३१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा चाइनिज कम्पनी लिनिङको ब्रान्ड एम्बेस्डर बनेकी छिन् ।
खेलकुद सामग्री उत्पादन कम्पनी लिनिङले एन्जिलालाई दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो ।
चाइनिज कम्पनी लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनीका प्रमुख कार्यकारी राजेन महर्जनका बिच शुक्रबार एक कार्यक्रम गर्दै सम्झौतामा हस्ताक्षर गरिएको हो । एन्जिलाले उनको जीवनीमा आधारित रहेर बन्न लागेको चलचित्र ‘अन्जिला’ मा लिनिङको ब्रान्ड प्रयोग गर्ने छिन् ।
ब्रान्ड एम्बेस्डर भएकी उनको नाम ‘एन्जिला तुम्बापो सुब्बा १८’को ब्रान्ड कम्पनीले उत्पादन गर्नेछ । उक्त सामान बिक्रीबाट आएको कुल आम्दानीको १० प्रतिशत रकम मध्ये ५ प्रतिशत रकम एन्जिलाले पाउने छिन्, भने बाँकी ५ प्रतिशत आर्थिक स्थिति कमजोर भएका नेपाली महिला फुटबलले सहयोगका रुपमा पाउने गरि सम्झौता भएको छ ।
नेपालका लागि पहिलो पटक खेलाडीको रुपमा ब्रान्ड एम्बेस्डर नियुक्त भएकी एन्जिलालाई यस कार्यले खेलमा लागिरहन थप उर्जा थपेको उनले बताएकी छिन् । ‘म पहिलो पटक यसरी ब्रान्ड एम्बेस्टरको रुपमा आवद्ध भएँ । यस्ता सम्झौताहरु अन्य खेलाडीले पनि गर्न पाए भने राम्रो हुन्छ ।
यसले मेरो खेलमा थप उर्जा थप्ने काम गरेको छ’, उनले भनिन् । यस्ता कार्यक्रमहरुले खेलाडीलाई खेलमा लागि रहन महत्वपूर्ण भूमिका खेल्ने एन्जिालाले बताइन् ।
प्रतिक्रिया 4