक संख्या पुग्न नसकेको पालिकाले जनाएको छ ।

गाउँसभा बैठक छोडेर उपाध्यक्ष वीरगञ्जमा

पालिकामा उपाध्यक्षको नेतृत्वमा राजश्व परामर्श समिति रहन्छ । समितिको बैठक एक पटक पनि बस्न सकेको छैन । जबकि राजश्व परामर्श समितिले पालिकाले आफ्नो कार्य क्षेत्रभित्र परिचालन गर्न सक्ने राजश्वको स्रोत, दायरा र दर समेतको विश्लेषण गरेर आगामी आर्थिक वर्षमा हुन सक्ने राजश्वको अनुमान पुस १५ गतेभित्रै कार्यपालिकामा पेस गरिसक्नुपर्ने हुन्छ ।

कालिकामाईमा राजश्व परामर्श समितिको काम नै अघि बढेको छैन । उपाध्यक्ष राजमती बरैनीले बुधबार नै राजश्व परामर्श समितिको बैठक डाकेकी थिइन् । तर उनी राजश्व परामर्श समितिको बैठक स्थगित गरेर वीरगञ्जमा पत्रकार सम्मेलनमा देखा परिन् ।

पत्रकार सम्मेलनमा उनीसहितको १५ जनाको टोलीले नगर सभा बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

पत्रकार सम्मेलनमा वडा नं २ का वडा अध्यक्ष सोनालालप्रसाद चौरसिया र वडा नं ४ का वडा अध्यक्ष सञ्जयकुमार साहसहित १५ जना कार्यपालिका सदस्यहरू उपस्थिति भएका थिए ।

शुक्रबार पनि उपाध्यक्षसहित असन्तुष्ट पक्ष गाउँ सभामा नगई वीरगञ्जमा बसेका छन् । वीरगञ्जको एक होटलमा बसेर उनीहरूले गाउँ सभा असफल पार्ने योजना बनाएका थिए ।

१५ जना सदस्यले गाउँ सभा बहिस्कार गर्ने निर्णयसमेत गरेका थिए । उनीहरूले २४ गते राखिएको गाउँ सभामा वडाको विकास बजेट कटौती गरी ठूला आकारको चालु बजेट राखिएको आरोप लगाएका छन् ।

उनीहरुले स्वास्थ्य, शिक्षा, पूर्वाधार नभई खरिद, इन्धन र कर्मचारी भर्नामा मात्र ९ करोड राखिएकोले त्यसको विरोध गरेको बताउँछन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष बरैनीले आफूसँग सरसल्लाह नगरी अध्यक्ष एकलौटी ढंगले चलेको आरोप लगाइन् ।

वडा नं २ का वडा अध्यक्ष चौरसियाले आफूहरू गाउँ सभामानगई वीरगञ्जको होटलमा बसेको स्वीकार गरे । ‘ छलफलका लागि १० मिनेट भेला भएका थियौं,’ उनले भने ।

असन्तुष्ट वडा अध्यक्षको आँखा बजेटमा

कालिकामाई गाउँपलिकामा ५ वटा वडा छ । जसमध्ये ३ वटामा जनता समाजवादी पार्टी र कांग्रेस एमालेले एक/एक वटामा जितेका छन् ।

वडा नं २ का वडा अध्यक्ष सोनालाल चौरसियाले विकास बजेटका सन्दर्भमा कुरा नमिलेकोले गाउँ सभामा नगएको बताए ।

पालिकाले वडालाई ३० लाखको मात्रै सिलिङ दिएको छ । पाँच जना वडा अध्यक्षमध्ये कांग्रेस र एमालेबाट निर्वाचित दुई जना वडा अध्यक्षले यसमा असन्तुष्टि जनाएका छन् ।

उनीहरूले विगतमा जस्तै एक करोड ३० लाखको हाराहारीमा बजेट आफूहरूलाई चाहिने अडान राखेका छन् ।

वडा नं ४ का अध्यक्ष सञ्जय साह वडामा ३० लाख रुपैयाँले केहि नहुने बताउँछन् । ‘ सडक, नाला, अस्पतालभवन, विद्यालयमा डेस्क बेञ्च चाहिन्छ, ३० लाख रुपैयाँले के हुन्छ ?’ उनले भने ।

बजेटमा भागवण्डा खोज्छन् : अध्यक्ष बशिष्ट

गाउँपालिकाअध्यक्ष बशिष्ट कुमारले भने आफू नियमअनुसार नै अघि बढेको बताएका छन् । उपाध्यक्षले राजश्व परामर्श समितिको बैठकसमेत नराखेर असहयोग गरेको उनले बताए ।

‘ पालिकाको विकास गर्ने हो, तपाईंसँग योजना छ भने ल्याउनुस, बसेर छलफल गरौं भन्दा पहिला बजेट भागवण्डा गर्नुस, अनिमात्रै बैठक बस्ने भन्नुहुन्छ’ उनले भने, ‘बैठक नबसेर भाग्ने हैन नी, आएर छलफल गरे निष्कर्षमा पुग्न सकिन्छ । ‘

पहिलो वर्ष शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा पहिला काम गर्ने, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयमा सुधारमा लगानी गर्ने र अर्को वर्षदेखि सडक, नालालगायतको काम गर्ने योजना रहेको उनले सुनाए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?