
३१ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको चरम लापरबाहीका कारण दुर्गम भेगको उडानमा वायुसेवा कम्पनीहरुले मनपरी गर्ने गरेको खुलेको छ । दुर्गमका यात्रुसँग वायुसेवा कम्पनीहरुले दोब्बर भाडा असुल्न चार्टर्ड उडानमा बाध्य पार्ने गरेको पाइएको छ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार नेपालगञ्ज विमानस्थलबाट एक वर्षको अवधिमा ३ हजार ४६२ वटा चार्टर्ड उडान हुँदा नियमित उडान ३१२ वटा मात्रै भएका छन् । यो तथ्यांकले नियमित भन्दा चार्टर्ड उडान ११ गुणा बढी भएको पाइएको छ । सामान्यतया चार्टर्ड उडानमा भाडा दोब्बरसम्म महँगो हुन्छ ।
मन्त्रिपरिषद्को २७ मंसिर २०७३ को बैठकले दुर्गम क्षेत्रका विमानस्थलहरुमा नियमित उडान नगर्ने र चार्टर्ड उडान मात्र हुँदा सेवाग्राहीले महँगो भाडा तिर्नु परेको भन्दै यी विमानस्थलहरुमा कम्तिमा ३० प्रतिशत नियमित उडानको अवस्था सुनिश्चित गर्ने निर्णय गरेको थियो ।
तर, प्राधिकरणले मन्त्रिपरिषद्को सो नियम अनुसार नियमन गर्न नसकेको पाइएको छ । प्रतिवेदनअनुसार निजी कम्पनीहरुले अहिले पनि नियमित भन्दा चार्टर्ड उडानलाई प्राथमिकता दिने गरेका छन् । यसले दुर्गम भेगका यात्रुले चर्को भाडा तिर्न बाध्य भएका हुन् ।
प्रतिक्रिया 4